अर्थतन्त्रलाई व्युँताउन तीन प्रकारका पुनर्कर्जा, ३ देखि ५ प्रतिशतसम्म व्याज

डिसी नेपाल
६ साउन २०७७ २०:५६

काठमाडौं। कोभिड–१९ ले अर्थतन्त्रमा पारेको प्रभावलाई सम्बोधन गरी उद्योग, पेशा, व्यवसायको पुनरुत्थान गर्न नेपाल राष्ट्र बैंकले तीन प्रकारका पुनर्कर्जा दिने भएको छ। मंगलबार पुनर्कर्जा कार्यविधि २०७७ स्विकृती गर्दै केन्द्रीय बैंकले तीन प्रतिशतदेखि ५ प्रतिशतमै उद्योगले कर्जा पाउने व्यवस्था गरेको छ।

कार्यविधिमा पुर्नकर्जालाई लघु, घरेलु तथा साना उद्यम, विषेश र साधारण गरी तीन भागमा विभाजन गरिएको छ। यसअघि सिमित उद्योगी तथा व्यवसायीले मात्र पुनर्कर्जाको सुविधा उपयोग गरेको पाइएपछि पहुँच विस्तार गर्न क्षेत्र अनुसार विभाजन गरिएको हो।

लघु घरेलु तथा साना उद्यम पुनकर्जा अन्तर्गत उद्यमी स्वयं संलग्न भई सञ्चालन गरिएका उद्यम, व्यापार तथा व्यवसायमा प्रवाह भएको १५ लाख रुपैयाँसम्मको कर्जालाई समेटिएको छ। यो कर्जाको व्याजदर ५ प्रतिशत तोकिएको छ।

त्यस्तै विशेष पुनर्कर्जा अन्तर्गत बैंकले समय समयमा कुनै क्षेत्र विशेषलाई विशेष प्राथमिकता दिने गरी प्रदान गरिने कर्जा पर्दछ। यस अन्तर्गत हाल कायम रहेको निर्यात, महिला उद्यमी, फरक ढङ्गले सक्षम व्यक्तिले सञ्चालन गरेका उद्यम/व्यवसाय, प्राकृतिक प्रकोपबाट प्रभावित क्षेत्रमा प्रदान गरिएको कर्जालाई समेटिएको छ। यो कर्जाको व्याज भने ३ प्रतिशत तोकिएको छ।
यसैगरी साधारण पुनर्कर्जा घरेलु तथा साना उद्योग र विशेष प्रकृतिको उद्योलाई दिइने बाहेक सवै प्रकृतिका उद्योगका लागि दिइने कर्जालाई समेटिएको छ। २० करोडसम्मको सीमा तोकिएको यस कर्जाको ५ प्रतिशत व्याजदर तोकिएको छ।

राष्ट्र बैंकले कोभिड १८ ले प्रभावित गरेका ऋणीलाई दिइने पुनर्कर्जा दुई बर्षका लागि दिएको छ भने एकमुस्ट रुपमा प्रदान गरिने पुनर्कर्जाको अवधि बढिमा एक बर्षको मात्र हुने छ।
राष्ट्र बैंकबाट आह्वान गरी इजाजतपत्र प्राप्त संस्थालाई एकमुस्ट प्रदान हुने प्रति ग्राहक पुनर्कर्जाको अधिकतम सीमा ५ करोड हुनेछ। ग्राहक अनुसार मूल्याङ्कन गरी उपलब्ध गराउने पुनर्कर्जाको प्रति ग्राहक अधिकतम सीमा २० करोडसम्म हुने छ।

पुनर्कर्जाका लागि लघुवित्त संस्थादेखि बाणिज्य बैंकसम्म निवेदन दिन सकिने राष्ट्र राष्ट्र बैंकले जनाएको छ।

कार्यविधि अनुसार कुनै उद्यमको लागि नभई व्यक्तिगत प्रयोजनका लागि प्रवाह भएको ओभरड्राफ्ट कर्जा, घर जग्गा कर्जा, सवारी कर्जा, घरायसी सामग्री कर्जा, मार्जिन कर्जा, सुनचाँदी कर्जा, सामाजिक कर्जा तथा व्यक्तिगत नाममा वा व्यक्तिगत उपभोगका लागि लिइएका कर्जाहरुमा पुर्नकर्जा प्रभाव हुनेछैन। तर, व्यक्तिगत नाममा कर्जा लिई ट्याक्सी चलाउने, विद्युतीय टेम्पो चलाउने जस्ता स्वरोजगार मुलक कार्य गरी आय आर्जन गरेको विषयमा ऋण दिने इजाजतपत्रप्राप्त संस्था आश्वस्त भएमा त्यस्तो कर्जा अयोग्य नमानिने कार्यविधिमा उल्लेख छ।

त्यसैगरी पुनर्कर्जाका लागि व्याज अनुदान प्राप्त सहुलियतपूर्ण कर्जा लगायतका अन्य अनुदान प्राप्त कर्जा, पछिल्लो आर्थिक वर्षको औसत रिटर्न अफ इक्विटी २० प्रतिशत वा सोभन्दा बढी रहेको उद्योग व्यवसायमा प्रवाहित कर्जा, चुरोट, बिँडी, सिगार, सुर्ती, खैनी, गुट्खा लगायतका सुर्तीजन्य उद्योग÷व्यवसाय र मदिरा तथा मदिराजन्य उद्योग÷व्यवसायलाई प्रवाह भएका कर्जा र बैंकले समय समयमा तोकेका अन्य कर्जाहरुलाई पुनर्कर्जा नदिने राष्ट्र बैंकले जनाएको छ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत पुनर्कर्जा कोष १ खर्व बनाउने घोषणा गरेको छ। यसैगरी कोभिड–१९ प्रभावित उद्योगलाई सहयोग गर्न ५० अर्वको अर्को कोष समेत बनाउने घोषणा गरेको छ।

राष्ट्र बैंकले पुर्नकर्जा कोषको ५ गुणासम्म लगानी गर्ने मौद्रिक नीतिमार्फत घोषणा गरिसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *