लकडाउन खुल्यो, मन खुलेन

डिसी नेपाल
१२ साउन २०७७ ७:५५

काठमाडौं। सरकारले औपचारिक लकडाउन खोले पनि सर्वसाधारणको मन भने खुल्न सकेको छैन। कोरोना संक्रमण रोकथाम तथा जोखिम नियन्त्रणका लागि गत चैत ११ गते देखि गरेको लकडाउन साउनमा चौपचारिक रुपमा खुलेको छ।

‘लकडाउन खुलेर के गर्नु कोरोनाको त्रास गएको छैन,’ कपनको सरस्वतीनगरमा फेन्सी पसल गर्ने रोजिना सुवेदीले भनिन्, ‘लकडाउन खुलेर के गर्नु? काठमाडौंमा मान्छे छैनन्। घर गएकाहरु आएका छैनन्। यो बेला हाम्रो कत्रो व्यापार हुथ्यो। यो वर्ष त गाह्रो छ।’

तीजको बेला आएकाले दिनमा थाम्नै नसक्ने ग्राहक आउने गरेको अनुभव उनले सुनाइन्। ‘यो वर्षपनि तीज आउन थाल्यो, खै भएका ग्राहकपनि आउँदैनन्,’ उनले भनिन्, ‘लकडाउन खुल्यो मान्छेको मन खुलेको छैन, डर र त्रास अझै कायम नै छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र जनस्वास्थ्यविद्हरुले लकडाउन खोलेपनि जोखिम अझै कायम रहेको बताएका छन्। स्वास्थ्य मन्त्रालयमा हरेक दिन गरिने पत्रकार सम्मलेनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्व गौतमले पछिल्लो समय जोखिम टरिनसकेको बताउँदै आएका छन्।

जनस्वास्थ्यविदहरुले सञ्चार माध्यामहरुमा भनेका कुरा सुनेर चावहिल निवासी निशा ओली आफ्नो छोरालाई यो वर्ष स्कुल भर्ना नगर्ने सोचमा छिन्। ‘एउटा सन्तान छन्। कोरोना लागिहाल्यो भने त लागिहाल्यो नी’, निशाले भनिन्, ‘बरु अर्को वर्षबाट स्कुल भर्ना गर्नु पर्ला। यो वर्ष त होस् म त बाबुलाई स्कुल भर्ना गराउँदैन्।’

सरकारले भदौ १ गतेबाट विद्यालय भर्नाको प्रकृया सुरु गर्ने भने पनि अविभावक भने विद्यार्थीलाई विद्यालय पठाउने वा न पठाउने भन्ने विषयमा स्पष्ट हुन सकेका छैनन्। चावहिल निवासी प्रदीप शर्मा पनि निशा ओली झैं दोधारमा छन्। उनले भने, ‘बरु अर्को वर्षबाट मात्र बालवच्चालाई स्कुल पठाउनु पर्ला। यो वर्ष त कतिको सुरक्षा अपनाउँछन स्कुलहरुले त्यो त हेर्न बाँकी नै छ।’

बानेश्वर चोकको फुटपातमा व्यापार गर्ने सानीमाया तामाङलाई पनि लकडाउन खुलेर कुनै फाइदा भएको जस्तो लाग्दैन। ‘५ वर्ष भयो यही ठाउँमा बसेर बेलुका बेलुका सामान बेचिन्थ्यो,’ तामाङले भनिन्, ‘लकडाउनका ४ महिना घरमै बसियो। अहिले खोलेपछि यहाँ बस्न आएको। कोही पनि ग्राहक आउँदैनन्। भाडा तिर्न पर्दैन र पो अलि ठिक छ। नत्र कम्ता गाह्रो हुन्थेन। लकडाउन पो खुलेको छ मनले ढुक्क भएर हिँडडुल गर्ने बेला त छैननी हैन र।’

कोरोनाको त्रास विश्वभरी काम नै छ। हाससम्म १ करोड ६१ लाख बढी मानिसहरु यसको चपेटामा परेका छन्। नेपालमा पनि कोरोनाले १८ हजार बढी व्यक्तिलाई प्रभावित बनाएको छ। तर, हालको तथ्याङ्क हेर्दा नेपालमा दैनिक कोरोना संक्रमणको दर घट्दो क्रममा छ।

कोरोना संक्रमणको दर घट्दो क्रममा भएका कारण सरकारले औपचारिक लकडाउनलाई खुल्ला गरेको हुनसक्ने बताइन्छ।  जनस्वास्थ्य अध्यापन गराई रहेका टेकबहादुर थापा नेपालमा कोरोना संक्रमणको दर घट्दो क्रममा भएका कारण सरकारले लकडाउन खुल्ला गरेको हुनसक्ने बताउँछन्।

उनले भने, ‘कोरोना संक्रमण नेपालमा कम भएको देखिन्छ। यसरी हेर्दा हालसम्म छिटफुट बाहेक कोरोना समुदायमा गएको भन्न सकिँदैन। प्राय सबै केस आगन्तुक नै छन्। त्यसैले पनि सरकारले लकडाउन खुल्ला गरेको हुनु पर्छ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *