ट्राभल हिस्ट्री नभएका पनि धमाधम संक्रमित

काठमाडौं। सरकारले लकडाउन अन्त्य भएको घोषणा गरेको २४ घण्टा बित्न नपाउँदै कर्णाली प्रदेशको दैलेखबाट कोरोना महामारीको जोखिमपूर्ण समाचार आयो – ट्राभल हिस्ट्री नभएका व्यक्ति पनि कोरोना पोजेटिभ भए।
सरकारले मंगलबार रातीबाट कोरोना नियन्त्रणका लागि लगाइएको लकडाउन हटेको घोषणा गरेको थियो भने, बुधबार दैलेख जिल्ला अस्पतालमा गरिएको समूदाय स्तरका व्यक्तिको कोरोना पीसीआर परीक्षणमा १६ जना कोरोना पोजेटिभ देखिए। बिहीबार पनि दैलेखमा फेला परेका २४ जना पोजेटिभ मध्ये ११ जनाको कुनै ट्राभल हिस्ट्री छैन।
जिल्ला अस्पताल दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले कोरोना समूदाय स्तरमै फैलियो भन्न नसकिए पनि लोकल ट्रान्समिसन भन्न मिल्ने बताए। उनले डिसी नेपालसँग फोनमा भने, ‘विश्व स्वास्थ्य संगठनको प्रोटकलअनुसार हामीले अहिले नै समूदायस्तरमा कोरोना फैलियो भन्न सक्दैनौं। तर, संकेत भने राम्रो छैन।’ बुधबार जिल्लाको ठाँटीकाँध गाउँपालिकामा १६ जना पोजेटिभ फेला परेका थिए भने बिहीबार जिल्लाकै महाबु गाउँपालिकामा ११ जना ट्राभल हिस्ट्री नभएका र अन्य क्वारेन्टिनमा रहेका १३ जना कोरोना पोजेटिभ फेला परेका छन्।
नेपालमा कतै पनि शुरु नभएको प्रोटकलअनुसार दैलेखमा कोरोनाको परीक्षण शुरु गरिएको छ। जिल्लामै पीसीआर मेसिन भएकाले दैलेखमा कुनै पनि ट्राभल हिस्ट्री नभएका, कोरोना पोजेटिभको कन्ट्याक्टमा नआएका सामान्य नागरिकहरुको परीक्षण शुरु गरिएको फोकल पर्सन रेग्मीले बताए। उनले भने, ‘हामीले हरेक स्थानीय तहबाट ६०–७० जना समूदायका मानिसको परीक्षण गर्न शुरु गरेका छौं। दुईदिनको नतिजाले समूदायका मानिसहरुमा कोरोना देखिएको छ। अब शुक्रबार प्राप्त हुने नतिजाले यसबारे थप प्रष्ट पार्नेछ।’ उनले नमुना संकलन गर्दा कोरोना नभएको हुनसक्ने सम्भवना रहेका व्यक्तिहरुको गरेकोसमेत बताए।
जिल्लाका दुईवटा गाउँपालिकामा ट्राभल हिस्ट्री नभएका व्यक्तिहरु कोरोना पोजेटिभ देखिएपछि मानिसहरु त्रसित बनेको जिल्लाका पत्रकार यज्ञराज थापाले बताए। उनले लकडाउन हटे पनि मानिसहरु आफै सचेत रहनुपर्ने बताए।
त्यसो त जिल्ला प्रशासन कार्यालय दैलेखले ठाँटिकाँध गाउँपालिकामा निषेधाज्ञा जारी गरिसकेको छ भने महाबुमा पनि निषेधाज्ञा जारी गर्ने तयारी भएको छ। कोरोना फोकल पर्सन रेग्मीले महाबुमा पनि निषेधाज्ञा जारी गर्न भनिसकिएको र चिकित्सक पनि पठाइएको जानकारी दिए।
Facebook Comment