आगामी तीन दिन अविरल वर्षा हुने पूर्वानुमान
काठमाडौं। मुलुकभर अहिले मनसुनी वायुको प्रभाव रहेकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको छ। क्रमशः नेपाल नजिक आउने क्रममा रहेकाले आइतबार साँझदेखि भने मौसम थप सक्रिय हुने जनाइएको छ।
विभागका अनुसार शनिबार देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । राति भने देशभर सामान्यदेखि पूर्णबदली रहने र धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिनुभयो । आगामी २४ घण्टामा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ केही स्थानमा भारी वर्षा हुने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।
आइतबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । वाग्मती, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली र सुदुरपश्चिम प्रदेशका थोरै स्थानमा र प्रदेश नं १, २ का एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ । त्यसदिन न्यून चापीय रेखा नेपाल नजिक आउने भएकाले मनसुन थप सक्रिय हुने जनाइएको छ । यसले विभिन्न नदीहरुको बहावसमेत बढाउने भएकाले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।
आइतबार राति देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, २, वागमती, गण्डकी, प्रदेश नं ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानका साथै कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाइएको छ। साँझदेखि न्यून चापीय रेखा नेपाल नजिक पर्ने भएकाले वर्षा बढ्ने र बाढीपहिरोको जोखिम हुनेछ।
सोमबार भने पूर्ण बदली रही धेरै स्थानमा वर्षाको सम्भावना छ। प्रदेश नं १, २, ५, वागमती, गण्डकी प्रदेशका केही स्थानमा र सुदूरपश्चिम र कर्णाली प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ। राति भने देशभर पूर्ण बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाइएको छ।
Facebook Comment