झुटो सूचना फैलाएको भन्दै फेसबुकले पहिलो पटक डोनाल्ड ट्रम्पलाई कारवाही गर्‍यो

डिसी नेपाल
२२ साउन २०७७ ९:००

काठमाडौं। सामाजिक संजाल फेसबुकले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध पहिलो पटक एक्सन लिएको छ । फेसबुकले गलत सूचना फैलाएको र आफ्नो नीति विपरित भएको भन्द्र ट्रम्पको पेजको एउटा पोस्ट हटाइदिएको छ । यसअघि ट्रम्पले गलत सूचना फैलाउँदा पनि कुनै कारवाही नगरेको भन्दै फेसबुकको निकै आलोचना भएको थियो । द गार्डियनको समाचार अनुसार फेसबुकले हटाएको भिडियोमा ट्रम्पले बालबालिकाहरु कोभिड १९ बाट इम्युन भइसकेको दावी गरेका थिए ।

पछिल्लो समय बालबालिकाहरु पनि कोरोनाभाइरसबाट संक्रमित हुने र वयस्कको तुलनामा हल्का लक्षण देखिए पनि इम्युन नहुने तथ्य सार्वजनिक भइसकेका छन् । केही बालबालिकाहरु त गम्भीर रुपमा बिरामी भएको र केहीको मृत्यु समेत भएको तथ्यांक छ । ‘यो भिडियोमा मानिसको एक समूह इम्युन भएको भन्दै गलत दावी गरिएको छ जुन हाम्रो नीतिको उल्लंघन हो’ फेसबुकका प्रवक्ताले भनेका छन् ।

राष्ट्रपति ट्रम्पको निर्वाचन प्रयोजनका लागि बनाइएको ट्वीटर अकाउन्टमा पनि यो भिडियो पोस्ट गरिएको थियो जसका कारण ट्वीटरले यो ट्वीटर ह्याण्डललाई पनि कारवाही गरेको छ । ‘यो खाताधारकले पहिले यो ट्वीट हटाउनुपर्छ अन्यता अर्को ट्वीट गर्न पाउने छैनन्’ ट्वीटरले भनेको छ । सोमबार एक प्रेस मिटका क्रममा ट्रम्पले बालबालिका र कोरोनाभाइरसका बारेमा आफ्नो गलत दावी दोहोर्याएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *