उपत्यकामा जोखिम बढे पनि भीडभाड उस्तै

डिसी नेपाल
२४ साउन २०७७ १४:४९

काठमाडौं । पछिल्ला केही दिनदेखि काठमाडौँ उपत्यकामा कोरोना भाइरस सङ्क्रमित दैनिक बढिरहे पनि भीडभाडमा भने कमी आएको छैन। गत चैत ११ देखि देश पूरै लकडाउन गरी १२० दिनपछि खुलेसँगै सङ्क्रमण दैनिक रुपमा बढिरहेको छ । मानिसको भीडभाड र जमघट गरी बस्ने बानी पुरानै शैलीमा फर्किएको देखिन्छ । यसरी बस्दा सामान्य सावधानी अपनाएको पाइँदैन। कतिले त सामान्य मास्क पनि नलगाई पसेका देखिन्छन् । जसले गर्दा उनीहरु मात्रै होइन परिवार र छरछिमेक पनि उत्तिकै जोखिममा रहेको रहेको अनुमान गाउन सकिन्छ।

स्वास्थ्य मन्त्रालयको विवरणअनुसार काठमाडौँको न्युरोड, असन, इन्द्रचोकमा नयाँ बिरामी थपिने क्रम जारी छ तर नागरिक त्यस क्षेत्रमा कुनै पर्वाह नै नगरी पसलहरु सञ्चालन गरिरहेका छन्। जोरबिजोर प्रणाली लागू भए पनि सबै खालका सवारी पनि सञ्चालन भएकै छ । यसले महामारी थप बढ्नका लागि सहयोग पुगेको स्पष्ट हुन्छ।

यस विषयमा काठमाडौँ महानगरपालिकाका प्रवक्ता ईश्वरमान डङ्गोलले अत्यावश्यकबाहेक अन्य पसल सञ्चालन नगर्न भनिएको बताए। व्यापारीले आलटाल गरिरहेको भन्दै यस विषयमा कामपाले कडा कदम चाल्ने बताउछन् उनी । प्रवक्ता डङ्गोलले भने, “केही सहज हुँदा सञ्चालन गर्न दिएकै हो, विषम परिस्थिति भएकाले केही दिन अनावश्यक रुपमा बाहिर ननिस्कन र आवश्यक कामका लागि पनि सजह हुन आवश्यक छ । काठमाडौँ आफैँमा घना बस्ती भएको स्थान हो । यस्तो स्थानमा सङ्क्रमण जोखिम बढी छ ।

लकडाउन खुलेपछि सञ्चालनमा आएका सार्वजनिक यातायातका साधनले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डसमेत पालना नगरेको देखिन्छ । यसले पनि जोखिम बढाएको छ । हालसम्म काठमाडौँ उपत्यकामा मात्रै करीब एक हजारको हारहारीमा सङ्क्रमित पुष्टि भइसकेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भनाइ छ ।

कोरोना भाइरसको जोखिम बढ्दै गएपछि उपत्यकामा जिल्ला प्रशासन कार्यालयमा आइतबारदेखि लागू हुनेगरी दुई हप्ताका लागि अत्यावश्यक सेवा मात्र सञ्चालन गर्ने निर्णय गरेको छ । जसका लागि शुक्रबार उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी, उद्योग वाणिज्य सङ्घ र सुरक्षा निकायका प्रमुखसहितको बैठक बसेको थियो । यस अवधिभरमा जिल्ला प्रशासन कार्यालयबाट हुने केही विशेष कामबाहेकका सेवा बन्द हुनेछ । बैठकले बजारको अनुगमनलाई तीव्र बनाउनाका साथै सामाजिक दूरी र सुरक्षाका उपाय नअपनाउनेलाई कारवाही गर्ने पनि निर्णय गरेको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *