न्याय सम्पादनमा भएका त्रुटि सच्याउन विधि र प्रक्रिया छ, अनावश्यक टिप्पणी नगरौं : सर्वोच्च

डिसी नेपाल
१२ साउन २०७७ १८:३८

काठमाडौं। सर्वोच्च अदालतले गरेका दुई वटा फैसला तथा आदेश विवादमा तानिएपछि भएका टिकाटिप्पणीमाथि सर्वोच्च अदालतले असन्तुष्टि व्यक्त गरेको छ। सोमबार सर्वोच्चका प्रवक्ता भद्रकाली पोखरेलले एक विज्ञप्ति जारी गर्दै सर्वोच्चको फैसला वा आदेशमाथि भएका टिप्पणी तथा समाचार प्रकाशनप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

सर्वोच्च अदालतबाट हुने न्याय निरुपणका आफ्नै विधि र प्रक्रिया भएको भन्दै न्याय सम्पादनमा हुने त्रुटि सच्याउने विधि र प्रक्रिया रहेकोले सोहीअनुसार हुने भन्दै न्याय सम्पादनमा प्रभाव पार्ने गरि टिकाटिप्पणी नगर्न अनुरोध गरिएको छ।

हालै सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतृत्वको इजलासले गरेको पत्नि हत्यामा जेल सजाय भोगिरहेका सशस्त्र प्रहरीका पूर्व डीआईजी रञ्जन कोइरालाको सजाय घटाउने फैसला विवादमा तानिएको छ। सरकारले सो फैसलाविरुद्ध पुनरावलोकन निवेदनसमेत दताए गराइसकेको छ भने सर्वोच्चले सो पुनरावलोकन निवेदनमाथि कारबाही गर्न अनुमति दिइसकेको छ। यस्तै हिट एण्ड रन मुद्दामा प्रधानन्यायाधीश बन्ने रोलक्रममा रहेकी न्यायाधीश सपना प्रधानमल्ल नेतृत्वको इजलासले आरोपीलाई धरौटीमा रिहा गर्न दिएको आदेश पनि विवादमा परेको छ।

यी दुई फैसला तथा आदेशविरुद्ध सडकमा प्रदर्शनसमेत भइरहेको छ। उता प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउनुपर्नेसम्मका मागहरु सडकमा भइरहेका छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *