किन कसैका भएनन् ‘महान आचार्य’ रावण ?
भानु जयन्तीको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्मस्थलको बारेमा दिएको अभिव्यक्तिले एकातिर बजार गर्माइरहेको छ भने अर्कोतिर भारतमा रहेका नेपालीहरुमाथि त्यहाँका केही हिन्दू अतिवादीहरुले आक्रमण गरेका खबरहरु पनि बाहिर आइरहेका छन् । तर मैले यो मेरो लेखमा राम वा रामको जन्मस्थानको बिषयमा भन्दा पनि रामायणमा रहेको अर्को छुट्टै तर सशक्त पात्र रावण पात्र भित्रको मनोविज्ञानको अन्तरद्वन्द्व एवम् प्रवृत्तिलाई खोतल्ने प्रयास गरेको छु ।
दश शिर, बीस हात, इच्छा अनुसार आफ्नो स्वरुप परिवर्तन गर्न सक्ने को थिए ? आफूलाई त्रेतायुगको पूर्ण जानकारी भएजस्तो गरी म यो प्रश्न तेह्र बर्षको छोरोलाई तेस्र्याउँछु । ऊ पनि के कम ‘राक्षसहरुको राजा लंकापति रावण’ बुबा । यो प्रश्नको उत्तर नजान्ने शायदै हाम्रो समाजमा कोही होलान् । मेरो दिमागमा पनि राक्षसहरुको राजा भन्ना साथ, तिनीहरु निर्दयी, कुरुप, ठूलो आकारका, बर्बर, असभ्य, निच, दुराचारी, पटमूर्ख, नरभक्षी, असामाजिक, जनकल्याण विरोधि भन्ने नै थियो । अर्कोतर्फ ब्राह्मण शब्द आफैंमा पवित्र लाग्छ, जसले ब्राह्मण (अन्तिम सत्य, ईश्वर या परम ज्ञान) लाई राम्ररी जानेको हुन्छ अर्थात् ‘ईश्वरको ज्ञाता’ हो, जो नरम स्वभावको हुन्छ, जसको मुख्य ज्ञानको श्रोत वेद हो, जसले समय अनुसार आफूलाई बदल्न सक्छ, समाजको मार्गदर्शक वा प्रतिबिम्ब हो, जसको मनमा करुणा भरिएको हुन्छ त्यही नै ब्राह्मण हो । ब्राह्मण कुनै एक जाति बिशेष नभई एक वर्ण हो।
माघ महिनाको एक साँझ अचानक मेरो आँखा घरमा चलिरहेको टिभीमा मोडिन्छ । त्यहाँ श्रीमतीले हेरिरहेको रामायणको श्रृंखलामा जोडिन पुग्छ। कथा खण्ड खण्डमा बर्णन गरिँदै थियो। मैले सुरु गर्दा रामायणको सानो खण्ड सुरु हुँदै थियो । राम, लक्ष्मण र ठूलो वानर सेना एउटा समुन्द्रको तटमा पुग्छन्, अचानक त्यो ठाँउमा रामलाई शिवलिंगको प्रतिस्थापन गर्न मन लाग्छ । शायद रावणको शक्तिको अनुमान लगाई, भगवान शिवसँग रावण माथि बिजय प्राप्त होस र सीतालाई सकुशल उद्धार गर्न सकियोस भनी प्रार्थना गर्ने मन हुन्छ । तर शिवलिंग प्रतिस्थापन गर्न त्यहाँ एउटा योग्य पुरोहितको आवश्यकता पर्छ। मन्थन चल्दै गर्दा विभिषणले त्यस क्षेत्रको योग्य पुरोहित अर्थात् महान आचार्य रावण मात्र भएको र उनैले मात्र त्यो प्रतिस्थापन सफल गराउन सक्ने कुरा भगवान राम समक्ष प्रस्तुत गर्छन्। मेरो मनमा कौतुहलता बढ्न थाल्छ ‘रावण अनि महान आचार्य’ अर्थात् ‘महान ब्राह्मण’ पनि !
