अङ्गुर बाबा जोशीः पश्चिमी शिक्षा र पूर्वीय दर्शनकी फ्यूजन

डिसी नेपाल
१० साउन २०७७ १२:४६

आजका धेरै युवा पुस्तालाई पश्चिमी देशमा गई शिक्षा आर्जन गर्ने मनसायले गाँजेको छ । नेपालमै पनि विशेषतः किशोरीहरुले पश्चिमी किशोरीहरु जस्ता देखिने पहिरन, कपाल, श्रृंगारको अनुकरण गरेको देखिन्छ। सायद उनीहरुलाई लाग्दो हो उनीहरु जस्तो देखिए त्यो पराया संस्कृतिमा घुलमिल गर्न सजिलो हुन्छ । सायद सांस्कृतिक मनोवैज्ञानिक द्वन्दको कारण पनि हो कि बर्षेनीउल्लेख्य संख्यामा नेपाली युवा विदेशमा आत्महत्या गर्ने, निरासिने, पढाई छोडी फर्कने वा उतै हराउने समाचारहरु पनि सामाजिक सञ्जालमा आउन थालेका छन्। तापनि सांस्कृतिक द्वन्द्वले निम्त्याएको असहज वातावरणबारे अनुसन्धान नै गर्नु पर्ने हुन्छ।

त्रिसठ्ठीवर्ष पहिले नेपालबाट पहिलोपल्ट एउटी युवती पश्चिमी शिक्षाका लागि संसार प्रसिद्ध विश्वविद्यालय बेलायतको अक्सफोर्डमा अध्ययन गर्न पुगेको र नेपाल फर्केर उहाँले गरेका योगदानबारे केही जान्न युवा पुस्ताका लागि प्रेरणादायक हुन्छ होला। त्यस्ती महिलाबारे मेरो पुस्तासम्मले उहाँका विद्यार्थी, कार्यकर्ता, सहयोगी, प्रशंसक वा आलोचक भएरै पनि केही हदसम्म जान्ने बुझ्ने मौका पाए। छोरीलाई पढाउन हुँदैन भन्ने त्यतिबेलाको समाजबाट एउटी किशोरी भारत र बेलायत पुगेर कसरी सफलतै सफलता हात पारिन् र अंगुरबाबा जोशीजस्ती प्रसिद्ध विदूषी भएर आफ्नो देशमा स्वधर्म पालन र रक्षाका सवालमा जीवन बिताइन् भन्नेबारे जान्नु पर्ने जस्तो लाग्छ। पश्चिमी शिक्षा प्राप्त एउटी असाधारण विदूषीका बारेमा हामीपछिका पुस्ताले अध्ययन गरी प्रेरणा पाउन् भन्ने उद्देश्यले वि.स. २०६६ साल मंसिरमा अंगुरबाबा जोशी, अभिनन्दन ग्रन्थ पनि प्रकाशित गरिएको छ।

काठमाडौंको एक सम्भ्रान्त परिवारमा जन्मेकी भएपनि बाबु पिताम्बरप्रसाद पन्तले उनको नाम सानामा लाटी मैयाँ राखिदिएका थिए। एउटी लाटी मैयाँ अंगुरबाबा जोशी बन्न के कस्तो सहयोग र वातावरण चाहिदो रहेछ भनेर उहाँले आफू ७८ वर्ष पुगेपछि आफ्नो जीवन पुनरावलोकन गर्नु भएको छ। प्रथमतःमातापिता र पुर्खाको धार्मिक, नैतिक र आध्यात्मिक पारिवारिक वातावरणले संजीवनी बुटीको काम गर्ने आत्मज्ञान उल्लेख छ। दोश्रोमा अंगुरबाबाले घरमा काम गर्ने साधारण दुई धाई आमाहरु द्वारिका र नेपालले आफूलाई हेरविचार गरेको महत्वपूर्ण योगदान बारेमा उल्लेख गर्नुभएको छ। पन्त परिवारमा दुइटी छोरीपछि एक छोरा जम्मेकाले उनको आगमन विशेष खुसीको समय रह्यो । तर, आमाको काख चाहिने १३ महिने बालिका अंगुरबाबालाई तिनै दुई धाइआमाहरुले स्याहार सुसार गर्ने अभिभारा पाए। त्यतिबेला काठमाडौंको समुन्नत परिवारले आफ्ना नावालखको स्याहार सुसार गर्ने धाई आमा, बुबु आमा राख्ने चलन थियो। अंगुर बाबाले महत्वका साथ उनीहरुलाई सम्झी उल्लेख गर्नु मानवताको चेतनशील अभिभावक ठान्दछु म।

धाइआमाहरुकै रेखदेखमा हुर्कदै गरेकी बालिकाको अढाइ वर्ष हँुदा पनि बोली नफुट्दा बाबुले ‘लाटी मैयाँ’ भनी बोलाउने नाम राखिदिन्छन् । तापनि छोरी पढाउने चलन नभएको त्यो समयमा पनि बाबुले नै घरमा आफै र शिक्षक राखेर पनि छोरी पढाउन उत्प्रेरित गर्नुभएको थियो । तर, लाटी मैया संकोच मान्ने र पढाइमा त्यति ध्यान नदिने भएकाले आमाबुबा चिन्तित भएको देखेर विष्णु भन्ने शिक्षकले गाईको गोबर कोच्याइदिएपछि पढ्छु भनेर हायल कायल भएको अत्यन्त रोचक घटना आफ्नो अन्तिम संस्मरणमा उल्लेख छ।

त्यसो त आमा दीपकुमारी पन्तले ‘लौ न यो लाटीले के गरेर घर धान्ने होला’भनेको पनि प्रेरणाकै श्रोतमा उल्लेख छ। त्यतिबेलाको समाजमा आमाबुबाको नकारात्मक टिपणी पनि सायद छोराछोरीले विरोध गर्ने सामथ्र्य राख्दैनथे । पछि आफ्नो जीवनको उत्तरार्धमा आमाबाबु बितिसकेको अवस्थामा अर्थ खोज्दा छोरीको भलाईकै लागि नै होला भनी ठानेको विश्वास अंगुर बाबाले गरेको देखिन्छ । बाल्यकालमा उनलाई पढाउने अरु शिक्षकरुको पनि नामै तोकेर आफूलाई अंगुरबाबा बनाउने भूमिकाको जग बसेको उहांको भनाइ छ। उहाँले कर्तव्यबोधमा जजस्लाई श्रेय दिए पनि औपचारिक रुपमा लाटी मैंयालाई अंगुरबाबा जोशी बनाउन प्रेरणा दिने महत्वपूर्ण भूमिका सासुआमा चन्द्रकुमारी जोशीको लाग्यो मलाई।

उहाँका श्रीमान् हिमालयराज जोशी १७ वर्षे श्रीमति र आठमहिने छोरो छोडेर परलोक हुनुहुन्छ। किशोरी आमाले छोराको शिक्षादिक्षाको बन्दोबस्त गर्दैै त्यतिबेलाको वालविवाह प्रचलनअनुसार १२ वर्षे छोरा बलराम जोशीको विवाह ११ वर्षे लाटी मैया अंगुरबाबासँग गराइदिन्छिन् । पढ्न मन गर्ने बुहारी भेटेर सासु खुसी बन्नुहुन्छ र छोरा बुहारी दुबैलाई पढ्न प्रेरणा र प्रोत्साहन गर्नुहुन्छ। बुहारीका लागि स्वअध्ययन थियो भने छोरा स्कुल जान्थे । दुलाहा पनि पढ्नलाई सघाउथे सिकाउथे। अतः तीन व्यक्तिको अन्तरसम्बन्ध अंगुरबाबाका लागि साह्रै अनुकुल बनेको रहेछ।

आजका केही मनोविज्ञान पढेकाहरुको टिप्पणीहुन्छ—‘महिलाले आफूले गर्न नपाएको काम अर्को महिलाले गरेकोमा डाह गर्दछन््। महिला नै महिलाका शत्रु हुन्छन् । झन् बुहारीलाई त दुस्मनझैं व्यवहार गर्छन् । तर, अंगुरबाबा र उहाँकी तरुनी सासु चन्द्रकुमारी जोशीबीचको प्रेम र सासुको अधुरो पढाइ भए पनि बुहारीलाई पढ्न प्रोत्साहन मात्र होइन नातिनातिना आफूले हेरर आफ्नो छोरोसरह पढ्न पठाउनु त्यतिबेलाको समाजमा अत्यन्तै सह्रानीय व्यवहार हो । मनोविज्ञान र स्थापित महिला डाह सिद्धान्तलाई ठूलो चुनौती पनि हो। त्यसो त एउटी आमाले नावालख सन्तान सासुसँग छोडी भारत र सात समुद्रपार जान सक्ने मुटु पनि बलियो पार्नु पथ्र्याे होला । आफ्नो अठोट दुलाहाको सकारात्मक व्यवहारले पनि सम्भव भयो।

यदि अंगुरबाबा मोफसलकी किशोरी भएकी भए सायद त्यो मौका पाउन कठिन पर्दथ्यो होला । मोफसलका केही महिला अंगुरबाबा नै बन्न नसकेपनि केही न केही त बन्थे होलान्, यदि उपत्यका बाहिर पनि महिला मैत्री वातावरणको आभाष भएको भए। अंगुरबाबा दश वर्षकी हुंदा नै भोजपुरजस्तो दुर्गमकी योगमाया स्वअध्ययनबाट शिक्षित भइसकेकी थिइन्। तर, उनको धर्मराज्य मागलाई राणासरकारले उनको ज्यान जोखिममा पारेको थाहा भएर आफ्ना ६५ जना अनुयायीहरु सँगै लिएर अरुणमा हामफाली मर्नु प¥यो। अहिले हामी त्यसलाई जलसमाधी भनी अर्थ लगाउँछौ। अहिले १०६ वर्ष पुग्नु भएकी अंगुरबाबाकी सासुको उमेरकी मेरी माइली फूपु १२ वर्षमै विधवा भएपछि सासुले सती जा भन्दा भागेर हाम्रोमा आएर जीवन रक्षा गरेको हो। सतीप्रथा गैरकानूनी भए पनि गाउँ घरमा सामाजिक रुपमा हटिसकेको थिएन। मेरी जेठी फूपुकोमा उही कथा थियो । त्यसैले राजधानीमा जन्मेकालाई भाग्यमानी पनि भन्नु पर्दो रहेछ।

राणाशासन कायम रहेका बेला २००४ सालमा पहिलोपल्ट चार जना महिलाले निजीरुपमा दरवार हाइस्कुलबाट प्रवेशिका परीक्षामा सामेल भएको इतिहासमा अंकित छ। अंगुरबाबा जोशी र भूवन राज्यलक्ष्मी सम्भ्रान्त परिवारका थिए भने साधना प्रधान, साहना प्रधान दिदीबहिनी नामी नेवार परिवारका भए पनि सर्वसाधारणका मानिन्थे। बाम आन्दोलन सुरु भै नसकेको हुनाले उहाँहरु त्यस्मा लाग्नु भैसकेको थिएन। साहना दिदी भन्नु हुन्थ्यो ‘उनीहरु दुईजना तामदानमा बोकिएर परीक्षा दिन आउथे। हामी हिडेर जान्थ्यौं।’

मैले पनि अहोभाग्य नै भन्नु प¥यो। त्यस्ता ऐतिहासिक चारैजना महिलालाई चिन्ने मात्र होइन सँगै काम पनि गर्न पाएँ। भूवनसिंह म पद्म कन्यामा पढाउन सुरु गर्दा २०३० सालमा मेरो इतिहास विषयका प्रमुख हुनुहुथ्यो भने साहना दिदी अर्थशास्त्र पढाउनु हुन्थ्यो। उहाँको र मेरो २०३१ सालमा कीर्तिपुर सरुवा गरी २०३२ सालमा श्री ५ को सरकारले पञ्चायती सरकार विरोधी भनेर निष्कासित पनि सँगै ग¥यो। साधना दिदी मनमोहन अधिकारीसँग विवाह गरेपछि सक्रिय हुनु भएन । उहाँको भूमिका विपी पत्नी सुशीला कोइरालाको जस्तो मात्र रह्यो। अंगुरबाबाले शिक्षा र समाज सेवामा ख्याती प्राप्त गर्नु भयो भने राजनीति र अध्यात्ममा पनि नाम इंकित गराउनु भयो।

अंगुरबाबा जोशी बहु आयामिक व्यक्तित्वको धनी हुनुहुन्थ्यो। नजानिंदो तरिकाले तत्कलीन रुढीवादी समाजलाई उहाँले आफू स्थापित घेरामै बसेको प्रमाणित गर्दै ठूलो चुनौती साथ अघि बढ्न सफल हुनु भएको मेरो निष्कर्ष छ। परिवार, समाज र राष्ट्रलाई नै अंगुरबाबाले आफ्नो सफलताका सहयात्री बनाउनु भयो। अरु महिलाले उहाँजस्तो भूमिका खेलन सकेनन्।

पाँच कक्षामा अध्ययनरत १२ वर्षे श्रीमान्को गणित र विज्ञानको मोह देखेर उनलाई पनि विज्ञान पढी म्याडम क्युरीजस्ती बन्ने सपना जाग्दछ । १६ वर्षमा दोस्रो श्रेणीमा प्रवेशिका उत्तिर्ण भएपछि अंगुरबाबा दुलाहा पढ्ने त्रिचन्द्र कलेजमा विज्ञान पढ्न दरखास्त बुझाउन जाँदा उनको अस्वीकृत हुन्छ। किनकि केटीलाई त्याहाँ निषेध थियो। त्रिचन्द्रले गरेको भेदभावले उहाँ निराश भई बस्नु भएन । स्वअध्ययन गरी पटना विश्वविद्यालय गई आइएको परीक्षा दिनु भयो र पास गर्नु भयो । स्मरण रहोस त्रिवि स्थापनापूर्व नेपालका कलेजको सम्बन्धन पटनासँग थियो। एमए पढ्न भने उतै जानु पर्दथ्यो।

सासु आमाले बालबच्चा हेरिदिएर छोरा बुहारीलाई भारतमा पढ्न पठाइदिनुभयो। श्रीमानले भौतिकशास्त्रमा एमएसी गरे भने श्रीमतीले राजनीति शास्त्रमा एमए मात्र नगरी विएल पनि गरेकी थिइन् । भारतका डिग्री सकेर नेपाल फर्केर पद्मकन्या कलेजमा पढाउन सुरु गर्नु भयो अंगुरबाबाले। त्यतिबेला पद्मकन्या स्थापना भएको पाँच वर्ष भएको थियो। भन्नुको अर्थ सो कलेज विसं २००८ सालमा स्थापना भएको हो। पद्मकन्यामा पढााउँदै गर्दा बेलायत अध्ययन गर्न जान शिक्षा मन्त्रालयले दरखास्त अह्वान गर्दा दुबैले हालेतापनि महिला भएका कारण उहाँको स्वीकृत भएन। राजा महेन्द्रलाई गुहारेपछि मात्र उहांको दरखास्त दर्ता भएको थियो ।

बेलायत सरकारले छात्रवृतिसहित उनलाई कानून पढ्न अक्सफोर्डमा भर्ना दियो भने श्रीमान्लाई अर्कै शहरको सामान्य विश्वविद्यालयमा पिएचडी गर्ने मौका दियो । स्मरण रहोस त्यतिबेला शिक्षा सचिव केशरबहादुर केसी थिए भने पराराष्ट्र सचिव नरप्रताप थापा । तीन सन्तानमा कान्छी छोरी भरखर अढाइ वर्षकी भएका बेला नेपालमै तीनै सन्तान छोडी दुबै आमाबाबु समुद्रपारि अधययनका लागि जान दह्रो मुटु चाहिन्छ। सासु आमाले नावालख नातिनातिनाको जिम्मा लिनु हुन्छ। अध्ययन पूरा गरी दुवै नेपाल फर्किन्छन्। अंगुरबाबाले पास गरेको बार एण्ड ल गर्ने नेपालका एक अर्का पुरुष मात्र थिए । उनी हुन् बासुदेव शर्मा उपाध्याय। उनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगका भूतपूर्व अध्यक्ष हुन् ।

बेलायतबाट फर्केपछि उहाँ फेरि पद्म कन्यामै पढाउन जानु भयो र केही वर्षमै प्राचार्य बन्नु भयो । १२ वर्ष यही हैसियतमा त्यहाँ काम गर्नु भयो । स्वदेश फर्केपछि झन् राष्ट्रवादिता बढ्छ उहाँमा । पदमकन्यालाई ठूलो भवन सहित फराकिलो बनाउने सपना पूर्ण गर्नेतिर ध्यान दिनुभयो । घरेलु उद्योगलाई सघाउन र छात्राबीच धनी गरिवको खाडल नरहोस् भनी नेपाली साडी गेरुवा रंगको लगाउने निष्कर्ष २०२२ साल चैत १६ गते भयो । शिक्षकले पनि अलिक फुस्रो रंगको घरबुना नै लाउने नियम बन्यो । जुत्ता बासबारी छालाजुत्ता कारखानाको लगाउनु पर्ने नियम भयो।
काठमाडौंको मुटु बागबजारमा रहेको ३७ रोपनी जग्गा अधिग्रहण गराई २०२७ मा आफ्नो भव्य भवनमा पद्मकन्या कलेजले नया रुप लियो । मन्दिरजस्तो तीनओटा सुनौला गजुर भएको भव्य महिला कलेजमा अंकित भएको—

