कोरोना, पत्रकार र अनुभव

डिसी नेपाल
१९ साउन २०७७ १२:२३

काठमाडौं। विश्व अर्थतन्त्रमा पहिलो स्थानका लागि प्रतिष्पर्धा गरिरहेको राष्ट्रबाट यात्राको प्रारम्भ गरेको अज्ञात रोग कोभिड–१९ ले विश्वको जनजीवन प्रभावित पारेको छ। कोरोना भाइरसको वंशहरु रुपान्तरण हुँदै सन् २०१९ को अन्त्यमा आफ्नो अनुहार विश्व रंगमञ्चमा मञ्चनको कारण यसको न्वारन नै कोभिड–१९ रहन गयो।

दृश्यविनाको रंग मञ्चमा ताण्डव देखाउँदै विश्वको यात्रामा भद्रपुर्ण तरिकाले आश्र्चय चकितपार्दै चर्चा बढुल्दै निरन्तर अगाडि बढी रह्यो, कोभिड–१९। गरिब विपन्नलाई हेर्दै नहेरी हेपाहा प्रबृतिका साथ धनी, सम्पन्न राष्ट्र र मान्छेलाई साक्षात्कार गर्दै निरन्तर अगाडि बढ्यो।

कोभिड–१९ को अहिले सम्मको फैलावटलाई नियाल्दा गरिब तथा विपन्न राष्ट्रमा यसको संक्रमणको दर धनी तथा सम्पन्न राष्ट्रको तुलनामा कम रहेको छ। गरिब तथा बिपन्न राष्ट्रमा कोभिड–१९ को संक्रमण बढेको भए धनी राष्ट्रले आफ्नो प्रभुत्व जमाउने प्रयास गर्थे होला। आफ्नो शक्ति प्रर्दशनका साथै रोगमापनि राजनीति शुरु गर्थे होला। तर आफैं यसको शिकार भएको पत्तै पाएन।

विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ को पञ्जाबाट नेपाल पनि अछुतो रहन सकेको छैन। रोग नियन्त्रण तथा रोकथामका लागि सरकारले ८० दिनसम्म जारी गरेको लकडाउनका कारण सडकहरु बन्द रहे। अत्यावश्यक वाहेकका पसलका सटर, उद्योग कलकारखाना, व्यापार व्यवसाय, सरकारी, गैरसरकारी कार्यालय बन्द रहे। अत्यावश्यक सेवामा रहेका मिडिया भने लकडाउनमा बन्द भएनन्।

लकडाउनका समयमा अत्यावश्यकीय सेवाबाहेक सम्पूर्ण कार्य पूर्ण रुपमा बन्द अवस्थामा रहेका थिए। तर त्यस्तो अवस्थामा पनि समाचार मुलुक संस्थाले निरन्तर काम गरिरहे। त्यो कार्यमा महत्वपूर्ण योगदान रहेको छ सञ्चारकर्मी अर्थात पत्रकारको।

पत्रकारिता भनेको लगनको साँढे होइन, चैत्र वैशाखको हुरी होइन, वर्षातको बाढी होइन, विभिन्न समयमा महामारीका रुपमा देखिने संक्रमण रोग होइन। यो त यर्थातता हो। विश्वसनीयता हो र समाजलाई सहीमार्गमा डोर्याउने चित्र हो। चलचित्रमा देखिने पटकथा भन्दा भिन्न छ यसको भूमिका।

पत्रकारहरु सधैँ द्वन्द्वका बीचमा रहेका हुन्छन् बन्द, हड्ताल, अन्दोलन कुनैपनि राजनीतिक परिवर्तन होस् अग्रमोर्चामा पत्रकार जगत् हुने गरेको छ। सत्यतथ्य समाचारमा पत्रकार फिल्डमा नपुगी हुँदैन। पत्रकार भनेको परिवर्तनको साँक्षी हो। जसले नाकारत्मक कुरालाई निरुत्सहान र सकारात्मक कुरामा मलजल थप्न जनमतको सृजना गर्न सघाउ पुर्याउने काम गर्दछ।

विगतमा भन्दा अहिलेको वर्तमान समय सबैका लागि निकैनै फरक किसिमको रहेको छ। पत्रकारले समेत निकै जोखिमका साथ काम गरिरहुनु परेको यथार्थता सबैका सामु प्रष्टै देखिन्छ। समाचार संकलनका लागि फिल्डमै जानुपर्ने बाध्यताका कारण एकाध दैनिक पत्रिकाले आफ्नो प्रिन्ट संस्करण बन्द गरेपनि उनीहरुले अनलाइन भर्सन प्रकाशनलाई भने बढी जोड दिएका छन्।

लकडाउनमा घरमै बन्द भएर बसेका पाठकलाई सबैभन्दा छिटो र सजिलै सूचनादिने माध्यम बनेको छ, अनलाइन समाचार माध्यम। हातमा रहेको स्मार्टफोनबाट तथा सामाजिक सञ्चालमा आउने लिंकबाट तुरुन्तै समाचार पढ्न पाइने भएपछि फुर्सदका रहेका आम नागरिकलाई अनलाइन समाचार माध्यम सूचना जानकारी थाहा पाउने भरपर्दो माध्यमभएको छ।

यद्यपि कोरोना भाइरसको त्रास र संक्रमणका समयमा सामाजिक सञ्जालमा झुटा समाचार पनि उत्तिकै फैलिरहेको छ। डिजिटल मिडियाप्रति अहिले पाठकहरुको विश्वास बढेका बेलात्यस्ता भूmटा समाचारले पाठकलाई दिग्भ्रमिथ पनि गरेको छ।

कोरोनाको औषधि फेला! नेपालको फलानो ठाँउमा कोरोना संक्रमित फेला! लसुन खाए कोरोना लाग्दैन! कोभिड १९ का कारण यतिको मृत्यु! जस्ता भ्रामक समाचार पनि सामाजिक सञ्जलमा भेटिने गरेका छन्। जुन काममा निरन्तर औचित्यहीन मेहनत खर्च गरिरहेका छन् युट्युवर।

हातमा बुम र क्यामेरा बोकेर पत्रकारिताको सामान्य सिद्धान्तसम्म पनि नजानेकाले पत्रकारको ट्यागलाई प्रहरीले अपराधीलाई गरे जस्तै व्यवहार गर्दछन्। राज्यका तीन किसिमका काम न्यायपालिका, कार्यपालिका र व्यवस्थापिकाले गर्ने काम गरिदिन्छ।

कानुनको निर्माण, ब्याख्या र सजाय सम्मको काम एकै साथ मिनेट भरमै गरिदिन्छन्। नेपालमा अहिलेका पत्रकार भनाउँदा ‘पत्रुकार’ हरुले गुप्तचरदेखि गोताखोर, कानुनको निर्माणदेखि न्यायनिरुपण, इतिहासदेखि वर्तमान र भविष्यको समेत एकै साथ व्याख्या विश्लेष्ण र निराकरण गर्ने काम गर्दिन्छन्।

कुनै असल पत्रकारले महिनौँ लगाएर गरेको खोजमुलक पत्रकारितालाई आफ्नै मेहनत भन्ने अर्थात सूर्य भन्दा पहिला झुल्केर घाँटि चिच्याइ चिच्याइ कराएर भन्ने गर्दछन्।

अहिलेका जनता विवेकी छन्। ‘पत्रुकार’ भन्दा बढी अध्ययनशील छन्। पत्रकारिता, समाचार र पत्रकारलाई चिनेका छन्। दलका अध्यक्षबाट मुठी कसेर कसम खाने र राजनीतिक दलका छाता संगठनको नाममा युनियन बनाउने पत्रकारले कतिसम्मको निस्पक्षता काम गर्दछ?

विद्यालय तथा विश्वविद्यालयका विभिन्न श्रेणीमा संर्घष गर्दै लडीबुडी गरी किनारा लागेकाले पत्रकारिता क्षेत्र रोजेका ‘पत्रुकार’ ले समाचारको मूल्य मान्यता के बुझ्छन्? यूट्युव ट्रेण्डिङ र भिजिटर बढाउने नाममा भारतका सञ्चारकर्मीसँग दोरोही खेल्दछन्।

सञ्चार जगतमा नेपालका यूट्युव शिक्षक बनेका भारतका ब्रेकिङ् न्यूजका सञ्चारकर्मी। जसले आफ्नो क्षमता प्रदर्शन गरी देखाउने गर्दछन्, चमत्कार! चमत्कारितामा जे पनि हुनसक्छ। जादुको छडी चल्न सक्छ। विष्णुको सुर्दशनचक्र चल्न सक्छ। आविष्कार नै नभएको शस्त्र चल्न सक्छ।

अनि शुरु हुन्छ चमत्कारिता! जसका लागि जन्मजात शक्ति प्रदर्शन गर्दछन्। घण्टौं एकोहोरो बोल्न सक्दछन्। तिललाई सगरमाथामा परिणत गरी पत्ता लगाइ दिन्छन् कोभिड–१९ को औषधि। अनि त्यस बेला मन्दगतिको हावापनि रुप फेरेर बनि दिन्छ, सुनामी।

सुनामीमा उडेर जान्छ नैतिकता। नैतिकता नै नांगिएपछि आफैं बिलाउने गर्दछ तथ्य, तथ्याङ्क र यार्थाथताका कुरा। अनि सुरु हुन्छ भ्रमका खेती। खेतीपाती गर्ने ‘पत्रुकार’ ले गर्दछन् सभ्य र शिष्टतामा जीवन बिताएका नैतिकताको निष्ठामा काम गरिरहेका पत्रकारकोसमेत इज्जतको सफाया।

पत्रकारिता भनेको लगनको साँढे होइन, चैत्र वैशाखको हुरी होइन, वर्षातको बाढी होइन, विभिन्न समयमा महामारीका रुपमा देखिने संक्रमण रोग होइन। यो त यर्थातता हो। विश्वसनीयता हो र समाजलाई सहीमार्गमा डोर्याउने चित्र हो। चलचित्रमा देखिने पटकथा भन्दा भिन्न छ यसको भूमिका।

उहिले पहिले छोरो बिग्रे पुलिसमा, छोरी बिग्रे नर्समा भन्थे। अब त यस्तो दिन नआउला भन्न सकिँदैन– छोरा छोरी बिग्रे सञ्चरकर्मी, पत्रकार।’ सर्पका खुट्टा सर्पले नै देख्छ भने जस्तै पत्रकार भित्रका गैरपत्रकारलाई पत्रकारले नै चिन्दछ। सबै पत्रकार एकै किसिमका हुँदैनन्। केहीका कारण सबै बद्नामको शिकार हुनु पनि हुँदैन।

आम नागरिकलाई सत्यतथ्य समाचार सम्प्रेषण गर्नु पत्रकारको पेशागत धर्म हो। यतिबेला पत्रकारले व्यावसायिकता भन्दा माथि उठेर सामाजिक दायित्व पूरा गरिरहेका पनि छन्। कोभिड–१९ को सङ्क्रमण रोक्न सरकारले गरेको लकडाउनसँगै स्थलगत रुपमा समाचार संकलनमा खटिएका पत्रकारले विभिन्न समस्याहरु झेल्नुपरेको छ।

कोरोना भाइरसका कारण जटिल बन्दै गएको वर्तमान अवस्थामा आफ्नो ज्यानको जोखिमसँगै नागरिकलाई सुसूचित गराउने पत्रकार घर धनीदेखि घरपरिवारका सदस्यले गर्ने व्यवहारले पत्रकारिता पेशाबाट टाढा बस्ने कि काम गर्ने भन्ने दोधार मानसिकताबाट गुज्रिएका छन्। त्यसै माथि पत्रकारिता पेसाप्रति निरुत्साहित पुग्ने काम स्वयम संचार गृहले गरिरहेका छन्।

आफ्नो समय, स्वास्थ र शरीरलाई ख्यालै नगरी सञ्चार माध्यममा समर्पित गरेका पत्रकारले अहिको विषम पस्थितिमा तलब कटौती मात्रै नभइ जागिर नै खोसिनुसम्मको इनाम पाउनु परेको छ। यो कार्यमा ठूला सञ्चार गृह बढी रहेका छन्।

अहिलेको अवस्थाले पत्रकारलाई मानसिक रुपमा नै कमजोर बनाएको छ। मान्छे स्वभावैले आफ्नो ज्यानको माया गर्ने प्राणी हो। तर अहिले ज्यानको माया एकातिर राखेर व्यवसायिकतासँग सामाजिक उत्तरदायित्वमा पत्रकार पनि छन्। पत्रकारलाई पेसाप्रतिको मनोबल वढाउन सरकारसँगै स्वयम सञ्चार गृहले जिम्मेवारी पूर्वक काम गर्नुपर्ने हुन्छ।

ग्लोबल स्तरको सूचना सामग्री मिडियामा आउन सक्ने बनाउनका लागि पत्रकारहरुलाई पनि सक्षम बनाउन आवश्यक छ। नेपालमा मिडियाको संख्या बढाउने भन्दा गुणस्तरीय सूचना बढाउनुपर्ने अवश्यकता देखिन्छ। मिडियाले पनि अब आफूलाई अब्बल साबित गराउनका लागि गुणस्तरीय सामग्री पस्कनुपर्ने हुन्छ।

त्यसका लागि दक्षजनशक्ति कित मिडिया आफैले तयार पार्नुपर्ने हुन्छ कि त दक्षजनशक्ति भर्ना लिन प्रतिस्पर्धा बढाउनुपर्छ। साथै राम्रो काम गर्नेलाई काममा प्रोत्साहन र गलत काम गर्नेलाई सजायको दायरामा ल्याउनु सम्बन्धित निकायको दायित्व र कर्तव्य देखिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *