साहित्यकार लाटो साथीको निधन

डिसी नेपाल
३ साउन २०७७ १६:१५

काठमाडौं । संस्कृत व्याकरणका विद्वान् एवं साहित्यकार प्रा डा विष्णुराज आत्रेय ‘लाटो साथी’को ७४ वर्षको उमेरमा निधन भएको छ । विसं २००३ पुस २५ गते कपिलवस्तुमा जन्मेका साहित्यकार लाटो साथीको आज आफ्नै निवास बत्तीसपुतलीमा निधन भएको हो । उनि क्यान्सर रोगबाट पीडित थिए ।

संस्कृत, नेपाली र अवधि भाषामा सशक्त कलम चलाउने डा आत्रेयका ‘हनुमदयन’ र ‘वैदेही’ महाकाव्य, ‘ढाक्रे’, ‘कपिलवस्तु’ लगायत खण्डकाव्य, ‘हामीभित्रका म’, ‘सोमतीर्थ’, ‘सुपा देउराली’, ‘कपिलधाम’, ‘शान्ताकुञ्ज’, ‘पाणिनी’, उपन्यासलगायत तीन दर्जनभन्दा बढी कृति प्रकाशित छन् । संस्कृत भाषामा लेखिएको ‘हनुमदयन’ महाकाव्यका लागि उनले विसं २०७५ को जयतु संस्कृतम् पुरस्कार प्राप्त गर्नुभएको जयतु संस्कृतम् संस्थाका महासचिव नवराज कट्टेलले जानकारी दिए।

‘कपिलधाम’ उपन्यासमा बुद्ध जन्मस्थल लुम्बिनी एवं कपिलवस्तुको धार्मिक, सांस्कृतिक तथा पुरातात्विक महत्वका साथै ऋषि कपिलका विषयमा पनि प्रकाश पारेको भूमिका लेखक उपप्राध्यापक ज्ञाननिष्ठ ज्ञवालीलले बताए । सरल भाषामा उनले कपिलवस्तुको महत्व उपन्यासमार्फत पाठकसमक्ष पस्केका छन् । भाषा, साहित्यका साथै धर्म, अध्यात्म, इतिहास, शिक्षालगायत क्षेत्रमा उनको रुचि थियो । घरपरिवारमा संस्कृतमै वार्तालाप गर्ने साहित्यकार आत्रेयले लामो समय नेपाल संस्कृत विश्वविद्यालयमा प्राध्यापन गरेका थिए। उनले नेपाल प्रज्ञा–प्रतिष्ठानको प्राज्ञसभा सदस्यसमेत रहेर काम गरेका थिए । आजै उनको पशुपति आर्यघाटमा वैदिक हिन्दू विधिअनुसार अन्त्येष्टि गरिएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *