वर्षौदेखि जोखिममा बगरफाँटः शिरानमा पहिरो, पुछारमा नदीकटान

गलेश्वर । म्याग्दीको सदरमुकाम बेनीबजारसँगै जोडिएको बेनी नगरपालिका–२ मा पर्ने बगरफाँट गाउँका बासिन्दा वर्षौदेखि जोखिम मोलेर बस्न बाध्य छन् ।
उर्वर फाँट, प्रशस्त पानीको स्रोत, प्राकृतिक सुन्दरता र भौगोलिक सुगमता हुँदाहुँदै पनि बगरफाँट गाउँ बत्तिमुनिको अँध्यारो जस्तै बनेको छ । राजनीतिक र प्रशासनिक पहुँच भएका व्यक्तिहरुको बसोबास भएको बगरफाँट गाउँ भौगोलिक विषमताका कारण जोखिममा परेको छ भने मानवीय उदासीनताका कारण विकासका पूर्वाधारहरुबाट पनि टाढा रहेको छ ।
गाउँको शिरानमा रहेको तोराखेतको पहिरोले हरेक वर्ष वर्षायाममा गाउँलेलाई त्रसित बनाउने गरेको छ भने पु्छारमा बग्ने म्याग्दी नदीको कटानका कारण गाउँ नै जोखिममा परेको छ । त्यसैगरी हाँडेभीर, बगरफाँट, सुर्केमेला, बरंजा सडकको अवस्था पनि अत्यन्त दयनीय छ । कालोपत्रेको कुरा त धेरै परको भयो वर्षायाममा सामान्य मर्मतसमेत नगरिँदा यातायातका साधन र पैदलयात्रीहरुलाई सास्ती भएको छ । हाँडेभीरदेखि दुधेखोलासम्मको खण्डमा रहेका सात वटा खोल्सामा पानीको निकासलाई व्यवस्थित गर्न नसक्दा सडकमा नै खोला बग्ने गरेको छ ।
बगरफाँट गाउँको शिरानमा पानीका झरना, वन जङ्गल र पानीका प्रशस्तै स्रोतहरु भए पनि खानेपानीको समस्याले गाउँलेहरुलाई बेलाबेलामा सताउने गरेको स्थानीय बासिन्दा बताउँछन् । प्रशस्त सम्भावनाहरु रहेको, सदरमुकामदेखि नजिकैको गाउँ भएर पनि बगरफाँटमा विकास निर्माण हुन नसक्नुको पछाडि गाउँको पुछारमा रहेको म्याग्दी नदी र गाउँको शिरानमा रहेको विशाल पहरो अनि त्यसमाथिको तोराखेतको पहिरो मुख्य कारण रहेको स्थानीयवासीको भनाइ छ ।
तोराखेतको पहिरोका कारण गाउँ उच्च जोखिममा परेको छ । पहिरो त्यति ठूलो नदेखिए पनि यसले पु¥याउनसक्ने सम्भावित क्षति ठूलो हुनसक्ने अड्कल गरिएको छ । तर, पहिरो नियन्त्रण वा व्यवस्थापनमा भने कुनै पहल हुनसकेको छैन ।
Facebook Comment