काँग्रेस सांसद ज्वारचनले लिइन् पद तथा गोपनीयताको शपथ
काठमाडौं। सभामुख अग्निप्रसाद सापकोटाले नेपाली काँग्रेसकातर्फबाट प्रतिनिधिसभा सदस्य समानुपातिक पदमा नवनिर्वाचित सुवर्ण ज्वारचनलाई पद तथा गोपनीयताको शपथ दिलाएका छन्।
सिंहदरबारस्थित संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुखसमक्ष नवनिर्वाचित सदस्य ज्वारचनले शपथ लिइन्। नेपाली काँग्रेसकातर्फबाट २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा समानुपाति सदस्यमा निर्वाचित ज्ञानकुमारी छन्त्यालको गत असार १७ गते निधनपछि उक्त सदस्य पद रिक्त थियो।
नेकाको समानुपातिकतर्फको बन्द सूचिको क्रमसङ्ख्या ५९ र आदिवासी जनजाति समावेशी समूहको प्राथमिकता क्रम छ मा रहेकी ज्वारचनलाई निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यमा निर्वाचित गरेको हो ।
गुल्मीको सत्यवती गाउँपालिका वडा नं ६ स्थायी घर भएकी सांसद ज्वारचनको परिवारसँग मुलुकमा प्रजातन्त्र स्थापनाका लागि लामो सङ्घर्ष र योगदान पु¥याएको पृष्ठभूमि जोडिएको छ । विसं २००२ मा जन्मिएर २०३६ बाट राजनीतिमा सक्रिय ज्वारचन जिविस गुल्मीको निर्वाचित उपसभापति पनि भइन्।
यसअघि उनी विसं २०७० मा भएको दोस्रो संविधानसभा सदस्य बनेकी थिइन्। दोस्रो संविधानसभा सदस्यमा निर्वाचित भएपछि उनले नौ महिना उद्योग तथा वाणिज्य राज्यमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन्। समारोहमा सभामुख सापकोटाले उनलाई सङ्घीय सांसदको लोगो प्रदान गरे।
शपथपछि उनले राष्ट्र, राष्ट्रियता र जनताको हितमा सदनमा खरोरुपमा आवाज उठाउने प्रतिक्रिया दिइन्। उनले भनिन्, “हामी सबै नेपालीको प्रयासमा लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो नक्सामा समावेश भएको छ, मुलुकको सार्वभौम र स्वाधीनता जोगाउने सवालमा हामी सबै एकढिक्का हुनुपर्छ ।”
Facebook Comment