कोरोना संक्रमणबाट निको हुनेहरुलाई एक वर्षसम्म खतरा ! ज्यान समेत जान सक्ने
काठमाडौं। कोरोनाभाइरसबाट संक्रमित भएपछि भाइरसलाई जितेर निको हुन सफल हुने व्यक्तिहरुलाई त्यसको एक वर्षसम्म सेप्सिस रोगको खतरा हुन्छ । बेलायतका विशेषज्ञहरुले सेप्सिसको खतरा मध्यनजर गर्दै सरकार र आम सर्वसाधारणका लागि चेतावनी जारी गरेका छन् । विशेषज्ञहरुले सेप्सिस रोग भएको सुरुवातमै पहिचान गर्न पनि अपिल गरेका छन् ।
शरीरको रोग प्रतिरोधी प्रणालीले अत्याधिक प्रतिक्रिया जनाएको अवस्थामा सेप्सिस रोग हुन्छ । सेप्सिसका कारण बिरामीको शरीरको कुनै अंगले काम गर्न बन्द गर्न सक्छ र मृत्युमेत हुने खतरा रहन्छ । विशेषज्ञहरुका अनुसार कोरोनाभाइरले शरीरको रोग प्रतिरोधी प्रणालीलाई बिगार्न सक्छ जसका कारण भविष्यमा संक्रमण भएमा रोग प्रतिरोधी प्रणालीले ठिकसँग काम गर्ने छैन । यो स्थिति वर्षौंसम्म रहन सक्छ ।
बेलायती अखबार द सनको रिपोर्टअनुसार युके सेप्सिस ट्रस्ट (युकेएसटी)ले कोरोना संक्रमणबाट निको हुनेहरुलाई सेप्सिसका लक्षणहरुको बारेमा जानकारी जुटाउन र त्यस्ता लक्षण देखिएमा तत्कालै डाक्टरसँग सम्पर्क गर्न अपिल गरेको छ । युकेएसटीको एक रिपोर्टअनुसार कोरोनाका कारण अस्पतालमा भर्ना भएका हरेक ५ मध्ये एक बिरामीलाई एक वर्षसम्म सेप्सिस रोग लाग्ने गम्भीर खतरा हुन्छ ।
युकेएसटीको अनुमानअनुसार बेलायतमा करिब १ लाख यस्ता बिरामीहरु छन् जसले कोरोनाको उपचारपछि अस्पतालबाट विदा पाउनेछन् । यीमध्ये करिब २० हजार बिरामीहरुलाई सेप्सिसको गम्भीर खतरा रहनेछ । युकेएसटीले सरकारसँग पनि सर्वसाधारणलाई जागरुक गर्न अभियान संचालन गर्न अपिल गरेको छ ताकि सेप्सिस भएको सुरुवातमै थाहा हुन सकोस् र समयमा उपचार गर्न सकियोस् ।
युकेएसटीका संस्थापक डा. रोन डेनियल्सले कोरोनाको हल्का लक्षण भएका बिरामीहरुले पनि सेप्सिसको बारेमा जानकारी राख्नुपर्ने बताएका छन् । डाक्टरहरुका अनुसार सेप्सिस रोग लागेमा बोली लटपटाउने, मानसिक रुपमा अल्मलिने (कन्फ्युजन), मांशपेशी र जोर्नीहरु दुख्ने, पूरै दिनभर पिसाब नलाग्ने, सास फेर्न गम्भीर कठिनाइ हुने, अब म मर्दैछु जस्तो महसुस हुने र छालाको रंग बदलिने जस्ता लक्षण देखिन्छन् । डाक्टरहरुले समयमै रोगको पहिचान भएमा उपचार गरेर स्वस्थ हुन सकिने बताएका छन् ।
Facebook Comment