ओली–प्रचण्डबीच छलफल हुँदै, महाधिवेशन कि केन्द्रीय कमिटी बैठक ?

डिसी नेपाल
१९ साउन २०७७ ८:०५

काठमाडौं। झण्डै एक हप्ताको संवादहीनता पछि आइतबार नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच भएको छलफलले सोमबार (आज) पनि निरन्तरता पाउने भएको छ। दुई अध्यक्षबीच सोमबार विहान नौ बजे प्रधानमन्त्री निवासमा छलफल गर्ने तय भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए।

दुई अध्यक्षबीच आइतबार झण्डै तीन घण्टा छलफल भएको थियो। साउन १३ गते प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीले स्थायी कमिटीको बैठक एकतर्फी रुपमा स्थगित गरेपछि बहुमत सदस्यको सहभागी बैठकको अध्यक्षता दाहालले गरेका थिए।

त्यसपछि दुई अध्यक्षबीच संवाद हुन सकेको थिएन। आइतबार अध्यक्ष दाहाल वरिष्ठ नेता झलनाथ खनाललाई लिएर बालुवाटार पुगेपछि प्रधानमन्त्री ओलीले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई आफूसँग राखेर दाहालसँग छलफल गरेका थिए।

‘यसअघि दुई भाँचिएको सम्बन्ध आइतबारको छलफलपछि पुन जोडिएको छ,’ नेता नेम्वाङले भने, ‘अहिलेको अवस्थामा यसलाई ठोस सहमति मान्नुपर्छ।’

आइतबार भएको छलफलमा दुई अध्यक्षबीच सहमति गरेर जानुको विकल्प नभएको निष्कर्षमा दुवै अध्यक्ष पुगेका छन्। ‘उहाँहरुबीच हार्दिकतापूर्ण रुपमा छलफल भयो,’ नेम्वाङले भने। पछिल्लो समयमा नेकपामा प्रधानमन्त्रीको राजीनामाको विषय स्थायी कमिटीमा प्रवेश गरेपछि विवाद उत्कर्षमा पुगेको छ।

साउन तीन गते बसेको सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेको अध्यक्ष ओलीले महाधिवेशनको प्रस्ताव गरेका थिए। उक्त प्रस्तावमा दाहालले पनि सहमति जनाएका थिए। तर माधव नेपाल पक्षधरले चर्को विरोध गरेपछि दाहाल पछि हटेका थिए।

त्यसपछि दाहालले स्थायी कमिटीले ठोस निर्णय गर्न नसकेको भन्दै केन्द्रीय कमिटीमा जानु पर्ने अडान राख्न थालेका छन् भने प्रधानमन्त्री ओलीले चैतमा महाधिवेशन गर्ने निर्णय केन्द्रीय कमिटीले गरिसकेको भन्दै महाविधेशनमा जानुपर्ने अडानमा छन्। दुवै पक्ष आफ्नो अडानमा कायम रहँदा सोमबार अध्यक्षद्वयबीच छलफल हुन लागेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *