विदेशबाट आउने सबैको कोभिड–१९ परीक्षण : मन्त्री ढकाल
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले विदेशबाट आउने सबैको कोभिड–१९ परीक्षण गरिने बताएका छन् । आज मन्त्रालयमा स्वास्थ्य क्षेत्रका विज्ञसँग छलफलमा उनले भारतबाट स्वदेश फर्किने नागरिकको सीमा नाकामै स्वाब सङ्कलन गरेर र विमानस्थल हुँदै नेपाल आउने नागरिकको होल्डिङ सेन्टरमा राखेर पाँच दिनपछि स्वाब सङ्कलन गरेर कोरोना परीक्षणको काम भैरहेको जानकारी दिए ।
मन्त्री ढकालले सरकारले कोरोना रोकथाम र नियन्त्रणमा चालेका प्रयास विज्ञहरूको सल्लाह र सुझावमै भइरहेको बताए । उनले विज्ञहरूबाट सकारात्मक सुझाव र हौसला पाइरहेको बताउँदै यतिखेर सरकारको काममा सबैले सहयोग गर्नुपर्ने बताए । उनले बन्दाबन्दी खुलेको यस समयमा जनस्वास्थ्य मापदण्ड पालनाका लागि सबैले आआफ्नो ठाउँबाट योगदान गर्नुपर्ने बताए । मन्त्री ढकालले स्वास्थ्यसँग सम्बन्धित सूचना र जानकारी सबैले पाउने गरी व्यवस्थापन गर्नुपर्नेमा पनि जोड दिए ।
छलफलमा विश्व स्वास्थ्य सङ्गठनका नेपाल प्रतिनिधि डा जोस भ्यान्डेलरले नेपालमा कोरोना समुदायमा नफैलिएको बताए। उनले खास ठाउँमा देखिएको सङ्क्रमणलाई समुदायको भन्न नमिल्ने भन्दै अहिलेसम्म सरकारले कोरोना नियन्त्रणमा गरेको प्रयास सराहनीय रहेको बताए ।
विकसित देशको भन्दा राम्रोसँग कोरोनाको नियन्त्रण गर्न नेपाल सरकार सफल रहेको भन्दै जोखिम बढ्न नदिन अझै सतर्कता अपनाउनुपर्ने बताए। छलफलमा नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा भगवान् कोइरालाले विदेशबाट आएका सबैमा कोरोना परीक्षण गर्नुपर्नेमा जोड दिए। सङ्क्रामक रोग विशेषज्ञ डा अनुप सुवेदीले स्वास्थ्यकर्मी र अस्पतालमा सङ्क्रमण हुनबाट जोगाउनुपर्ने बताए। जनस्वास्थ्य विद् डा सुजन मरहठ्ठाले कोरोनाको व्यापकता अझै फैलिने सम्भवना रहेको भन्दै यससँग सम्बन्धित थप अध्ययन र अनुसन्धानमा जोड दिए।
नेपाल मेडिकल एसोसिएनका अध्यक्ष डा लोचन कार्कीले स्वास्थ्यकर्मीलाई अहिलेको महामारीबाट जोगाउनका लागि विशेष ध्यान दिनुपर्ने बताए। भाइरोलोजिष्ट डा समिरमणि दीक्षितले कोरोना भाइरसको डर कम गर्न नमूनाहरूको परीक्षण बढाउनुपर्ने र अणुवांशिक (जिन सिक्वेन्सिङ) गरेर वास्तविक अवस्था पत्ता लगाउन केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाले नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का लागि पर्याप्त नमूना दिएर सहयोग गर्नुपर्ने बताए।
Facebook Comment