एउटै देशमा साढे २ करोड जनता कोरोनाभाइरस संक्रमित ! पूरै विश्वको भन्दा धेरै !
काठमाडौं। इरानका राष्ट्रपति हसन रुहानीले आफ्नो देशमा २ करोड ५० लाख जनता कोरोनाभाइरसबाट संक्रमित भएको बताएका छन् । उनले अहिलेसम्म अढाइ करोड संत्र,मित भइसकेको र आगामी दिनमा करिब साढे ३ करोड जनता संक्रमित हुन सक्ने आशंका भएको पनि बताएका छन् । शनिबार देशको कोरोनाभाइरस नियन्त्रणसम्बन्धी टास्क फोर्सको बैठकमा राष्ट्रपतिले यस्तो बताएको अल जजीराले लेखेको छ । यो बैठकको टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिएको थियो ।
राष्ट्रपति रुहानीले देशका कूल संक्रमितको संख्या अढाइ करोड पुगिसकेको बताइरहँदा इरानको आधिकारिक तथ्यांकमा भने यहाँ २ लाख ८३ हजार जना संक्रमित भएको पुष्टि भएको छ भने १४ हजार १ सय जनताको मृत्यु भएको छ । ८ करोड जनसंख्या भएको इरानका एक चौथाइभन्दा बढी जनता संक्रमित भइसक्दा पनि इरान अझैसम्म ‘हर्ड इम्युनिटी’को अवस्थामा पुग्न नसकेको समेत राष्ट्रपति रुहानीले बताएका छन् ।
कुनै पनि इरानी उच्च अधिकारीले देशले ‘हर्ड इम्युनिटी’को माध्यमबाट कोरोनाभाइरसलाई पराजित गर्न लागेको बताएको यो पहिलो पटक हो । ‘हामीले अहिलेसम्म हर्ड इम्युनिटी हासिल गरिसकेका छैनौं र हामीसँग एकताबद्ध भएर कोरोनाभाइरस प्रसारणको चेन तोड्नुको विकल्प छैन’ इरानको स्वास्थ्य मन्त्रालयले गरेको एक अध्ययनको नतिजा उद्धृत गर्दै उनले भने ।
रुहानीको अभिव्यक्तिको केही घण्टापछि उनका डेप्युटी हेड अफ कम्युनिकेशन अलिरेजा मोएजीले ट्वीट गर्दै अढाइ करोड संक्रमितमा भाइरसको सम्पर्कमा आएर पूर्ण रुपमा प्रतिरोधी क्षमता हासिल गरिसकेकाहरु पनि गणना गरिएको बताए । इरान मध्यपूर्वमा सबैभन्दा नराम्रोसँग प्रभावित भएको देश हो । अहिलेसम्म विश्वभर ६ लाख ८ हजारभन्दा बढीको कोरोनाभाइरसका कारण मृत्यु भइसकेको छ र १ करोड ४६ लाखभन्दा बढी संक्रमित भएको पुष्टि भएको छ । विश्वभर पुष्टि भएको संक्रमणको आधारमा हेर्ने हो भने इरानको अढाइ करोडको तथ्यांक पूरै विश्वको भन्दा झण्डै दोबर हुन आउँछ ।
Facebook Comment