दाहालप्रति नेपाल असन्तुष्ट : दुई अध्यक्षबीच हुने सहमति अमान्य हुने चेतावनी

डिसी नेपाल
४ साउन २०७७ १४:१९

काठमाडौं। सत्तारुढ दल नेकपाको शनिबार बसेको सचिवाय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा एकता महाधिवेशन गर्ने प्रस्ताव गरेपछि सशंकित बनेका माधव नेपाल पक्षधरले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई प्रश्न गरेका छन्।

मंसिरमा महाधिवेशन गर्ने प्रधानमन्त्री ओलीको प्रस्तावलाई दाहालले समर्थन गर्दै शनिबार साँझ राष्ट्रपति भवन शितल निवास पुगेका थिए। मंसिरमा महाधिवेशन गर्ने प्रधानमन्त्रीको प्रस्तावमा दाहालले समर्थन गरेपछि सशंकित बनेका माधव नेपाल पक्षधर नेता आइतबार विहान दाहाल निवास खुमलटार पुगेका थिए।

दाहाल निवासमा वरिष्ठ झलनाथ खनाल, माधव नेपाल, नारायणकाजी श्रेष्ठ लगायतका नेता आइतबार विहान खुमलटार पुगेका थिए। छलफलमा दाहालले महाधिवेशनमा जाने सहमति भइनसकेको तर प्रस्ताव आएको जानकारी गराएका थिए।

दाहालले शनिबार प्रधानमन्त्रीको मंसिरमा महाधिवेशन गर्ने प्रस्तावका विषयमा ब्रिफिङ गर्न खोजेका थिए। दाहालले भूमिका बाँध्न थालेपनि अन्य नेताहरुले दुई अध्यक्षबीच भएको सहमति लिखित रुपमा ल्याउन दाहाललाई आग्रह गरेका थिए।

‘तपाईँहरुले गरेको सहमति अब लिखित रुपमा ल्याउनुस्, दुई अध्यक्ष बसेर गरेका कुराकानीलाई आधिकारिक मान्ने कुरा आउँदैन’ भन्दै नेता माधव नेपाललगायतले कुरा उठाएको बैठकमा सहभागी एक नेताले जानकारी दिए।

शनिबार प्रधानमन्त्री ओलीको प्रस्तावलाई समर्थन गरेपछि माधव नेपाल पक्षधर दाहालसँग सशंकित बन्दै आएका छन्। आफ्नो स्वार्थ पूरा नहुँदासम्म साथ लिने र राजनीतिक लेनदेनमा आफ्नो हात माथि पर्ने अवस्थामा दाहाल ओलीसँग मिल्ने गरेको भन्दै नेपाल पक्षधरले यस्तै रवैया कायम राखे सधैं साथ दिन नसकिने बताएका छन्।

आइतबारको छलफलमा पनि नेता नेपालले दाहाललाई दुई अध्यक्षबीच भएका सहमति लिखित रुपमा ल्याउन आग्रह गरेका थिए। जवाफमा प्रचण्डले महाधिवेशनमा जाने वा एक व्यक्ति एक पदका विषयमा कुनै निर्णय भइनसकेको र सबै विषय ६ गते बस्ने स्थायी कमिटी बैठकले तय गर्ने जवाफ दिएका थिए। बैठकमा नेताहरुले दुई अध्यक्षले शनिबार राष्ट्रपतिसँग भेट गरेको विषयलाई पनि उठाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *