‘राजेश मेमोरियल क्यान्सर रिलिफ फाउण्डेशन’को स्थापना

डिसी नेपाल
११ साउन २०७७ ११:३०

काठमाडौं। क्यान्सर रोग सम्बन्धी स्वास्थ्य तथा औषधि विज्ञानका क्षेत्रमा अध्ययन, अध्यापन र अनुसन्धानका अतिरिक्त क्यान्सर पीडितलाई आवश्यक सहयोग र सेवा प्रदान गर्न ‘राजेश मेमोरियल क्यान्सर रिलिफ फाउण्डेशन’को स्थापना गरिएको छ।

फाउण्डेशनको एक समारोहका बीच नेपाली कांग्रेसका काठमाडौं क्षेत्र नं. १ का सांसद प्रकाशमान सिंहले शुभारम्भ गरेका थिए। डा. राजेश आचार्यको स्मृतिमा स्थापित फाउण्डेसनको शुभारम्भ गर्दै प्रमुख अतिथि सिंहले डा. राजेशको सेवा भावनालाई यस संस्थाले चीरकालसम्म जीवन्त राख्ने बताए।

फाउण्डेशनका अध्यक्ष जनार्दन आचार्यले डा. राजेशको सेवा भावको चर्चा गर्दै संस्थाले क्यान्सर रोगीहरुको सेवामा आफूलाई समर्पित गर्ने बताए।

फाउण्डेशनले जनस्वास्थ्यका क्षेत्रमा कार्य गर्ने गरी वृहत्त उद्देश्य बोकेको बताएको छ। क्यान्सर सम्बन्धी विभिन्न संघसंस्था तथा उपचारमा संलग्न अस्पताल एवम् स्वास्थ्य केन्द्रलगायतसंग सहकार्य गरी जनचेतनामूलक कार्यक्रमहरू संचालन गर्ने गराउने प्रमुख उद्देश्य लिएको यस फाउण्डेसनले क्यान्सर पीडित, पीडितका परिवार, पीडितको हेरचाह गर्ने व्यक्तिहरूलाईसमेत उचित सरसल्लाह र मार्गनिर्देश गर्ने काममा विशेष ध्यान दिने फाउण्डेसनले जनाएको छ।

फाउण्डेसनले गरिबी, स्वस्थ्यताका लागि सरल पहुँचको दुरावस्था, क्यान्सर रोगका सम्बन्धमा बुझाईको कमी, सहयोग तथा सेवाका कारण क्यान्सरको जोखिमबाट असुरक्षित रहेकाहरूलाई उचित र आवश्यक सहयोग गर्नुका साथै तत्सम्बन्धमा मार्गदर्शनसहितको सेवा गर्ने दृष्टिकोण बनाएको फाउण्डेसनले जनाएको छ।

फाउण्डेसनले क्यान्सर अस्पताल वा क्यान्सर उपचार गर्ने संस्थासम्म पहुँच नभएका व्यक्तिहरूलाई अस्पताल पुर्याउन यातायातको उपलब्धताका विषयमा जानकारी गराउने मात्र नभएर आवश्यक परेको अवस्थामा उपचारका लागि यातायातको व्यवस्थासमेत मिलाउने उद्देश्य लिएको छ।

क्यान्सर उपचारका लागि लामो समयसम्म अस्पताल निकट बस्नुपर्ने परिस्थितिमा बिरामीहरूका लागि सरल, सुलभ एवम निःशुल्क बासस्थानको व्यवस्था गर्नुकासाथै कमजोर आर्थिक अवस्थाका बिरामीलाई प्राथमिकताका आधारमा आर्थिक सहयोग गर्ने गराउने कार्यमा फाउण्डेशनले सहयोग गर्नेछ। संस्थाले बिरामीहरूको सुविधाका लागि एम्बुलेन्सकोसमेत व्यवस्था गर्ने जनाएको छ।

यसका साथै फाउण्डेशनले क्यान्सरसँग सम्बन्धित राष्ट्रिय अन्तर्राष्ट्रिय संघ संस्था तथा अस्पतालहरूसँग समन्वय गरी क्यान्सर रोगसंग सम्बद्ध विविध कार्यक्रम संचालन गर्नेछ जनाएको छ।

क्यान्सर रोग भयावह रोग हुनुकासाथै यसले खर्चको हद नाघ्ने भएकोले कमजोर आर्थिक अवस्था भएका क्यान्सर बिरामीहरूको आर्थिक अवस्था विचार गरी क्यान्सर रोगीहरूको खोजी गरी निःशुल्क हेल्थ क्याम्पका साथै निःशुल्क औषधि वितरण गर्ने उद्देश्य लिएको छ।

फाउण्डेसनले सरकारी गैरसरकारी संस्थाहरुसंगको सहकार्यमा आवश्यकता अनुसार स्वास्थ्य सेवा क्षेत्रसंग सम्बन्धीत महत्वपूर्ण विषयहरुमा तालिम दिने, अध्ययन अनुसन्धान गर्ने, राष्ट्रिय तथा अन्तरराष्ट्रिय सभा सेमिनार संचालन गर्ने उद्देश्य बोकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *