लहानमा निषेधाज्ञा जारी

लहान । सिरहाको लहान नगरपालिकाले नौ दिनका लागि नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ। पछिल्लो समय नगरपालिका वडा नं ८ का एक जनासहित नगर क्षेत्रका २६ मा कोरोना सङ्क्रमण पुष्टि भएपछि आजदेखि यही साउन ३२ गतेसम्म नगर क्षेत्रमा निषेधाज्ञा जारी गरेको नगरपालिकाले जनाएको छ । छिमेकी जिल्ला सप्तरीमा तीव्ररूपमा सङ्क्रमण फैलिरहेकाले छ।
नगरपालिका कार्यपालिकाको आपत्कालीन बैठकले नगर क्षेत्रमा निषेधाज्ञा लगाउने निर्णय गरेको नगर कार्यपालिकाका सदस्य तथा वडा नं ७ का वडाध्यक्ष राकेशरोशन गुप्ताले जानकारी दिए। वडा ८ का सङ्क्रमित व्यक्तिको सम्पर्कमा आएकाको पनि स्वाब सङ्कलनको कार्य भइरहेको स्वास्थ्य शाखा प्रमुख रामसुन्दर यादवले बताए।
यसअघि मिर्चैया नगरपालिकाले बिहीबारदेखि यही साउन ३२ गतेसम्म नगर क्षेत्रमा लकडाउन गरेको छ । मिर्चैया–६ का दुई स्वास्थ्यकर्मीसहित तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएपछि सङ्क्रमण थप फैलिन नदिन नगर क्षेत्रमा नगरपालिकाले लकडाउन गरेको नगरप्रमुख श्रवण यादवले जानकारी दिए।रासस
Facebook Comment