थरकै कारण प्रियंकाको सरकारी जागिरको आवेदन अस्वीकृत गरिएपछि…

डिसी नेपाल
८ साउन २०७७ ८:५०

काठमाडौं। जन्मपछि हरेक व्यक्तिले आफ्ना माता, पिता वा समुदायको तर्फबाट एउटा थर पाउँछ । यही थरका आधारमा उसको समुदायको पहिचान हुन्छ । नामसँग जोडिएको थर उसको जीवनभरको मात्र नभइ जीवनपर्यन्तको पनि पहिचान बन्छ । तर, एक युवतीले आफ्नो थरकै कारण सरकारी जागिरका लागि आवेदन दिन पाइनन् । घटना भारतको पूर्वी राज्य असमको हो ।

फ्रि प्रेस जर्नलका अनुसार गुवाहाटीकी प्रियंकाले सरकारी कम्पनी नेशनल सीड कर्पोरेशन लिमिटेड (एनएससीएल)मा जागिरको लागि अनलाइन आवेदन दिने प्रयास गरेकी थिइन् । तर, उनको थरकै कारण वेबसाइट र सफ्टवेयरले उनको आवेदन रिजेक्ट (अस्वीकृत) गरिदियो । उनको थर चुतिया (Chutia) हो । प्रियंकाले पटक पटक आवेदन भर्ने कोसिस गरिरहिन् तर हरेक पटक उनको आवेदन अस्वीकृत भयो । वेबसाइटले पटक–पटक उनलाई नामको ठाउँमा स्ल्याङ्ग (अपमानजनक भाषा) प्रयोग नगर्न भनिरहेको थियो ।

पटक पटक आवेदन अस्वीकृत भएपछि प्रियंकाले यसबारे फेसबुकमा पोस्ट गरिन् । पोस्टमा उनले आफ्नो थरकै कारण अन्य ठाउँमा पनि जागिरको लागि अन्तरवार्ता दिन जाँदा मानिसहरु हाँस्ने गरेको उल्लेख गरिन् । उनले लेखिन् ‘म दुखी महसुस गरिरहेकी छु र मानिसहरुलाई बताएर थाकिसकेकी छु कि मेरो थर कुनै अपशब्द नभइ मेरो समुदायको प्रचलित थर हो ।’ उनले आफ्नो समुदायका मानिसहरुसँग पनि यो मुद्दामा काम गर्न अपिल गरिन् । निजी रुपमा एनएससीएलमा गुनासो गरेपछि भने कम्पनीले उनको आवेदन स्वीकार गरेको छ । असममा एक आदिवासी समुदाय छ जसको थर चुतिया र सुतिया हुन्छ । मूल रुपमा यो समुदाय चीन तिब्बती मंगोलियन समुदायका वंशज मानिन्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *