माधव नेपाल पक्षधर दाहाल निवासमा, प्रधानमन्त्रीसँग लेनदेन भएको भन्दै सशंकित

डिसी नेपाल
४ साउन २०७७ १०:५५

काठमाडौं। शनिबार बसेको नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा महाधिवेशन गर्ने प्रस्तावमा अर्का अध्यक्ष पुष्पकमल दाहालले समर्थन गरेपछि आक्रोशित बनेका माधव नेपाल पक्षधर दाहाल निवास खुमलटारमा भेला भएका छन्।

दाहालले प्रधानमन्त्री ओलीसँग मिलेर लेनदेनका आधारमा सहमति गरेको भन्दै नेपाल पक्षधर नेताहरु दाहाल निवासमा भेला भएका हुन्। दाहाल निवास खुमलटारमा वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष बामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतका नेताहरु भेला भएका हुन्।

शनिबार सचिवालय बैठकमा प्रधानमन्त्रीको प्रस्तावलाई समर्थन गरेका दाहाल बैठक सकिएपछि प्रधानमन्त्री ओलीसँगै राष्ट्रपति भवन शितलनिवास पुगेका थिए। अध्यक्षद्वयले राष्ट्रपतिलाई साक्षी राखेर लेनदेन गरेको आशंका गर्दै आएका नेपाल पक्षधरमा नेताहरु दाहाल निवासमा भेला भएका हुन्।

यसैबीच प्रधानमन्त्री ओली पक्षमा मानिने महासचिव विष्णु पौडेल पनि दाहाल निवास खुमलटार पुगेका थिए। उनले दाहालसँग छुट्टै छलफल गरी फर्किइसकेका छन्। अहिले दाहाल निवासमा माधव नेपाल र दाहाल निकट नेताहरुबीच छलफल भइरहेको एक नेताले बताए।

नेकपा स्थायी कमिटी बैठक आइतबार दिउँसो तीन बजे बस्ने तय भएको छ। बैठक अगाडि नै माधव नेपाल पक्षधरले शनिबार प्रधानमन्त्री ओली र दाहालबीच भएको सहमतिका बारेमा बुझ्न दाहाल निवासमा भेला भएका हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *