श्रीमानको हत्यारा पक्राउ गरिदिन भन्दै १३ वर्षसम्म जिप्रका धाएकी चन्द्रिका, अभियुक्त पक्राउपछि खुशी
काठमाडौं। चोरिएको साइकल फिर्ता माग्न जाँदा कुटपीट गरी हत्या गर्ने एक अभियुक्त १३ बर्षपछि झापा प्रहरीको फन्दामा परेका छन्। झापाको टाघनडुब्बाका नत्थु विश्वकर्माको साइकल चोरी गरी लैजाने बौदल लाम्गादे प्रहरीको फन्दामा परेका हुन्। आफ्नो चोरिएको साइकल लिन जाँदा नत्थुलाई कुटपीट गरी हत्या गरेको अभियोगमा फरार भएका थिए। प्रहरीको खोजी सूचीमा रहेका मेचीनगर ८ का बौदल लाम्गादेलाई प्रहरीले काँकडभिट्टाबाट पक्राउ गरी विहीबार सार्वजनिक गरेको छ।
प्रहरीका अनुसार २०६३ साल चैत २४ गते झापाको टाघनडुब्बाका नत्थु विश्वकर्मामाथि कुटपिट भएको थियो। चोरिएको साइकल फिर्ताका लागि जाँदा कुटाई खाएर फर्किएका नत्थुको भोलिपल्ट नोवेल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएपछि उनी फरार भएका थिए।
मृतकका ससुरा रामबहादुर विकले घटना लगत्तै लाम्गादेविरुद्ध प्रहरीमा किटानी जाहेरी दिए। तर, प्रहरीले उनलाई फेला पार्न सकेको थिएन। मृतक नत्थुकी श्रीमती चन्द्रिका न्यायका लागि पटक–पटक प्रहरीमा पुगेकि थिइन्। झापामा अहिलेका आइजीपी शैलेश थापाले पनि अभियुक्तको खोजी गरेका थिए। तर पत्ता लगाउन सकेका थिएनन् । नत्थुकी श्रीमतीले नयाँ प्रहरी प्रमुख आएसँगै न्याय माग्न भने छाडेकी थिइनन्। जहिले प्रहरी कार्यालयमा पुगेर आफ्ना श्रीमानको हत्यारा खोजिदिनु पर्यो भन्दै आएपनि १३ बर्षसम्म पत्ता लाग्न सकेको थिएन।
प्रहरीकै खोजी सूचीमा रहेका लाम्गादेलाई काकडभिट्टामा घुमिरहेको सूचना पायो। प्रहरीले पीडित परिवारलाई पनि खबर दियो। अनि सहयोगका लागि अपील पनि गर्यो। न्यायको पर्खाइमा १३ वर्ष बिताएको विक परिवार असार ३० गते काँकडभिट्टा प्रहरीले लाम्गादेलाई इँटाभट्टाबाट पक्राउ गरेपछि भने खुशी भयो । ‘ लामो समयदेखि प्रहरीको खोजी सूचीमा रहेका थिए उनको खोजी गरिरहेका थियौ अहिले उहाँलाई हामीले पक्राउ गरेका छौ अब कानुनी कारवाहीको बाटो अबलम्बन हुन्छ’, जिल्ला प्रहरी झापाका प्रमुख एसपी कृष्ण कोइरालले भने।
उनका अनुसार आफू बौदल लाम्गादे नभएको र आफ्नो नाम पून्यप्रसाद विश्वकर्मा रहेको भन्दै अभियुक्तले हत्यामा आफ्नो संलग्नता अस्वीकार गरेका थिए। ‘‘तर, प्रहरीले आवश्यक सबै प्रमाण जुटाएर उनलाई पक्राउ गरेको छ उनले जतिसकै झुट बोलेपनि कानुनी दायराबाट बाहिर जाने अवस्था छैन’, प्रहरीका प्रमुख एसपी कृष्णप्रसा कोइराला भने।
पक्राउ परेका लाम्गादेलाई सात दिनको समय लिएर थप अनुसन्धान अघि बढाइएको छ । ‘आफू होइन भनेर अभियुक्तले ढाट्ने छल्ने प्रयास पनि गरेका छन्’, एसपी कोइरालाले भने, ‘तर सबैतिरबाट उनको संलग्नता पुष्टि भएपछि पक्राउ गरेर कार्वाही प्रक्रिया अघि बढाएका छौँ।’ एसपी कोइरालाले ढिलो चाँडो मात्रै हो, अभियुक्त कुनै हालतमा कानुनी दायरबाट उक्किन नसक्ने बताए ।
Facebook Comment