प्रज्ञा नेत्रो लोक

प्रज्ञा प्रतिष्ठा

प्रज्ञानब्रम्हः

टाढैबाट देखिने भयो। भब्य भवनको मात्र सवाल होइन। विज्ञान, लोक संस्कृति, संगीत, नाट्य, सबै विषय थप गराउनु भयो उहाँले । त्यस्तै छात्राहरुको बाहिरी ज्ञान विकासका लागि हप्तैपिच्छे गोष्ठी, प्रवचन, संगीत, नृत्यका कार्यक्रम थपिए। विद्यार्थीलाई समाज सेवामा लगाउन नजिकैका गाउँमा लगी सेवा गराउने काम पनि कलेजले ग¥यो। बिए, एमएका विद्यार्थीका लागि राष्ट्रिय विकास सेवा अनिवार्य गर्दा त्यसको कानून तर्जूमामा अंगुरबाबा दिदीसँग मैले पनि काम गर्ने मौका पाएँ। उहाँकै सिफरिसमा रहेछ। म पद्म कन्यामा विहान पढाएर दिउँसो राविसेमा खटिएँ। त्यतिबेला उहाँको योगदानर प्रशंसा सर्वत्र फैलिएको थियो।

अत्यन्तै सफल पहिलो प्राचार्य अंगुबाबा जोशीलाई २०१९ सालमा संविधान सुधार आयोगको पनि सदस्यमा राजाले मनोनित गरेका थिए। अध्यक्षमा ऋषिकेश शाह हुनुहुन्थ्यो। त्यसो त राजा महेन्द्रबाट उहाँलाई राष्ट्रिय पञ्च्यायतको सदस्यमा पनि मनोनित गरिएको थियो भने तत्कालीन बडामहारानीको बालमन्दिर स्थापना अभियानमा सदस्यमा मनोनित हुनु भयो। श्री ५ रत्नबाट ७५ ओटै जिल्लामा गरिव र आमाबाबुविहीन बालबालिकाका लागि बालमन्दिर निर्माण गराई राख्ने, पढाउने व्यवस्था गरिएको थियो। बालमन्दिर बाहेक बाल संगठन पनि केन्द्रदेखि जिल्लासम्म थिए। म नौ कक्षामा धनकुटामा पढ्दै बालसंगठनको अध्यक्ष बनाइएकी थिएँ। त्यतिबेला कक्षामा निडर भएर बोल्नेलाई नेता छान्ने चलन थियो। राजारानीलाई क्याम्पमा भेट्न लगेको सम्झना अझै छ।

अंगुरबाबा दिदी सनातन धर्म सेवा समिति, नेपाल रेडक्रस सोसाइटी, उच्चशिक्षा परिषद् र खप्तड क्षेत्र पर्यटन समितिकी संस्थापक सदस्य हुनु भयो भने त्रिवि सिनेट, सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद, यूनेस्कोको लागि राष्ट्रिय संगठन नेपालर गोरखापत्र संस्थान समितिमा पनि सदस्य छानिनु भयो।

चन्द्रमामा पनि दाग हुन्छ। काम गर्दै जाँदा कही न कही आफू पनि चुकिन सकिन्छ वा अरुले खुट्टा तान्ने प्रवृत्ति हुन्छ। यसबारे मैले दुई हरफ लेख्नै पर्ने हुन्छ। राजनीतिमा प्रवेश गरेपछि उहाँ विवादमा परेपनि प्राचार्य हुँदाका दुई घटना बोक्ने व्यक्तिमध्ये एक अमेरिकामै छन्। पूर्व सामान्य प्रशासनमन्त्री भएकी चन्दा शाहको कटु अनुभव रहेछ। अंगुरबाबाको पक्षपाती व्यवाहार नसहेर रत्न राज्यलक्ष्मी कलेजबाट बिए दिनु परेको रहेछ। कुरा बुझ्दा अंगुरबाबाकी समकक्षी प्रतिद्वन्दी प्रजा राज्यलक्ष्मी सँगको द्वन्द्वले सांढेको मिचाइमा चन्दा परेको बुझियो ।

चन्दा प्रज्ञा राज्यलक्ष्मीकी बहिनी पर्ने रे । पद्मकन्या छोडी महिला संगठनमै पूरा समय लागेपछि अंगुरबाबाका काममा विवाद पनि बढेको देखिन्छ। मंगला देवीसँग (गणेशमानकी पत्नी)महिला संगठनको अध्यक्ष हुँदा यानी २०१७ साल अगावै रमा राज्यलक्ष्मीले नयाँ संगठनमा दान दिएको भवन र त्यससँगै जोडिएको तारागाउँबारे विवाद भएपनि अंगुरबाबाले शुरु गर्दा ‘नमूना नेपाल’ निर्माणको अठोट गरेको हो। केही हदमा त्यो पूरा भएपनि आज त्यसको रुप पाँचतारे होटेल छ। अर्को ठुलै व्यक्तित्व तारा शर्मा पनि अंगुरबाबा सँग ठाकठुक परी चारबर्ष पढाएपछि पद्म कन्या छोडी बेलायततिर बरालिनु भएको रे। मैले उहाँलाई सोझै सोधेको छैन, सायद बेलायत जानुअघि होला उहाँले लेखेको सूली उपन्यास पढेकी छु । कस्लाई कुखुरकाको दुर्गन्धित दिसा भनेको मलाई थाहा छैन।

अन्त्यमा अंगुरबाबा बहुआयामिक व्यक्तित्व आफ्नो समयभन्दा अगाडिकी प्रकाण्ड विद्वान हुनुहुथ्यो। उहाँ सधैं सार्वजानिक स्थलमा नेपाली पहिरन खास्टो, ठूलो टीका, धागो चुल्ठोमा प्रस्तुत हुनुहुन्थ्यो। सधै सभाहरुमा ओम ध्वनीबाट सुरु गरी आजका परिस्थितिलाई आध्यात्मिकतामा बाध्नु हुन्थ्यो। वर्षेनी उहाँ श्री सचिदानन्द सरस्वती खप्तडबाबा आश्रम बुढानीलकष्ठ पुग्नु हुथ्यो । वर्णाश्रम धर्ममा आस्थावान अंगुरबाबालाई मैलै उहाँको बानप्रस्थ र सन्यास जीवनमा बढी भेट्ने मौका पाए। घरमै बसेर उहाँ ती जीवन विताउनु हुन्थ्यो। सानामा धाइहरुले हुर्काएकी अंगुरबाबाकी सहयोगी भरखरकी थिइन्।

एकदिन विहान पुग्दा सानो श्रृंगार बाकस खोली गाजल लगाउँदै हुनुहुन्थ्यो। म गाउँलेले त्यस्तो बाकस हवाई जहाजमा परिचारिकाले मात्र बोकेको देखेकी थिएँ। भन्नुभयो, ‘नानी ! श्रृंगार महिलाको गहना हो।’ मलाई एउटा राम्रो ढाकाको खोल हाल्नु नपर्ने खास्टो दिनुभयो। चिनु भनेर दिनु भएको मैले ओढ्ने गरेकी छु।

खराब रोगमध्येका मुटु र क्यान्सरले उहाँलाई गाल्न सकेको थिएन। बरु जीवन र जगतको ज्ञानबोध बढी गरायो भन्नु हुन्थ्यो । हिन्दु धर्ममा छुवाछुत, उचनीच उल्लेख नभएको र यस्ता विकृति कालान्तरमा पसेका मात्रहुन् भन्नुहुथ्यो उहां ।

अंगुरबाबालाई दशवर्ष शिक्षामन्त्री बनाइदिएको भए आज नेपालको शिक्षा क्षेत्रमा आमुल सकारात्मक परिवर्तन हुथ्यो। उहाँ पद्म कन्यामै बसिरहनु भएको भएपनि सायद उहाँले त्यसलाई अहिले विश्वविद्यालय बनाइसक्नु हुन्थ्यो होला। आँटेको काम गरेरै छोड्ने एक अद्वितीय व्यक्तित्व हो अंगुरबाबा जोशी।

एक महिनाअघि असार ६ गते २०७७ साल अंगुरबाबा जोशीको निधनले स्तब्ध बनायो। प्रत्येक व्यक्ति जन्मेपछि मर्नै पर्ने बाध्यता रहेछ। उहाँको आत्माले शान्ति पावस् भन्ने कामना गर्दछु। तथास्तु।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *