कोरोना प्रभावित उद्योगलाई ५ प्रतिशत व्याजमा ऋण

डिसी नेपाल
२ साउन २०७७ १७:२९

काठमाडौं। सरकारले कोरोना प्रभावित उद्योगलाई पुनरुत्थान गर्नका लागि ५ प्रतिशत व्याजदरमै ऋण दिने भएको छ । शुक्रबार चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले कोरोना प्रभावित उद्योगलाई ५ प्रतिशत व्याजमा ऋण उपलब्ध गराइने घोषणा गरे ।

पर्यटन र घरेलु, साना तथा मझौला उद्यम लगायतका व्यवसायको सञ्चालन एवंम् निरन्तरता, ति क्षेत्रका श्रमिक तथा कर्मचारीको पारिश्रमिक भुक्तानी र अति प्रभावित क्षेत्रका रोजगारी गुम्नेहरुलाई उद्यमशिलता विकासको अवसर दिन बैंक तथा वित्तीय संस्थाहरुबाट यो कर्जा उपलब्ध गराइने मौद्रिक नीतिमा उल्लेख छ ।

सरकारले चालु आर्थिक वर्षको बजेटमा कोरोना प्रभावित उद्योगलाई सहूलियत कर्जा दिन ५० अर्बको कोष स्थापना गर्ने घोषणा गरेको थियो । यहि कोषमार्फत सहूलियत कर्जा प्रदान गर्न लागिएको हो ।

यसैगरी कोभिड–१९ बाट अति प्रभावित उद्योग–व्यवसाय सुचारु गर्न सहजीकरण गर्ने उद्देश्यले ऋणीको आवश्यकता र व्यवसायको सम्भाव्यताको आधारमा २०७६ चैतमा कायम भएको चालु पुँजी कर्जाको सीमामा बढीमा २० प्रतिशतसम्म सम्बन्धित बैंक तथा वित्तीय संस्थाले थप कर्जा प्रवाह गर्न सक्ने व्यवस्था मिलाइने समेत मौद्रिक नीतिमा उल्लेख छ ।

मौद्रिक नीतिमा कोभिड–१९ को नियन्त्रण र रोकथामका लागि गरिएको लकडाउनका कारण सबै पेशा, उद्योग र व्यवसायले लिएको ऋणको साँवा र ब्याज भुक्तानी गर्न नसक्नेका लागि भुक्तानी अवधिको म्याद थप र कर्जाको पुनरसंरचना तथा पुनरतालिकीकरणको व्यवस्था गरिने घोषणा गरेको छ ।

व्यवसायलाई कोरोनाबाट कम, मध्यम र अति प्रभावितमा वर्गिकरण गरी सोही आधारमा कर्जाको पुनरतालिकीकरणको व्यवस्था गर्न सकिने उल्लेख गरिएको छ ।

अल्पकालिन कर्जा पुस मसान्तसम्म भुक्तानी गर्न सक्ने गरी नविकरण गर्न सक्ने व्यवस्था गरिएको छ । कोभिडबाट कम प्रभावित व्यवसायले भने असारसम्मको सावाको किस्ता २०७७ पुस मसान्तसम्ममा बुझाउन सक्नेछन् ।

यस्तै मध्यम प्रभावित २०७७ असार सावा चैत मसान्तसम्म र कोभिड अति प्रभावित व्यवसाय भुक्तानी सावा भुक्तानी २०७८ भुक्तानी गर्न सकिने व्यवस्था गरिएको छ ।

पुर्नस्थापना हुन समय लाग्ने पर्यटन क्षेत्रलाई थप सहुलियत दिन सक्ने व्यवस्था मौद्रिक नीतिमा गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *