कानून कार्यान्वयनमा नचुक्नुस् : प्रहरी महानिरीक्षक

डिसी नेपाल
५ साउन २०७७ २०:०७

काठमाडौं। प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले कानूनको कार्यान्वयनमा नझुक्न र नचुक्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। नेपाल पुलिस क्लबमा सोमबारआयोजित महानगरीय प्रहरी कार्यालय तथा मातहत प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारीलाई उच्च नैतिक आचरण र व्यवहार प्रदर्शन गरी आफ्नो पेशागत कर्तव्य पूरा गर्न प्रहरी महानिरीक्षक थापा क्षेत्रीले निर्देशन दिएका हुन्।

प्रहरी कार्यालयमा आउने हरेक सेवाग्राहीसमक्ष प्रहरीले उच्च आचरण र व्यवहारसहित प्रस्तुत भएमा प्रहरीप्रति आम नागरिकको दृष्टिकोण सकारात्मक रुपमा परिवर्तन हुने उनले बताए। अपराध अनुसन्धान तथा नियन्त्रणलाई थप प्रभावकारी, मजबुद तथा परिणाममुखी बनाउनुपर्नेमा जोड दिँदै उनले प्रहरी सङ्गठनले समेत समयानुसार आफूलाई परिवर्तन गर्दै पुलिसिङका नयाँ तरिका र पेशासम्बन्धी अध्ययन गरी अगाडि बढ्नुपर्ने बताए।

कोरोना भाइरसको सङ्क्रमणको अवस्थामा प्रहरी कर्मचारीले निर्वाह गरेको भूमिकाको उनले प्रशंसा गर्दै लकडाउन खुलेपछि हुनसक्ने अपराधजन्य घटनाप्रति प्रहरी कर्मचारी थप चनाखो हुनुपर्ने आवश्यकतामा जोड दिए। सो अवसरमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले प्रहरी महानिरीक्षकबाट प्राप्त निर्देशन सम्बोधन अक्षरस पालन गरिने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा प्रहरी नायब महानिरीक्षक, प्रहरी वरिष्ठ उपरीक्षकलगायतको सहभागिता थियो।

‘लिडार स्पिड गन’ हस्तान्तरण

यातायात व्यवस्था विभागले नेपाल प्रहरीलाई आठ थान ‘लिडार स्पिड गन’ प्रदान गरेको छ। प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीलाई विभागका महानिर्देशक गोगनबहादुर हमालले रु ८४ लाख मूल्यबराबरका उक्त गन हस्तान्तरण गरेका हुन्।

सो अवसरमा प्रहरी महानिरीक्षक क्षेत्रीले सवारी साधनको तीव्र गतिबाट हुने दुर्घटना तथा जनधनको क्षति न्यूनीकरण गर्ने उद्देश्यले लिडार स्पिड गन प्रदान गरेकामा विभागलाई धन्यवाद दिए।

विभागका महानिर्देशक हमालले यातायात क्षेत्रमा अनुशासन कायम गरी यातायात व्यवस्थापन गर्न प्रविधिको प्रयोग अनिवार्य भइसकेको चर्चा गर्दै यातायात व्यवस्थापनलाई प्रविधिमय बनाउन विभाग लागीपरेको बताए। समग्र यातायात प्रणालीलाई व्यवस्थापन गर्न इम्बोस्ड नम्बर जडान, सार्वजनिक सवारी साधनमा जीपीएस प्रणाली जडान, स्मार्ट लाइसेन्स वितरणलगायतका कार्य गरिरहेको जानकारी दिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *