प्रधानमन्त्रीलाई काँग्रेसको प्रश्नः अनशनकारीसँग वार्ता गर्न कुन साइत कुरेको?
काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस विभिन्न माग राखी अनशनमा बसेका अभियन्ता ईःसँग वार्ता गर्न ढिलाई गरेकोप्रति आपत्ति जनाएको छ। कोरोना महामारी नियन्त्रणका लागि परीक्षणको दायार बढाउनुपर्ने, महामारी नियन्त्रणका क्रममा भएको भनिएको अनियमितताको छानविन गर्नुपर्ने लगायतका माग राखी अभियन्ता ईः अनशन बसेको शुक्रबार २० दिन भइसकेको छ।
काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शुक्रबार एक विज्ञप्ति जारी गर्दै अनशनकारीसँग वार्ता गर्ने कुन साइत कुरेको भनेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग प्रश्न गरेका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘न सत्ता मागेका छन् न भत्ता। अनशनकारीसँग संवाद गर्न र समाधान खोज्न कुन साइत कुर्दै हुनुहुन्छ प्रधानमन्त्रीज्यू?’
उनले कोरोना विरुद्धको संघर्षमा युद्धस्तरमा कार्य गर्नसमेत माग गरेका छन्। काँग्रेसले पर्याप्त स्वास्थ सामग्री ब्यवस्थापन, खरिदमा भएको भ्रष्टाचारमा कार्वाही, समुदाय स्तरमा व्यापक पीसीआर परीक्षण, आरडीटी खारेजी, मापदण्ड अनुसार क्वारेन्टाइन ब्यवस्थापन, कोभिड अस्पतालहरु विस्तार, आइसोलेसन वार्ड र अत्यावश्यक भेन्टिलेटरको व्यापक ब्यवस्था, बिदेशमा अप्ठ्यारोमा परेकालाई निःशुल्क उद्वार, सिमा नाकामा कडाई, श्रमिक, बेरोजगार र विद्यार्थीलाई राहत लगायतका मागहरू राखेको प्रवक्त शर्माले उल्लेख गरेका छन्।
उनले भनेका छन्, ‘विभिन्न माग राखेर राजधानीमै युवाहरू आमरण अनशनमा बसेका छन्। त्यही माग अघि सारेका छन् जो विगत देखि दल र संचार माध्यमहरुले उठाउँदै आएका थिए। सरकार स्वयंले अघिल्लो अनशनमा स्वीकारेर गरेको सम्झौता पालना गर्न दबाब दिइरहेका छन्। तर अनशनमा बसेको बीस दिन पूरा भई सक्दा संवाद र समाधानका लागि सरकार गम्भीर नदेखिनु अत्यन्तै दुःखद छ।’
Facebook Comment