थप २२६ जना डिस्चार्ज, १३९ संक्रमित, १६ हजार बढी क्वारेन्टाइनमा
काठमाडौं। कोरोनाबाट प्रभावित भएका मध्ये थप २२६ जना डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २२६ जना कोरोना मुक्त भएर घर फर्केका छन्। यो सँगै कोरोनामुक्त हुनेको संख्या १३ हजार ७ सय ५४ रहेको छ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिएको जानकारी अनुसार नेपालमा ७३.३५ प्रतिशत कोरोना संक्रमितहरु निको भएर घर फर्केका छन्।
यस्तै, डा. गौतमले दिएको जानकारी अनुसार थप १३९ जनामा कोरोना संक्रमण भेटिएको छ। यो सँगै कोरोनाबाट संक्रमित हुनेको संख्या १८ हजार ७ सय ५२ रहेको छ। यसमध्ये ४ हजार ९ सय ५० जना कोरोना संक्रमितहरुको देशका विभिन्न अस्पतालहरुको आइसोलेसमा उपचार भइरहेको छ।
क्वारेन्टाइनमा रहनेहरुको संख्या १६ हजार ३ सय ७१ रहेको प्रवक्ता डा. गौतमले जानकारी दिए। उनका अनुसार प्रदेश १ मा १ हजार ८ सय ९९ जना, प्रदेश २ मा २ हजार १ ८०, बागमती प्रदेशमा १ हजार २ सय ५, गण्डकी प्रदेशमा ३ हजार ४ सय ३६, प्रदेश ५ मा २ हजार ३ सय ४, कर्णाली प्रदेशमा ८ सय ६३ र सुदूरपश्चिम प्रदेशमा ४ हजार ४ सय ८४ जना क्वारेन्टाइनमा रहेका छन्।
यस्तै, काठमाडौं उपत्यकामा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले जानकारी दिए। उनका अनुसार ललितपुरमा ३ जना र काठमाडौं का ३ जना गरी जम्मा छ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
Facebook Comment