अयोध्यामा राम मन्दिरको शिलान्यासमा जनकपुरको जानकी मन्दिरको सहभागिता नहुने
काठमाडौं। भारतको अयोध्यामा आज प्रधानमन्त्री नरेन्द्र मोदीले राम मन्दिरको शिलान्यास गर्दैछन् । मन्दिरको शिलान्यासमा सीमित व्यक्तिहरु मात्र सहभागी हुन पाउनेछन् । राम मन्दिरसँग सम्बन्धित विशिष्ट महत्वका व्यक्तिहरुलाई मात्र आजको कार्यक्रममा सहभागी गराइँदैछ । करिब २ सय जना मात्र सहभागी हुन पाउने आजको कार्यक्रममा नेपालको जनकपुरस्थित जानकी मन्दिरको भने सहभागिता हुने छैन ।
जानकी अर्थात सीता भगवान रामकी पत्नी हुन् । राम मन्दिरको शिलान्यासमा रामकी धर्मपत्नी सीताको मुख्य मन्दिरको सहभागिता हुनुपर्ने मानिएको थियो । यसै अनुसार भारतको तर्फबाट जानकी मन्दिरका महन्त राम तपेश्वर दासलाई पनि निम्तो आएको थियो । निम्तो पाएर अयोध्या जान हिँडेका महन्त दास नेपाल भारत सीमाबाटै फर्किएका छन् । कोरोना महामारीका कारण सीमा सील गरिएकोले अधिकारीहरुले सीमापारी जान अनुमति नदिएपछि उनी फर्किएका हुन् ।
Facebook Comment