योजना छिटोछरितो कार्यान्वयनमा लैजान निर्देशन

डिसी नेपाल
१४ साउन २०७७ २३:२६

हेटौंंडा। वाग्मती प्रदेशको भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले राष्ट्रसेवक कर्मचारीले नयाँ सोच, चिन्तनको साथै व्यवहार परिवर्तन गरेर जनतालाई लाभ हुने योजना छिटोछरितो कार्यान्वयनमा लैजान निर्देशन दिएका छन्।

वाग्मती प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा आयोजित वार्षिक समीक्षा गोष्ठी तथा कार्यसम्पादन सम्बन्धी करार सम्झौता सम्बन्धी कार्यक्रमको समापन समारोहमा उनले सरकारको सीमित स्रोतसाधनलाई सम्बन्धित कार्यालय प्रमुखले भौगोलिक अवस्थाको अनुगमन गर्न र आफ्नो कार्यशैलीलाई परिवर्तन गरी निश्चित समयभित्र जनतालाई सेवा प्रवाह गर्नेतर्फ केन्द्रीत हुनुपर्ने धारणा व्यक्त गरे।

मन्त्री फुयाँलले प्रदेशको १० जिल्ला जोड्ने पुष्पलाल चक्रपथको निर्माण र पोष्टबहादुर बोगटी भीमफेदी सुरुङमार्ग निर्माणको लागि सरकारले प्राविधिक प्रक्रिया शुरु गरी निर्माण कार्य सम्पन्न गर्न सरकारले सम्बन्धित निकायलाई बजेटसहित निर्देशन दिइसकेको बताए।

उनले स्थानीय निकाय, प्रदेशसभाका सदस्यलगायत राजनीतिक दलहरुको सिफारिसमा आएका राष्ट्रिय गौरवको आयोजना र पूर्वाधार विकासको योजनालाई कुनै पनि हालतमा हेरफेर नहुने र भौगोलिक अवस्थाको आधारमा स्थान परिवर्तन गर्नुपरेमा सरकारले आवश्यकता अनुसार योजना र स्थान परिवर्तन गरी पठाइने बताए।

मन्त्री फुयाँलले सरकारले प्रशासन यन्त्रलाई पारदर्शी, निष्पक्षका साथ जनतालाई सेवा प्रवाह गर्न आवश्यकीय निर्देशनसहित बजेट र जनशक्ति उपलब्ध गराउँदै आएकोले योजनाको निर्माणको क्रममा हुने अनियमिततालाई कडाइका साथ अनुगमन गरी कारवाही गरिने र आयोजनास्थल सम्बन्धित पक्षको हेलचक्र्याइबाट क्षति भएमा सम्बन्धित आयोजना प्रमुख र निर्माण व्यवसायीबाट क्षतिपूर्ति गराउन लगाइने जानकारी दिए।

सो अवसरमा भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तेजराज भट्टले प्रदेश अन्तर्गत रहेका विभिन्न कार्यालयलाई आ–आफ्नो क्षेत्रमा तोकिएको जिम्मेवारीलाई कार्यान्वय गर्न निर्देशन दिँदै सरकारको वार्षिक लक्ष्य अनुसार तोकिएको कार्यक्रमलाई हेरफेर नगरी सम्पन्न गर्न र जनतालाई दिइने सेवा प्रवाह गर्दा जनताकै भावना अनुसार अघि बढ्न सल्लाह दिए।

उक्त समीक्षा गोष्ठीमा आर्थिक मामिला तथा योजना मन्त्रालयका अधिकृत रविना कार्कीले प्रदेशको नीति योजना आयोग र सरकारले ल्याएको नीति कार्यक्रम, बजेटमा विनियोजित भएअनुसारको राष्ट्रिय गौरवको आयोजना र विकासको पूर्वाधारको योजनाको तोकिएको बजेट सम्बन्धित जिल्लाको विभिन्न कार्यालयमा पठाइएको तथा समयभित्र निर्माणकार्य प्रारम्भ गरी सम्पन्न गर्नेतर्फ कार्यालय प्रमुख नै जिम्मेवार हुनुपर्ने सल्लाह दिएका थिए। जिल्लाको भौगोलिक र प्राकृतिक अवस्थाको कारणबाट योजनालाई हेरफेर गर्नुपर्दाको कारणसहित आर्थिक मामिला तथा योजना मन्त्रालयमा सिफारिस आएमा तत्कालै ती योजनालाई हेरफेर गरी बजेट विनियोजित गर्ने उनले जानकारी दिए।

वाग्मती प्रदेशको भौतिक पूर्वाधारमन्त्री फुयाँल र मन्त्रालयका सचिव तेजराज भट्टबीच प्रदेशको १३ वटै जिल्लाका सडक, खानेपानी, सिँचाइ, यातायात कार्यालय, भवन, पूर्वाधार विकास यातायात कार्यालय र प्रादेशिक सडक कार्यालयका प्रमुखहरुले आजै हेटौंँडामा आर्थिक वर्ष ०७७÷७८ को लागि कार्यसम्पादन करार सम्झौतामा हस्ताक्षर भयो।

वाग्मती प्रदेशको १३ जिल्लामा यातायात पूर्वाधार कार्यालय १०, पूर्वाधार सडक कार्यालय पाँच, डिचिजन सिँचाइ कार्यालय १६, भवन कार्यालय दुइ, खानेपानी कार्यालय पाँच र डिभिजन सडक पाँच, प्रादेशिक सडक कार्यालय दुई र पूर्वाधार विकास निर्देशनालय एक वटा रहेको भौतिक पूर्वाधार विकास मन्त्रालयका प्रवक्ता नवीन सिँहले बताए।

दुई दिनसम्म सञ्चालन भएको वार्षिक समीक्षा गोष्ठीमा मन्त्रालय अन्तर्गत रहेको प्रदेशको १३ वटै जिल्लाको विभिन्न कार्यालय प्रमुखले सरकारले तोकिएको वार्षिक कार्यक्रम अनुसारको कार्यप्रगतिको प्रतिवेदन प्रस्तुत गर्दै चालु आवको लागि तोकिएको योजना कार्यान्वयनको लागि नयाँ मापदण्डअनुरुप कार्य गर्ने दृढता व्यक्त गरिएको उक्त मन्त्रालयका अधिकृत हरिप्रसाद उप्रेतिले जानकारी दिए। रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *