अगष्ट १० सम्म बजारमा ल्याउने भनिएको रुसको भ्याक्सिनको ट्रायल आधिकारिक रुपमा पूरा
काठमाडौं। रुसले आफ्नो कोरोनाभाइरसविरुद्धको भ्याक्सिनको क्लिनिकल ट्रायल औपचारिक रुपमा पनि पूरा भएको बताएको छ । रुसको सरकारी मिडिया स्पुतनिकका अनुसार गेमालेया इन्स्टिच्युटले बनाएको यो भ्याक्सिनको क्लिनिकल ट्रायल पूरा भएको अन्य २ भ्याक्सिनको क्लिनिकल ट्रायलको लागि समेत अनुरोध आएको स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले बताएका हुन् । मुराश्कोले अब यो भ्याक्सिन कहिले बजारमा ल्याउने भन्ने कुरा गेमालेयाका वैज्ञानिकहरुमा निर्भर गर्ने बताएका छन् ।
यसअघि रुसी अधिकारीहरुलाई उद्धृत गर्दै अमेरिकी समाचार संस्था सीएनएनले रुसको यो भ्याक्सिन १० अगष्ट वा सोभन्दा पहिले नै बजारमा ल्याउने तयारी भइरहेको बताएको थियो । यो भ्याक्सिनप्रति २० भन्दा बढी देश र केही अमेरिकी कम्पनीहरुले पनि चासो देखाएको रुसी अधिकारीहरुले सीएनएनलाई बताएका थिए । अब क्लिनिकल ट्रायल औपचारिक रुपमा पूरा भइसकेको स्वास्थ्य मन्त्रीले घोषणा गरिसकेको अवस्थामा यो भ्याक्सिन अगष्ट १० भित्र नै बजारमा आउन सक्ने सम्भावना देखिएको छ । किनकि, अगष्ट १० आउन अझै ३ दिन बाँकी छ र स्वास्थ्यमन्त्री मुराश्कोले स्पुतनिकलाई बताएअनुसार यसको स्वीकृतिका लागि कागजी कारवाही भइरहेको छ ।
गेमालेयाले यो भ्याक्सिन सबैभन्दा पहिले फ्रन्टलाइन स्वास्थ्यकर्मीहरुलाई दिइने बताएको थियो । रुसको सोभरन वेल्थ फण्डका प्रमुख किरिल मित्रिभले यसलाई ऐतिहासिक अवसर भनेका थिए । उनले यो भ्याक्सिनको क्लिनिकल टायल पूरा हुनुलाई तत्कालीन सोभियत संघले पहिलो भू–उपग्रह स्पुतनिक अन्तरिक्षमा पठाएको घटनासँग तुलना गरेका थिए । अन्तरिक्षमा भू–उपग्रह पठाउने पहिलो देश तत्कालीन सोभियत संघ (अहिलेको रुस) थियो । उनले स्पुतनिक अन्तरिक्षमा पठाएको खबरले अमेरिकीहरु चकित परेजस्तै अहिलेको भ्याक्सिनको खबरले पनि अमेरिकीहरु चकित पर्ने बताए ।
यद्यपि रुसले अहिलेसम्म यो भ्याक्स्निको ट्रायलका कुनै पनि तथ्यांक सार्वजनिक गरेको छैन । ट्रायलका आधिकारिक दस्तावेजहरु हेर्न र विश्लेषण गर्न नपाएकोले विश्वका स्वास्थ्य विज्ञहरुले यो भ्याक्सिनको प्रभावकारिताका बारेमा यत्तिकै टिप्पणी गर्न नसकिने बताएका छन् । विज्ञहरुले तथ्यांक नपाएकोले यो भ्याक्सिनको प्रभावकारितामाथि आशंका गरेका छन् । केहीले राजनैतिक दबाबले चाँडै भ्याक्सिन बजारमा ल्याएको भन्दै यसको आलोचना पनि गरेका छन् ।
Facebook Comment