मौद्रिक नीतिलाई स्वागत गर्दै चेम्बरले भन्यो : फास्ट ट्र्रयाकबाट सेवा पाउनुपर्छ
काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालु आर्थिक वर्षको मौद्रिक नीतिलाई नेपाल चेम्बर अफ कमर्शले स्वागत गरेको छ। मौद्रिक नीति कोभिड–१९ को प्रभावले शिथिल भएको अर्थतन्त्रलाई गतिशिलता दिने र अर्थतन्त्रको पुंनरुत्थान गर्न केन्द्रित रहेको भन्दै यसलाई प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ।
चेम्बरले पुनर्कर्जा कोषलाई बढाउने र सबै व्यवसायीको पहुँच अभिवृद्धि गर्ने, कोरोना प्रभावित उद्योगलाई चालु पुँजीमा २० प्रतिशत थप कर्जा प्रवाह गर्ने र कर्जाको किस्ता तिर्ने समय कोरोना प्रभावको आधारमा २०७८ असार मसान्तसम्म पुर्याएकोमा स्वागत गरेको छ।
यसैगरी कृषि क्षेत्रमा बैंकहरुको लगानी १५ प्रतिशत पुर्याउने, कृषि विकास वैंकलाई कृषि क्षेत्रको अगुवा बैंकमा विकसित गर्ने र किसान क्रेडिट कार्ड जारी गर्ने व्यवस्थाका साथै कर्जा लगानीको न्यूनतम १० प्रतिशत ऊर्जा क्षेत्रमा लगानी गर्नुपर्ने र वाणिज्य वैंकहरुले कूल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत घरेलु तथा मझौला उद्योगमा गरी प्रवाह गर्नुपर्ने व्यवस्थाको पनि प्रशंसा गरिएको छ।
कर्जा पुँजी र निक्षेपको अनुपात (सीसीडी) ८५ प्रतिशतमा पुर्याउने व्यवस्थाले लगानी योग्य रकमको अभाव हुन नदिन र यसको ऋणमा व्याज दरमा समेत कमी आउने चेम्बरले जनाएको छ। यसैगरी ऋण लगानीमा वाणिज्य वैंकले अधिकतम ०.७५ प्रतिशत, विकास बैंकले १ प्रतिशत र लघु वित्तले १.५ प्रतिशतभन्दा बढि सेवा शुल्क लिन नपाउने व्यवस्था पनि सकारात्मक रहेको चेम्बरले जनाएको छ।
मौद्रिक नीति निजी क्षेत्र मैत्री भएता पनि यसको कार्यान्वयन पक्ष चुनौतिपूर्ण रहेको चेम्बरका अध्यक्ष राजेशकाजी श्रेष्ठले बताए। यसलाई प्रभावकारी कार्यान्वयनका लागि कार्यबिधिहरु सरल र स्पष्ट हुनुपर्ने तथा उद्योगी व्यवसायीले फास्ट ट्र्रयाकमा सेवा पाउने अवस्था हुनुपर्ने उनले माग गरे।
Facebook Comment