एसिड आक्रमणका पीडितलाई उपचार र रोजगारीको व्यवस्था गर्न निर्देशन

डिसी नेपाल
१९ साउन २०७७ २०:०७

काठमाडौं। संसदीय समितिले एसिड आक्रमण घटनाका पीडितको उपचार गर्न सरकारलाई निर्देशन दिएको छ। सोमबार बसेको संसदको महिला तथा सामाजिक समितिको बैठकले यस्तो निर्देशन दिएको एसिड आक्रमणका पीडितहरुसहित सोमबार समितिको बैठक बसेको थियो।

समितिकी सभापति निरुदेवी पालले एसिड आक्रमणको घटनाका पीडितहरुको सरकारले उपचार गर्नुपर्ने निर्देशन दिइएको जानकारी दिइन्। उनले डिसी नेपालसँग भनिन्, ‘उपचारको मात्र कुरा नभएर उनीहरुको रोजगारी, उच्च शिक्षा र समाजमा पुनःस्थनाको जिम्मेवारी पनि राज्यले लिनुपर्छ भनेर सोहीअनुसारको निर्देशन दिइएको छ।’

समितिको बैठकमा एसिड आक्रमणका पीडितहरुले आक्रमणकारीलाई कडा सजाय हुनुपर्ने माग गरेका थिए। उनीहरुले सजाय कम हुँदा यसप्रकारका घटनाहरु बढिरहेको भन्दै कडा सजाय हुनुपर्ने तर्क गरेका थिए। उनीहरुले अपराधीलाई जन्मकैदको सजाय हुनुपर्ने माग गरेका थिए। हालको कानुनी व्यवस्थाअनुसार अपराधीले अधिकतम ८ वर्षको कैद सजाय पाउँछन्। त्यो पनि रातदिन गरेर ४ वर्षमै अपराधीहरु छुट्ने गरेको भन्दै एसिड आक्रमणका पीडितहरुले कानुनमा सुधारको आवश्यकता औंल्याएका थिए।

हालै ओखलढुंगाकी पवित्रा कार्कीमाथि एसिड आक्रमण भएको थियो। उनको कीर्तिपुरस्थित अस्पतालमा उपचार भइरहेको छ। नेपालमा वर्षेनी एसिड आक्रमण जस्ता जघन्य अपराधका घटनाहरु भइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *