विदेशमा कार्यरत बाणिज्यदूतहरुको बढुवा, नियुक्ति, म्याद थप र बर्खास्तको निर्णय
काठमाडौं। नेपाल सरकारले विदेशी मुलुक र विदेशका महत्वपूर्ण शहरहरुका लागि तोकिएका अवैतनिक वाणिज्यदूत मध्ये दुई जनाको पदोन्नति र एक नयाँ नियुक्ति गरेको छ भने एकजनालाई पदमुक्त गरेको छ। त्यसैगरी चार वर्षे पदावधि सकिएका सात जना बाणिज्यदूतको पदावधि अरु चार वर्षका लागि थप गर्ने निर्णय गरेको छ।
गत सोमबार बसेको मन्त्रिपरिषद्को बैठकमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको प्रस्तावमा अवैतनिक वाणिज्यदूतबाट अवैतनिक महाबाणिज्यदूत पदोन्नति हुनेहरुमा पोर्चुगलको लिस्वन सहरमा कार्यरत मकरवहादुर हमाल र मोनाकोमा कार्यरत अलेक्जेण्डर मोधादम छन्।
त्यसैगरी सरकारले जापानको फुकुओका सहरका लागि युइचिरो किमोतोलाई नयां अवैतनिक बाणिज्यदूत नियुक्त गर्ने निर्णय गरेको छ। पदबाट हटाइएका अवैतनिक वाणिज्यदूत गणतन्त्र कोरियाको दायुग क्षेत्रमा कार्यरत थिए। डा.सङ्–डो युन नाम गरेका ती अवैतनिक वाणिज्यदूतलाई सोमबारदेखि नै पदमुक्त हुने गरी मन्त्रिपरिषद्ले निर्णय गरेको छ।
मन्त्रिपरिषद्को निर्णयअनुुसार, चारबर्षे पदावधि थप हुने अवैतनिक वाणिज्यदूतहरुमा फ्रन्सको रुवां सहरमा कार्यरत डा.डिडिएख बेनारण्ड, अष्ट्रेलियाको न्यू साउथ वेल्समा कार्यरत दीपककुमार खड्का,क्यानडाको मन्ट्रिअल सहरमा कार्यरत वर्नार्ड भोयर, क्यानडाकै अल्वर्टा प्रान्तको क्यालगरीमा कार्यरत स्टेफन थोमस हेस, क्यानडाको भिक्टोरिया प्रान्तको ब्रिटिश कोलम्बिया सहरमा कार्यरत क्रिष्टोफर एम कोन्सिडिन, क्यानडाकै ओन्टोरियोमा कार्यरत कुन्जरमणि शर्मा र जापानको ओशाकामा कार्यरत कुनियो इमानासी छन्।
Facebook Comment