आजदेखि जोर-बिजोर सवारी सञ्चालन प्रणाली लागू

डिसी नेपाल
२२ साउन २०७७ ७:२३

काठमाडौं। सरकारले काठमाडौँ उपत्यकामा सञ्चालन हुने निजी तथा सार्वजनिक सवारीमा पुनः जोर बिजोर प्रणाली लागू गरेको छ। सरकारले बन्दाबन्दीको स्वरुप परिवर्तन गरी आर्थिक गतिविधि बढाउन प्रयास गरे पनि पछिल्लो समय कोरोना सङ्क्रमण बढेपछि आवागमनमा कडाइ गर्दै सामूहिक भेला, भोज, सेमिनारमा कडाइ गरेको हो।

गृह मन्त्रालयद्वारा विज्ञप्तिअनुसार, बिहीबारदेखि लागू हुनेगरी काठमाडौँ उपत्यकालगायत दुई सयभन्दा बढी कोभिड–१९ सङ्क्रमित पाइएका जिल्लाहरूमा समेत जोर बिजोर प्रणाली लागू गरिएको छ। सरकारले अघिल्लो बिहीबारदेखि नै लागू हुने गरी काठमाडौँ उपत्यका प्रवेश गर्ने अत्यावश्यक ढुवानीबाहेक अन्य सबै यात्रुवाहक सवारी साधनलाई बेलुका ७ बजेदेखि बिहान ७ बजेसम्म आवागमन निषेध गरेको थियो।

गृहले सो निर्णयलाई कडाइका साथ लागू गर्न सबै जिल्ला प्रशासन कार्यालय तथा सुरक्षा निकायलाई निर्देशन दिएको छ। यस्तै, दुई सयभन्दा बढी सङ्क्रमित पाइएका जिल्लामा समेत बेलुका ९ बजेदेखि बिहान पाँच बजेसम्म आवागमन बन्द गरिने भएको छ।

यस्तै, कोभिड–१९ को सङ्क्रमण जोखिम विश्लेषण गरी जोखिम बढेको क्षेत्ररस्थानलाई जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) ले निर्णय गरी तुरुन्त बन्द गर्न र कोरोना परीक्षणको थप व्यवस्था गर्न समेत गृहले निर्देशन दिएको छ।

सरकारले आवागमन अनुमति पाएका व्यक्तिबाहेक अन्तर्राष्ट्रिय सीमा नाकामा हुने आवतजावतलाई निषेध गर्ने निर्णय गरेको छ। त्यस्तै, होटल, रेष्टुरेन्टमा हुने सामूहिक भोज, पार्टी, सेमिनार वा अन्य सामूहिक भेलाजस्ता कार्यलाई समेत निषेध गरेको छ। गृहले जनस्वास्थ्य मापदण्ड तथा गृह मन्त्रालयद्वारा जारी सुरक्षा मापदण्डलाई कडाइका साथ पालना गराउनसमेत निर्देशन दिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *