आफूलाई सम्झाउन आएका युवा नेतालाई बामदेवले भने ‘सम्झाउन होइन सम्झिन आएको ठान्नुस्’
काठमाडौं। आफूलाई सम्झाउन आएका पार्टीका युवा नेताहरुलाई नेकपाका उपाध्यक्ष बामदेव गौतमले उल्टै सम्झाएर पठाएका छन्। रामकुमारी झाँक्री, ठाकुर गैरेलगायतका युवा नेताहरु बुधबार बामदेवलाई सम्झाउन भन्दै उनको निवास भैसेपाटी पुगेका थिए।
सम्झाउन भन्दै आएका युवा नेताहरुलाई बामदेवले ‘सम्झाउन होइन सम्झिन आएको भन्ने ठान्नुस्’ भनेर पठाएका हुन्। यसअघि बामदेवले पार्टीमा जारी विवाद समाधान गर्नको लागि ६ बुँदे प्रस्ताव ल्याएका थिए।
युवा नेताहरुसँगको छलफलका क्रममा बामदेवले आफूले त्यो प्रस्ताव देशको हित र पार्टी जोगाउनको लागि ल्याएको भन्दै आफू यसबाट पछि नहट्ने अडान राखेका थिए। ‘म जीवनको उत्तराद्र्धमा आइसकें। अब मलाइ व्यक्तिगत लाभ लिनु छैन। यो प्रताव पार्टी बचाउनका लागि हो यसबाट पछि हट्दिन’ बामदेवले युवा नेताहरुसँग भनेका थिए।
गौतम निकट नेता बलराम बाँस्कोटाका अनुसार गौतमले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीको दम्भ र कार्यशैलीप्रतिको असहमति कायमै रहेको बताउँदै पछिल्लो संकटको अवस्थामा यति नगरे पार्टी विभाजन हुने घोषणा हुन मात्रै बाँकी रहेका कारण ६ बुँदे ल्याएको प्रस्ट पारे।
पार्टीभित्र असन्तुष्ट पक्ष र सत्तापक्ष दुवै सहमतिमा आउनुको विकल्प नभएको बताउँदै गौतमले दुवै पक्षको सहमति मात्रै फुटलाई रोक्न सक्ने बताए। गौतकले आफ्नो ६ बुँदे प्रस्तावले ओलीलाई दुवै पद र प्रचण्डलाई अधिकार दुवै दिने र यसरी दुवै पक्षलाई सन्तुष्ट पार्न सकिनेमा जोड दिए।
ठूला निर्णय गर्दा सरकारले पार्टीको सुझाव लिनुपर्ने र सामान्य निर्णयमा पार्टीले सरकारलाई हस्तक्षेप नगर्ने सहमति गरेर अगाडि बढ्दा दुवै पक्षबीच सन्तुलन कायम गर्न सकिने गौतमले दावी गरे।
अहिले असन्तुष्ट पक्षले आफूहरुसँग बहुमत भएको दावी गरिरहेकोप्रति लक्षित गर्दै गौतकले अंकगणीतीय हिसाबमा टाउको गनेकै आधारमा बहमुत नहुन सक्ने बताए। ‘अहिले बहुमत अन्तुष्ट पक्षसँग भएपनि त्यो अन्तिम होइन’, गौतमले भने ‘पार्टी फुटाएर हुने बहुमतको कुनै गणना नहुने दिन पनि आउँछ ।’
Facebook Comment