मेरो मनले एउटा प्रश्नको उत्तर मात्र खोजिरहेको हुन्छ ‘रावण र आचार्यको सम्बन्ध’ । कथा अगाडि बढ्न थाल्छ ‘एक समयमा पाताल लोकका दानवहरुले सारा जगतलाई नै दुःख दिइरहेका हुन्छन् । यो देखेर भगवान विष्णुले सबै दैत्यहरुको संहार गर्न सुरु गर्छन् । असुरहरुलाई बिष्णुबाट आफ्नो अस्तित्व जोगाउन नै कठिन हुन थाल्छ। पाताल लोकका दैत्य राजा सुमालीलाई चिन्ताले सताउन थाल्छ। उनले भगवान बिष्णुसँग बदला लिने मनसाय बनाउँछन् तर उनको चाहना पूरा गर्न आफूसँग निहीत दानवीय शक्तिले मात्र विजय सम्भव छैन भन्ने कुरा उनलाई थाहा हुन्छ। यसको लागि उनले दानवीय शक्ति र ऋषिहरुको तपोबल सम्मिश्रण गरेमा बिष्णु पराजित हुनेछन् भन्ने उद्देश्यका साथ आफ्नी बहिनी कैकसीलाई विश्वासमा लिई सप्तऋषि मध्येका एक ऋषि पुलस्त्यका पुत्र महान ऋषि विश्वश्रवासँग उनको विवाह गरी दिन्छन्।
दैत्य वंशकी कैकसी र ब्राह्मण वंशका ऋषि विश्वश्रवाका तीन छोराहरु र एक छोरी हुन्छन्। जसमध्ये जेठा छोराको नाम दसग्रीब हुन्छ। ऋषि विश्वश्रवाले नै सानैबाट आफ्नो छोरा दसग्रीबलाई धर्म अनि पंण्डित्यको ज्ञान दिन्थे तर जबजब उनको उमेर बढ्दै गयो आफ्नी आमाले नै उनलाई गलत बाटोमा डोर्याउने काम गर्न थालिन् किनकि आमा कैकसीको उद्देश्य नै आफ्नो छोराको माध्यमबाट शक्तिशाली दैत्य शासन स्थापित गर्नु थियो। जसका लागि उनले ऋषि विश्वश्रवासंग विवाह गरेकी थिइन् । समयसँगै रावणको आचरणमा पनि परिवर्तन हुन थाल्यो। उनीमा उग्रपन, घमण्डीपन, समाज बिरोधी धारणा, हत्याहिंसामा रमाउने र सबै मानवहरु माथि आफ्नो प्रभुत्व होस् भन्ने सोच विकसित हुन थाल्यो । जसको परिणाम स्वरुप उनले आफ्नै सौतेनी आमा तिरका दाजु कुबेरलाई पराजित गरी पुष्पक विमान सहित लंकामा पनि कब्जा गरी शासन गर्न थाले।
उनको अहंकार दिनप्रतिदिन बढ्दै गैरहेको थियो । यसै क्रममा एक दिन शिवजीको बासस्थान कैलाश पर्वतलाई उचाली लंका लाने प्रयास गर्छन्। तर शिवजीको पैतालाको दबाब सहन नसकी ‘शंकर शंकर’ क्षमा गर्नुस भन्दै शिवजीको स्तुति गाएर विलाप गर्न थाल्छन्। त्यो स्तुतिबाट प्रसन्न भई दसग्रीबको नाम शिवजीले रावण राखिदिन्छन्। त्यो घटनापछि रावण पूर्ण रुपमा शिवजीको परम भक्त हुन्छन् र त्यो स्तुति नै अहिले ‘शिव तांडव स्तोत्र’ भनेर बुझिन्छ। यसले के देखाउछ भने रावण बहुविद्याका जानकार थिए। उनी छ दर्शन र चारै बेदको ज्ञान साथै ईन्द्रजाल, तन्त्र बिद्या, सम्मोहनमा पनि पारंगत थिए साथै बलशाली पनि । उनीसँग देवलोकका सबै देवताहरु पनि त्रसित थिए। भनिन्छ उनी रुपमा पनि उत्तिकै सुन्दर थिए । त्यसैले सीता जस्तो सुन्दरी आफ्नो हुनु पर्छ भन्ने आडम्बरले गर्दा भगवान रामको हातबाट मृत्युवरण गर्न पुग्छन् ।
अहिलेको मानव जगत जात, बल, बुद्धि, लगनशीलता, धन, रुपलाई नै प्राथमिकता राखी अगाडि बढेको अवस्थामा यी सबै कुराले परिपूर्ण रावणले आफू बाहेक थप एकजना पनि रावण बनाउन किन सकेनन् ? राम, सुदामा नामका त धेरै मानिस भेटिए तर रावण नाम गरेको अहिलेसम्म कोही भेटिएन । रावण सिर्फ एक्लै रावण मात्र रहे । यदि रावणले आफूले आर्जेको दशवटै शिरको बुद्धि सकारात्मक कार्यमा लगाएको भए सायद इतिहासमा प्रकाण्ड बिद्वान भएर अमर हुन्थे होला अनि मानिसहरु उनलाई घृणाको ठाउँमा पूजा गर्थे होला । त्यसैले मानव जगतलाई जात, बल, बुद्धि, लगनशीलता, धन, रुप भएर मात्र नहुँदो रहेछ यदि एक मात्र शब्द ‘आचरण’को कमी भयो भने माथि उल्लेखित कुनै कुराले साथ नदिँदो रहेछ । यदि हामीले आफ्नो ‘आचरण’ लाई धरौटी राखी यी सब कुराहरुको पछाडि मात्र दौडिरÞयौ भने राम, कृष्ण, बुद्ध, सुदामा क्षेत्री, ब्राह्मण जे भए पनि मानव जगतले केही दिनमा नै बिर्सन रुचाउने छ ।
Facebook Comment