पक्षघातका रोगीको पीडा, न अपाङ्गता भत्ता न ह्वील चियर
झापा । मेचीनगर नगरपालिका–३ दोकान डाँडाका पक्षघातका रोगी १६ वर्षीय क्षितिज राईको दैनिकी ह्वील चियर अभावमा मुढामा बसेर बित्ने गरेको छ।
बिहान उज्यालो भएसँगै हजुरआमाले घरको सिकुवामा मुढामा राखिदिएपछि साँझ नपरेसम्म उनको सम्पूर्ण समय त्यही बित्ने गरेको हो। उमेर १६ वर्ष भए पनि उनी हेर्दा चार÷पाँच वर्षका देखिन्छन् । मुखबाट २४सै घण्टा ¥याल चुहिरहन्छ । राम्रोसँग टाउको ठाडो नहुने उनको बोलीसमेत आउँदैन । उनको हात खुट्टा पनि चल्दैनन।
जन्मिएको सात महिनामै उनलाई छाडेर हिँडेका बाबुको हालसम्म अत्तोपत्तो छैन । आमा रोजगारीको सिलसिलामा कतारमा छिन्। उनलाई मावलकी हजुरआमाले हेरचाह गर्दै आएकी छन्। ६७ वर्षीया हजुरआमा चन्द्रमाया सुब्बाले भनिन्, “जन्मिँदा साढे चार किलोको थियो मेरो नाति । सात महिनाको हुँदा निमोनिया भयो भन्दै डाक्टरले सुई हानिदिँदा नातिको यो हालत भयो ।” नातिलाई के भएको हो भन्ने पनि उनलाई पत्तो छैन । पक्षघात भएका नातिलाई स्याहार्दै १६ वर्ष बिताइसकेकी चन्द्रमायाले भनिन्, “ह्वील चियरसम्म पाए पनि बाहिरभित्र गराउन सजिलो हुने थियो । कति दिन मुढालाई उल्टाएर नातिलाई राख्नु ।” ठूलो प्लाष्टिकको डोरीले बुनेको मुढालाई उल्टाएर उनलाई वर्षांैदेखि राखिँदै आएको छ ।
क्षितिजलाई अपाङ भएको कार्डका लागि वडाले सिफारिस नदिँदा समस्या भएको हजुरबुबा कुमार लिम्बूले बताए। “धेरैपटक वडाध्यक्षलाई भन्यौँ”, उनले भने, “खै चासो नै दिनुभएन । कहाँ जाने कसलाई भन्ने ।” अपाङ्गता भएको कार्डसमेत बने पनि सरकारले दिने सुविधाले उनलाई राहत पुग्ने बाहुनडाँगी जेसीजका कार्यकारिणी उपाध्यक्ष देबु बानियाँले बताइन्। पटकपटक जनप्रतिनिधि र अपाङ्गताका क्षेत्रमा काम गर्नेलाई कार्ड र ह्वील चियरका लागि अनुनय विनय गर्दासमेत बेवास्ता गरेको बानियाँको आरोप छ । अपाङ्ग समन्वय समिति मेचीनगरका सदस्य गङ्गा सङ्ग्रौलाले उनका बारेमा जानकारी लिएर हालसम्म कोही पनि नगरपालिका नआएको बताइन्।
वडाले सिफारिस गरेको कागजात र डाक्टरले जाँच गरेर छुट्याइदिएको अपाङ्गताको वर्गका आधारमा भत्ता वितरण गरिने जानकारी दिँदै उनले भनिन्, “१६ वर्षभन्दा सानो उमेर भएमा अनिवार्य जन्मदर्ता र त्योभन्दा माथिको उमेर भएमा सिफारिस गर्दा अनिवार्य नागरिकता चाहिन्छ ।” दुवै नभएका कारण उनी भत्ताबाट वञ्चित बन्न पुगेको भए बुझेर समन्वय गर्ने उनले बताइन्।रासस
Facebook Comment