कोरोना भ्याक्सिनका विषयमा अमेरिकी शीर्ष विशेषज्ञ एन्थोनी फाउसीको ‘बोल्ड’ निर्णय

डिसी नेपाल
२४ साउन २०७७ १०:५२

काठमाडौं। कोरोनाभाइरसका विषयमा अमेरिका सरकारका सल्लाहकार र देशका प्रमुख संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउसीले कोरोना भ्याक्सिनका विषयमा निकै ‘बोल्ड’ निर्णय गरेका छन् । उनले अहिले विकास भइरहेका भ्याक्सिन पूर्ण रुपमा प्रभावकारी (९८ प्रतिशत) हुने सम्भावना निकै कम रहेको बताउँदै ५० प्रतिशतसम्म मात्रै प्रभावकारी भए पनि मानिसहरुलाई भ्याक्सिन दिइने बताएका छन् ।

डा. फाउसीले अहिले विकास भइरहेका भ्याक्सिन ७५ प्रतिशतसम्म प्रभावकारी हुने आशा गरिएको भन्दै ५० देखि ६० प्रतिशतसम्म मात्रै प्रभावकारी भए पनि भ्याक्सिन स्वीकार्य हुने बताए । ब्राउन युनिभर्सिटी स्कुल अफ पब्लिक हेल्थको एक कार्यक्रममा भाग लिँदै फाउसीले भ्याक्सिन महामारीमा नियन्त्रण स्थापित गर्नको लागि एक सहायक भएको बताए । अमेरिकाको फुड एण्ड ड्रग एडमिनिस्ट्रेसनले पनि कोरोनाको भ्याक्सिन ५० प्रतिशत मात्रै प्रभावकारी भएर सुरक्षित प्रमाणित भयो भने भ्याक्सिनको अनुमति दिइने बताएको छ । अनुमति दिइएपछि मात्र मानिसहरुलाई भ्याक्सिन दिइनेछ ।

अमेरिकामा विकास भइरहेका भ्याक्सिनहरुमध्ये केही तेस्रो चरणको ट्रायलमा पुगेका छन् । ट्रायलको नतिजा राम्रो आएमा यी भ्याक्सिन आम मानिसहरुका लागि उपलब्ध हुन सक्नेछन् । अमेरिकामा मोडर्ना र फाइजरले भ्याक्सिनको तेस्रो चरणको ट्रायलमा ३० हजार जनालाई सहभागी गराउँदैछन् । विशेषज्ञहरुले यो वर्षको अन्त्यसम्म तेस्रो चरणको ट्रायलको नतिजा आउन सक्ने बताएका छन् । रुसले भने ट्रायल पूरा भइसकेको बताएको छ तर ट्रायलका पर्याप्त तथ्यांक सार्वजनिक नगरिएकोले रुसको भ्याक्सिन प्रभावकारी भएकोमा शंका कायमै छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *