समुदायमा कोरोना फैलिएको संकेत

काठमाडौं। देशमा पछिल्लो २४ घण्टामा नयाँ कोरोना संक्रमितको संख्या १३० पुग्दा यी मध्ये केही भने समूदायका त्यस्ता मानिस थिए, जो कोरोना हुने जोखिमबाट टाढा थिए। यी मध्ये आइतबार दैलेखमा फेला परेका २३ जना संक्रमित समूदायका मानिसहरु हुन्।
देशमा सरकारले हाल विदेशबाट आएका (भारतसमेत), कोरोना संक्रमितको सम्पर्कमा रहेका र कोरोनाको लक्षण देखिएका व्यक्तिहरुको मात्र कोरोना परीक्षण गर्दै आएको छ। तर, कर्णाली प्रदेशको दैलेखमा भने जिल्ला स्तरमा सरकारको मापदण्डभन्दा बाहिर गएर समूदायका मानिसहरुको पनि कोरोना परीक्षण शुरु गरिएको छ। जिल्ला सदरमुकामस्थित प्रयोगशालामा पछिल्ला दिनहरुमा गरिएको कोरोनाको पीसीआर परीक्षणमा समूदायका मानिसहरु संक्रमित भइरहेको देखिएको छ।
जिल्ला अस्पताल दैलेखका कोरोना फोकल पर्सन थिरप्रसाद रेग्मीले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार कोरोना समूदायमा फैलियो भन्न नसकिए पनि ‘लोकल ट्रान्समिसन’ भन्न सकिने बताए। उनका अनुसार पछिल्लो तीन दिनमा दैलेखमा फेला परेका कोरोना संक्रमित समूदायका मानिसहरु हुन्।
जिल्लाको ठाँटीकाँध गाउँपालिकामा १६ जना संक्रमित फेला परेका थिए। यिनी मध्ये केही शिक्षक थिए भने केही स्थानीय व्यापारी। यी १६ जना नै हाल आइसोलेशनमा रहेका छन्। यस्तै जिल्लाकै महाबु गाउँपालिकामा पनि ११ जना समूदायका मानिसहरु कोरोना पोजेटिभ फेला परे। आइतबार जिल्ला सदरमुकाम रहेको नारायण नगरपालिकामै २३ जना कोरोना संक्रमित फेला परेका छन्। यिनीहरु मध्ये ६ जना दुईवटामात्र परिवारका हुन्। अन्य केही विद्यार्थी रहेका छन्।
नारायण नगरपालिकाको वडा नम्बर १, ४, ६, ८ र ९ मा १४ जना संक्रमित फेला परेको नारायण नगरपालिका स्वास्थ्य शाखाका प्रमुख लालबहादुर खड्काले जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘कोरोना समूदायमा गएको लक्षण देखिएको छ। आज (आइतबार) फेला परेका संक्रमितको अवस्था हेर्दा दैलेखमा कोरोना समूदायमा फैलिएको भन्न सकिन्छ।’
उनका अनुसार वडा नम्बर ४का संक्रमित ३ जना एउटै परिवारका हुन्। त्यस्तै वडा नम्बर ६ का ३ जना संक्रमित पनि एउटै परिवारका सदस्य हुन्। त्यस्तै आइतबार पोजेटिभ देखिएका २३ जना मध्ये ७ जना जिल्ला कृषि विकास कार्यालयका कर्मचारी हुन्। एकजना मध्य पहाडी लोकमार्ग आयोजनाका सवारी चालक हुन्।
दैलेखका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले जिल्लामा कोरोना संक्रमित फेला परेपछि अलि कडाई गरिएको जानकारी दिए। उनले डिसी नेपालसँग भने, ‘ठाँटीकाँधमा कोरोना संक्रमित फेला परेपछि त्यहाँ हामीले निषेधाज्ञा नै जारी गरेका छौं। अब नारायण नगरपालिकामा हाललाई निषेधाज्ञा जारी नगरिए पनि अत्यावसेक सेवाबाहेक अन्य सेवा बन्द गर्ने निर्णय गरिएको छ। प्रहरीको गस्ति बढाइएको छ। मास्क नलाउनेलाई कारबाहीसमेत गर्ने निर्णय भएको छ।’ उनका अनुसार हाल दैलेखमा ४९ जना संक्रमित आइसोलेशनमा रहेका छन्।
Facebook Comment