सुनसरीमा शुक्रबार राति पनि गोली चल्यो, २ जना घाइते

डिसी नेपाल
३ साउन २०७७ ११:००

विराटनगर । शुक्रबार राति सुनसरीको सीमावर्ती क्षेत्रमा गोली चलेको छ। गोली लागेर १ जना गम्भिर घाइते भएका छन्।

सुनसरीको हरिनगर गाउँपालिका ७ मा रहेको सशस्त्र प्रहरी बोर्डर आउट पोष्ट (बिओपी)का प्रहरीले चलाएको गोली लागेर एक युवा गम्भिर घाइते भएको प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेलले जानकारी दिए।

तस्करहरुले प्रहरीमाथि ढुङ्गामुडा गरेको र हतियार खोस्न लाग्दा प्रहरीले प्रतिरक्षाका लागि गोली चलाएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए।

उनले भने, ‘गोलि चलेको साँचो हो। तस्करहरुले प्रहरीलाई ढुङ्गमुडा गरे र हतियार खोस्न आएपछि गोलि चलेको हो।’ गाउँलेहरु सबै एक भएर प्रहरी माथि जाइलागेको उनको भनाई छ। उनले भने, ‘गाउँलेहरु पनि तस्करसँग मिलेर प्रहरीमाथि जाइलाग्दा गोली चलेको हो।

उनका अनुसार गोली लागेर १ जना प्रहरी जवान पनि घाइते भएका छन्। घाइते दुवै जनाका बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ।

उनका अनुसार शुक्रबार राति भारतबाट आउँदै गरेको समूहलाई सशस्त्र प्रहरीले सोधपुछ गर्दा बाँस र ढुंगाले आक्रमण भएको थियो । सीमा सुरक्षामा खटिएका प्रहरी जवान जीवराम विशंखेमाथि तस्करको समूहले आक्रमण गर्दै हतियार खोस्न खोजेपछि गोली चलेको उनको भनाई छ।

यसअघि, विहीबार राति पनि सुनसरीमा गोलि चलेको थियो। प्रमुख जिल्ला अधिकारी पोखरेलले हतियार तस्करहरु भएको हुनसक्ने बताए। उनले भने, ‘उनीहरु हतियार तस्करहरु भएको हुनसक्ने अनुमान गरिएको छ। छानबिन हुँदै छ। उनीहरुबाट गोली, र हतियार बरामद गरिएको छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *