सार्वजनिक यातायातः मापदण्ड पालना गर्दैनन्, भाडा मात्र बढाउँछन्

डिसी नेपाल
१२ साउन २०७७ १४:१०

काठमाडौं। कोरोना भाइरसको जोखिम न्यूनीकरण गर्नको लागि सरकारले निश्चित मापदण्ड पालना गरेर सार्वजनिक सवारी साधन संचालन गर्न अनुमति दिएको छ । तर, सार्वजनिक यातायातमा भने ती नियम पालना भएको छैन ।

सिटको आधा क्षमता मात्र यात्रु, मास्क, सेनिटाइजरको व्यवस्थासहित सार्वजानिक यातायात संचालन गर्न दिएको छ र सीमित मात्रामा भाडा बढाउन पनि अनुमति दिएको छ । तर, यो नियमको उल्लंघन भइरहेको छ ।

सरकारले गत असार २६ गतेबाट सिटको आधा क्षमता राखेर साविकको भाडामा ५० प्रतिशत बढाइ यातायात संचालन गर्न अनुमति दियो । तर, सार्वजनिक यातायात संचालकले भने भाडा मात्र बढाएको र यात्रु संख्यासहितका अन्य मापदण्ड उल्लंघन गरेको गुनासो बढेको छ ।

लकडाउन खुलेपछि काठमाडौंमा भीडभाड बढेको छ । अधिकांश कार्यालय खुलिसकेका छन् । जसका कारण सार्वजनिक यातायातमा पनि चाप बढेको छ । भीड बढेसँगै भाडा बढी असुल्ने तर अन्य नियम पालना नगरेको भन्दै यात्रुले कारवाहीको माग गरेका छन् ।

रत्नपार्कबाट कलंकी हुँदै थानकोतर्फ जाने यातायात भरिभराउ देखिन्छन् । दैनिक दहचोकबाट त्रिपुरेश्वर आवत–जावत गर्ने शिखा विष्ट अत्याधिक भिडभाडमा यात्रा गर्नुपरेको र भाडा पनि बढी तिर्नुपरेको गुनासो गर्छिन् ।

‘गाडी सधै भीड हुन्छ, भाडा बढी तिर्नुपर्छ’ उनले भनिन् ‘साविकको ५० प्रतिशत होइन दोब्बर तिर्नुपरेको छ ।’ अन्य समयमा यातायातमा चाप तुलनात्मक रुपमा कम देखिए पनि कार्यालय समयमा भने चाप अत्याधिक देखिन्छ ।

सरकारले भाडादर बढाउन दिएको छुटको दुरुपयोग भइरहेको यात्रु गुनासो गर्छन् । कालोपुलबाट संयुक्त यातायात चढेर कलंकी झरेका याङ्फु लामा कलंकीसम्मको भाडा ५० रुपयाँ तिरेको बताउँछन् । ‘यस बिषमा सम्बधित निकायको ध्यान जाओस् । सर्वसाधारण मारमा नपरुन्’ उनले डिसीनेपालसँग भने ।

भाडाको विषयमा रत्नराज्य क्याम्पस अध्ययन गर्ने एक विद्यार्थी भने छुट्टै तर्क गर्छिन् । सार्वजानिक यातायातमा विद्यार्थी कार्डको सहुलियत दिन छाडिएको गुनासो गर्दै उनले भनिन् ‘प्रायः म नेपाल यातायातमा यात्रा गर्छु, अहिले विद्यार्थी सहुलियत दिन छाडिएको छ’ उनले भनिन् ‘ट्राफिक प्रहरी पनि भीडभाड भएको गाडी देख्ने बित्तिकै अर्काेपट्टि फर्केर बस्छन् ।’ सार्वजानिक यातायातका चालक भने बाटोमा देखिएका यात्रुलाई छोडेर जान नसकिने बताउँछन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका प्रवक्ता बामदेव गौतमका अनुसार काठमाडौमा गएको ६÷७ गतेदेखि यातायात भीडभाड हुन थालेको छ । सरकारले लागू गरेको नियम उल्लंघन गर्ने सीमित यातायातलाई कारवाही गरे पनि जनशक्तिको अभावका कारण आवश्यकता अनुसार अनुगमन गर्न नसकिएको उनले बताए । केहि दिन अगाडिदेखि वर्दीमा तथा सादा पोसाकमा अनुगमनको लागि टोली खटाइएको उनको भनाइ छ ।

उनका अनुसार ७ गते सिट क्षमताको आधाभन्दा बढी यात्रु राख्ने ३२ गाडीलाई कारबाही गरिएको ८ गते ३१ हुँदै अहिलेसम्म १६६ सिट क्षमताभन्दा बढी यात्रु बोक्ने सार्वजानिक यातायातलाई कारबाही गरिएको छ । त्यस्तै लकडाउनपछि तोकिएको भन्दा बढी भाडा असुल्ने ४८ सार्वजनिक यातायातलाई कारबाही गरिएको छ ।

प्रवक्ता गौतमले डिसीनेपालसँग कुरा गर्दै भने ‘हामीलाई यात्रुको फोन आउँदैन, यदि यहाँहरु चढ्नु भएको यातायातमा बढी भाडा असुल्ने, सिट क्षमताको आधाभन्दा बढी यात्रु राख्ने जस्ता गतिविधि भएको छ भने १०३ नम्बरमा फोन गरेर सूचना दिई सहयोग गरिदिन अनुरोध छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *