कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या सात लाख भन्दा धेरै
काठमाडौं। विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड ८८ लाख ७१ हजार ९४ पुगेको छ।
तीमध्ये १ करोड २० लाख ५० हजार ७२२ संक्रमित उपचारपछि निको भएका छन् भने ७ लाख ८ हजार २४ जनाको मृत्यु भएको छ। फ्रान्समा बुधबारमात्रै १ हजार ६ सय ९५ नयाँ संक्रमित फेला परेका छन्। फ्रान्समा हालसम्म ३० हजार भन्दा धेरैको मृत्यु भइसकेको छ।
न्युज एजेन्सी रोयर्टसका अनुसार विश्वमा प्रत्येक १५ सेकेण्डमा कोरोनाबाट एक जनाको मृत्यु भइरहेको छ। प्रत्येक एक घण्टामा २४७ र २४ घण्टामा करिव पाँच हजार ९ सय जनाको मृत्यु भइरहेको छ।
अमेरिका, ब्राजील, भारत र मेक्सिकोमा संक्रमण तीव्र रुपमा फैलिरहेको छ। अमेरिका र ल्याटिन अमेरिकी देश कोरोनाको एपिसेन्टर बनेका छन्। ती मध्ये ब्राजील र मेक्सिको सबैभन्दा बढी प्रभावित बनेका छन्। ब्राजीलमा हालसम्म २८ लाख भन्दा धेरै र मेक्सिकोमा ४ लाख भन्दा धेरै संक्रमित भएका छन्।
यसैबीच गूगलले पनि कोरोना भाइरसप्रति मानिसहरुलाई सचेत गराउन थालेको छ। कम्पनीले आफ्नो डूडलमार्फत मानिसहरुलाई मास्क लगाउन, सामाजिक दूरी कायम गर्न अपिल गरेको छ। गूगलले आफ्नो सबै अक्षरलाई मास्क लगाएर आपसमा सामाजिक दूरी कामय गर्न आग्रह गरेको छ।
यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोरियो गुटेरसले कोरोना महामारीका कारण बालबालिकाको अध्ययनमा गम्भीर असर परेको बताएका छन्।
उनले जुलाई देखि १६० मुलुकका स्कुल बन्द रहेको भन्दै स्कुल बन्द हुँदा सय करोड बालबालिकाको पढाई प्रभावित भएको बताए। उनले बालबालिकालाई सुरक्षित रुपमा स्कुल ल्याउनु सबैको प्राथमिकता हुनुपर्ने उनले बताए।
Facebook Comment