सबस्टेशनमा केबुल जलेपछि दुई जिल्लामा विद्युत् अवरुद्ध

सल्यान । शीतलपाटीमा रहेको ३३ केभी सबस्टेशनमा आगलागी हुँदा मङ्गलबारदेखि दुई जिल्लामा विद्युत् अवरुद्ध भएको छ । सबस्टेशनमा जोडिएको केबुल आगो लागेर जलेपछि सल्यान र रुकुम–पश्चिममा विद्युत् सेवा बन्द भएको छ ।
जिल्लामा मर्मत गर्ने जनशक्तिको अभाव भएकाले नेपालगञ्जबाट प्राविधिक आएर मर्मत कार्य शुरु गरिएको नेपाल विद्युत् प्राधिकरण सल्यान वितरण केन्द्रका प्रमुख अर्जुनकुमार पोखरेलले जानकारी दिए। आगलागीबाट कति क्षति भएको छ, भन्ने अहिलेसम्म थाहा नभएको पोखरेलले बताए। “अहिले मर्मतको काम शुरु भएको छ आगलागीले केबुल मात्र जलेको भए आजबाट नै विद्युत् सुुचारु हुन्छ, ट्रान्समिटरमा क्षति भएको भए विद्युत् सुचारु हुन केही दिन लाग्नसक्छ”, पोखरेलले भने।
लगातारको वर्षाले मर्मत कार्यसमेत प्रभावित भइरहेको उनको भनाइ छ । मङ्गलबार राति सबस्टेशनमा रहेको ट्रान्समिटरमा जोडिएको केबुलमा आगलागी भएको थियो । आगलागीबाट केबुल पूर्णरुपमा जलेको प्राधिकरणको भनाइ छ । जिल्लामा वर्षात् शुरु हुने वित्तिकै विद्युत् अनियमित हुँदै आएको छ । शीतलपाटीमा सबस्टेशन सञ्चालनमा आएपछि समस्या समाधान हुने भनिए पनि अनियमितताको समस्या जस्ताको तस्तै छ ।
Facebook Comment