प्रहरीमा कोरोना प्रतिरोधी सामाग्रीको अभावः सुरक्षित भएर ड्युटीमा खटिन देशभर परिपत्र

काठमाडौं । प्रहरी नेतृत्वले कोरोना संक्रमण प्रतिरोधि सामाग्री प्रयोगमा कमजोरी गर्दा ड्युटीमा खटिने प्रहरीमा कोरोना संक्रमण बढ्दै गएको छ । प्रहरी प्रधान कार्यालय र मातहतका कार्यालयहरुले पर्याप्त मात्रामा सुरक्षाका सामाग्री उपलब्ध नगराएका कारण ‘फिल्ड’मा खटिने प्रहरी संक्रमित बढ्दै गएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार आइतबारमात्रै २३ जना प्रहरी संक्रमित भएका छन् । प्रहरी प्रधानकार्यालय स्रोतका अनुसार प्रहरीमा कोरोना प्रतिरोधी सामाग्री नहुँदा बढी नै जोखिम बढेको छ ।
प्रहरी प्रधान कार्यालयमा कार्यरत ४ जना र प्रदेश नं १ को प्रहरी कार्यालयमा १९ जना संक्रमित भएका हुन् । यो सँगै संक्रमित हुने प्रहरीको तथ्यांक १ सय १९ जना पुगेको छ । संक्रमितमध्ये ९५ जना निको भइसकेको र १९ जना आइसोलेसनमा रहेको प्रहरी प्रधान कार्यालयका प्रवक्ता डिआइजी निरजबहादुर शाहीले जानकारी दिए । उनका अनुसार लकडाउन खुलेपछि सुरक्षामा खटिने प्रहरीलाई कोरोना संक्रमित हुने डर देखिएको छ । मास्क र पञ्जा सबै प्रहरीको लागि व्यवस्था गरिए पनि पीपीई भने अति जोखिममा बसेर काम गर्ने प्रहरीको लागि मात्रै दिइएको छ ।
‘प्रहरीले सामाजिक दुरी कामय राख्छु भनेर पनि सक्ने अवस्था छैन, सकेसम्म गर्ने हो, कतिपय ठाउँमा अपराध नियन्त्रणका लागि पनि भीडभाडमा पुग्नुपर्ने अवस्था छ, त्यसकारण संक्रमण फैलने गरेको हो’, डिआइजी शाहीले भने । उनका अनुसार उपत्यकामा संक्रमित प्रहरीलाई बलम्बु अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ । उनीहरुको स्वास्थ्य अवस्थाबारे प्रहरी प्रशासन र स्वास्थ्य मन्त्रालयको टोलीले हेरविचार गरेको छ ।
प्रहरी प्रधान कार्यालयले सुरक्षित रहेर काम गर्न निर्देशन दिइरहेका बेला काममा खटिने प्रहरी कर्मचारीले भने सबैतिर भौतिक दुरी कायम राखेर काम गर्न नसकिने बताए । उनीहरुले निम्छरो सुरक्षा अपनाएरै भएपनि जोखिमपूर्ण अवस्थामा काम गर्नुपरेको गुनासो गरे । प्रहरी कार्यालयहरुले कोरोना संक्रमणको बेला फिल्डमा खटिँदा स्वास्थ्य सुरक्षामा त्यति चासो नदिएको महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत एक प्रहरी जवानले बताए । उनले आफूहरुलाई ड्युटीमा खटिरहनुपर्ने भएता पनि कोरोना सुरक्षाबारे कार्यालयले त्यति चासो नदिएको गुनासो गरे । ‘सुकिलो मुकिलो र सुरक्षित भएर काम गर्न आदेश आइरहन्छ, तर हामीले लगाउने लुगा र सुरक्षामा ध्यान दिइन्न, सुरक्षित रहने सामग्रीहरु कार्यालयले दिएको छैन’, ती जवानले भने । माथिल्लो तहका अधिकृतहरुले कडाईका साथ काममा खटाएपनि सुरक्षा र पोशाकको बारेमा चासो दिइएको छैन ।
स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म संक्रमित भएकामध्ये दौडधूप र सर्वसाधारणसँग जोडिएर काम गर्ने प्रहरीहरु रहेका छन् । आइतबार संक्रमित भएका प्रहरीहरुको कन्ट्रयाक टेस्ट र शंका लागेकालाई पीसीआर गराउने तयारी भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता समीर अधिकारीले जानकारी दिए । उनका अनुसार फ्रन्टलाईनमा काम गर्नेमध्ये सबैभन्दा बढी प्रहरी नै संक्रमित भएका छन् । संक्रमित मध्य सबैभन्दा बढी जवान प्रहरी रहेका छन् । ‘अहिले जनजीवन पुरानै तरीकाले चल्न थालेको छ, प्रहरी पनि स्थानीयसँगै रहेर काम गर्नुपर्ने भएकाले बढी संक्रमित भएका हुन्,’ उनले भने । उनका अनुसार अहिलेसम्म सबैभन्दा बढी प्रदेश नम्बर २ मा कार्यरत प्रहरी कर्मचारी संक्रमित भएका छन् । उक्त क्षेत्रमा संक्रमित सर्वसाधारणको संख्या बढेको र भारतीय नाकाहरु नजिकै पर्ने प्रहरी कार्यालयहरुमा बढी जोखिम छ । त्यस्तै, आइतबार नै झापामा कार्यरत १८ जना सशस्त्र प्रहरी कर्मचारीमा कोरोना संक्रमण देखिएको सहप्रवक्ता अधिकारीको भनाई छ ।
प्रहरी कर्मचारीमा कोरोना संक्रमणको जोखिम बढेपछि प्रहरी प्रधान कार्यालयले मातहतका कार्यालयमा कार्यरत सबै प्रहरी कर्मचारीलाई जोगिएर काम गर्न निर्देशन दिएको छ । प्रहरी पुरानै तरीकाले काममा सामेल भइरहेको बेला संक्रमण बढेको भन्दै प्रहरी प्रधान कार्यालयले ७७ वटै जिल्लाका प्रहरी कार्यालयहरुलाई परिपत्र गरेको छ । संक्रमणबाट सावधानी रहनको लागि कसरी काम गर्ने भन्ने तरीकासहित परिपत्र गरेको प्रवक्ता डिआइजी शाहीले बताए। उनले यो समयमा सवैभन्दा बढी प्रहरी प्रभावित हुने देखिएकाले प्रहरी कार्यालयहरुलाई सचेत गराउन परिपत्र गरिएको बताए । उनका अनुसार जोखिम क्षेत्रमा कार्यरत प्रहरीका लागि मास्क, पञ्जा र भौतिक दुरी अनिवार्य गरिएको छ । प्रहरीलाई आवश्यक पर्ने सुरक्षा सामग्री दिन सम्बन्धित कार्यालयहरुलाई आग्रह गरिएको छ । जोखिम क्षेत्रमा कार्यरत प्रहरीको पिसिआर परिक्षण र संक्रमितको हेरचाह गर्ने जिम्मा पनि सम्बन्धित प्रहरी कार्यालयकै रहेको डिआइजी शाहीले बताए ।
अहिलेसम्म प्रदेश नम्बर १ को प्रहरी कार्यलय गरी २३ जना प्रहरी संक्रमित भएका छन् । १९ प्रहरी कोरोना संक्रमित भएसँगै विराटनगरस्थित प्रदेश १ को प्रहरी कार्यालय सिल गरिएको जानकारी प्रहरी प्रमुख डिआइजी इश्वरबाबु कार्कीले गराए । हालसम्म देशभरका विभिन्न जिल्लाका एक सय १९ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । यसमध्ये ९५ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् भने ६ इन्स्पेक्टर, आठ सई, सात असई, ३६ हवल्दार, ६१ प्रहरी जवान र एकजना कार्यालय सहयोगी संक्रमित भएका छन् ।
प्रहरीको तथ्यांकअनुसार संक्रमित प्रहरीहरूमध्ये काठमाडौंका १२, भक्तपुरका एक, धनकुटाका दुई, मोरङका पाँच, बाराका सात, धनुषाका १२ , सर्लाहीका दुई, सिरहाका तीन, सप्तरीका ४, रौतहटका ४, महोत्तरीका २, तनहुँका २, नवलपरासीका ५, बागलुङका एक र स्याङ्जाका तीनजना छन् । त्यस्तै बाँकेका २, कपिलवस्तुका ६, गुल्मीका १, बर्दियाका २, दाङका २, प्युठानका २, जुम्लाका २, जाजरकोटका १, दैलेखका १४, सुर्खेतका ८, डोल्पाका २, कञ्चनपुरका ४, अछामका २ र बाजुराका ६ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
Facebook Comment