नारायाणीमा जलस्तर खतराको बिन्दुभन्दा माथि, एक गाउँ नै जोखिममा

डिसी नेपाल
५ साउन २०७७ १७:११

काठमाडौं। अविरल वर्षाका कारण देशभरको विभिन्न नदीहरुमा बाढी को जोखिम बढेको छ। सोमबार नारायणी नदीमा जलस्तर खतराको संकेतभन्दामाथि पुगेको ऊर्जा मन्त्रालय अन्तरगतको जलस्रोत तथा सिँचाई विभागका महानिर्देशक मधुकर प्रसाद राजभण्डारीले जानकारी दिएका छन्।

उनले डिसी नेपालसँग भने, ‘नारायणी नदीमा बाढी खतराको संकेतभन्दा एकमिटर माथि पुगेको छ। त्यहाँ एउटा वस्तै नै जोखिममा परेको छ।’ उनका अनुसार चितवनको भरतपुर महानगरपालिकाको सिस्नोइ गाउँ पुरै जोखिममा परेको छ।

बाढी सूचना अलर्टका अनुसार नारायणीमा सोमबार दिउँसो जलस्तर ९.१५ मिटर छ। यहाँ ७.३ मिटरलाई लाई चेतावनीको स्तर र ८ मिटरलाई खतराको रुपमा लिइन्छ। हाल नारायणीमा जलस्तर खतराभन्दा पनि एकमिटर माथि पुगेको हो। अझै जलस्तर बढिरहेको महानिर्देशक राजभण्डारीले जानकारी दिए। उनले भने, ‘नदीले कटान गरिरहेको छ। हाम्रा कर्मचारीहरु जोखिममा परेकाहरुलाई स्थानान्तरणमा लागिरहेका छन्। अझै ४ दिन वर्षा हुने पूर्वानुमान छ। जलस्तर अझै बढ्न सक्छ।’

उनका अनुसार रौतहको गौर, खाँडो नदी, कमला नदी र कन्काई नदीमा पनि जलस्तर खतराको बिन्दुमा पुगेको छ। यहाँ पनि नदीले कटान शुरु गरेको छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा अझै ४ दिन अविरल वर्षा हुने पूर्वानुमान गरेको छ। महाशाखाले सचेत रहन अपीलसमेत गरेको छ। उता गृह मन्त्रालयले बाढीको जोखिम भएका स्थानहरुमा सूचना जारी गरिएको भन्दै सचेत रहन अपील गरेको छ।

सोमबार परेको अविरल वर्षाले राजधानी काठमाडौंका विभिन्न स्थानसमेत डुबानमा परेका छन्। उता पृथ्र्वी राजमार्गको धादिङ खण्डमा एक पुल भत्किँदा पृथ्र्वी राजगमार्ग हुँदै राजधानी काठमाडौं आउने र जाने सवारी साधान रोकिएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *