बेलायतका तीन वैज्ञानिक एक रातमै बने करोडपति !
काठमाडौं। बेलायतका तीन विश्वविद्यालय प्राध्यापकहरु कोरोनाको एक औषधि खोजेर रातारात करोडपति बनेका छन् । प्रोफेसर रटको जुकानोभिक, स्टिफन होलगेट र डोन्ना डेभिसको कम्पनी सिनरजेनको शेयर मूल्य एक रातमै भारी उछाल आएको छ । अहिलेसम्म शेयर मूल्य तीन हजार प्रतिशत बढेको छ ।
द गार्डियनको रिपोर्टअनुसार ती तीन प्राध्यापकहरुले सन् २००४ मा सिनरजेन नामको कम्पनी बनाएका थिए । यही कम्पनीले कोरोनाभाइरसको एक औषधिको ट्रायल गरेको थियो । ट्रायलमा जुन बिरामीहरुलाई यो औषधि दिइएको थियो उनीहरुमध्ये ७९ प्रतिशतमा गम्भीर रुपले बिरामी हुने आशंका निकै कम भयो ।
बेलायतको साउथह्याम्पटन विश्वविद्यालयको मेडिसिन स्कुलका तीन प्रोफेसरहरुले करिब २० वर्ष पहिले नै यो औषधिको खोजी गरेका थिए । उनीहरुले पत्ता लगाएका थिए कि दम र क्रोनिक लंग डिजिजका बिरामीहरुमा इन्टरफेरोन बिटा नामको प्रोटिनको कमी हुन्छ । यो प्रोटिनले रुघाखोकीसँग लड्न सहयोग गर्छ । वैज्ञानिकहरुले यो भाइरसको कमी पूरा गरिदिएको अवस्थामा भाइरससँग लड्न सहयोग मिल्ने पत्ता लगाएका थिए ।
आफूहरुको यो खोजीलाई औषधिमा परिणत गर्नको लागि उनीहरुले सिनरजेन कम्पनी बनाएका थिए । यो कम्पनी सन् २००४ मै स्टक मार्केटमा आएको थियो तर यसको शेयर मूल्य निकै कम थियो । ११ दिनअघि जुलाइ १७ का दिन यसको शेयर मूल्य प्रतिकित्ता ३६.५ पाउण्ड थियो ।
कम्पनीले फेब्रुअरीमै यो औषधिको क्लिनिकल ट्रायल सुरु गरेको थियो । गत हप्ता यो औषधिको क्लिनिकल ट्रायलको नतिजा आयो जुन निकै सकारात्मक रह्यो । एसएनजी ००१ नामको यो औषधिको नतिजा सकारात्मक आएसँगै यसको शेयर मूल्यमा उछाल आयो । २० जुलाइमा कम्पनीको शेयर मूल्य आकाशिएर १९० पाउण्ड पुग्यो । सोमबारसम्म यो मूल्य २२४ पाउण्ड पुगिसकेको छ ।
परीक्षणका क्रममा यो औषधि दिएपछि बिरामी ठिक हुने सम्भावना २ देखि ३ गुणा बढ्यो । यससँगै कम्पनीको शेयर मूल्यमा उछाल आयो । यी तीन वैज्ञानिकको कम्पनीमा शेयर निकै कम छ । उनीहरुको कम्पनीमा शेयर ०.५६ प्रतिशतदेखि ०.५९ प्रतिशतसम्म छ । तर यति कम हिस्सेदारी हुँदा पनि उनीहरु झण्डै २५ करोड नेपाली रुपैयाँ बराबरका मालिक भएका छन् ।
Facebook Comment