प्रशासकीय अधिकृत कार्यालय नआउँदा भुक्तानी ढिलाइ, अनुगम गर्नुपर्ने यादवको भनाई
लहान । सिरहाको लक्ष्मीपुरपतारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कार्यालय नआउँदा भुक्तानी दिन ढिलाइ भएको छ। गत असार मसान्तमा हतारहतार काम गरी उपभोक्ता समितिका पदाधिकारीहरुले अनावश्यक दबाब दिन थालेको र अनुगमन गर्नुपर्ने जनाउँदै प्रमुख प्रशासकीय अधिकृत सुजीतकुमार यादव कार्यालय नआउँदा सम्पन्न भइसकेका विभिन्न योजनाको भुक्तानी अन्योलमा परेको हो। आर्थिक वर्ष ०७६÷७७ को अन्तिम समयसम्म पनि भुक्तानी नपाएपछि नयाँ आव ०७७÷७८ मा भुक्तानी हुने वा नहुने भन्नेमा उपभोक्ताहरु चिन्तामा परेका छन्।
‘असार मसान्तभित्र सकिनुपर्ने योजनाको काम सकिएको छ’, पतारी सडक मर्मत समितिका अध्यक्ष विद्यानन्द गिरीले भने, ‘तर भुक्तानी दिने बेलामा प्रमुख प्रशासकीय अधिकृत मोबाइल अफ गरेर कार्यालय नआउँदा भुक्तानी रोकिएको छ, अब नयाँ आवमा अघिल्लो वर्षको भुक्तानी हुने वा नहुने भन्ने चिन्ता बढेको छ।’ काम सम्पन्न गरेको आवश्यक कागजात सहितको फाइल गाउँपालिकामा पेस गरे पनि भुक्तानी नहुँदा समस्यामा परेको उनको भनाइ छ।
सम्झौता गरेर काम सकेका उपभोक्ताहरु भुक्तानीका लागि दैनिकजसो गाउँपालिका आउने गरे पनि प्रमुख प्रशासकीय अधिकृत कार्यालय नआउँदा उपभोक्ता समितिका पदाधिकारीहरु निराश भएर फर्किने गरेको गाउँपालिकाका अध्यक्ष रामवल्लभ साहले बताए। ‘योजनाहरुको काम सम्पन्न भई मूल्याङ्कन भएर भुक्तानीका लागि फाइलसमेत तयारी भइसकेको छ’, उनले भने, ‘फाइल अध्ययन गरेर भुक्तानी दिनुपर्ने बेलामा प्रमुख प्रशासकीय अधिकृत यादव कहिले अनुगमनका नाममा त कहिले के नाममा विभिन्न बहाना बनाई कार्यालय नआउँदा फाइल थन्किएर उपभोक्ताहरु भुक्तानी रोकिएको हो ।’
प्रमुख प्रशासकीय अधिकृत यादवले योजनाहरुको अनुगमन नै नगरी भुक्तानीका लागि उपभोक्ता समितिहरुबाट दबाब आइरहेकाले कार्यालय नगई योजनाहरुको अनुगमन गरिरहेको बताए। आव ०७६÷७७ को अन्तिम समयमा मात्र हाजिर भएकाले सम्पन्न योजनाको अनुगमन निरीक्षण गरेमात्र भुक्तानी दिने जनाए पनि भुक्तानीका लागि अनावश्यक दबाब आइरहेकाले अप्ठ्यारामा परेको उनको भनाइ छ। ‘अधिकांश योजनाहरु अघिल्लो प्रमुख प्रशासकीय अधिकृतको कार्यकालमा सम्झौता भई काम सम्पन्न भएका हुन्’, उनले भने, ‘योजनाहरुको अनुगमन नगरी भुक्तानी दिँदा कहीँ कुनै योजनामा कमीकमजोरी भए भोलि म कानूनी रुपमा फस्न सक्छु, त्यसैले योजनाहरुको स्थलगत अनुगमन गरेरमात्र भुक्तानी दिन्छौँ।’
सम्पन्न भएको भनिएका योजनाहरुको सन्दर्भमा कमीकमजोरी भएको जनगुनासो आइरहेकाले भुक्तानी तत्कालका लागि रोकिएको र असारमा भुक्तानी हुन नसकेको योजनाहरुको भुक्तानी गाउँसभाबाट आवश्यक निर्णय गराएर छिट्टै दिइने प्रमुख प्रशासकीय अधिकृत यादवले बताए।
Facebook Comment