कोरोना संक्रमितलाई अमेरिकाको एक स्थानीय सरकारले डेढ लाख दिने
काठमाडौं। अमेरिकाको एक स्थानीय सरकारले कोरोना संक्रमित बिरामीहरुलाई १ हजार २५० डलर (डेढ लाख नेपाली रुपैयाँ) सदने भएको छ । क्यालिफोर्नियाको अलामेडा काउन्टी सरकारले कोरोना संक्रमणको पुष्टि भएपछि बिरामीलाई यो रकम दिने निर्णय गरेको हो । बिरामीहरु संक्रमण पुष्टि भएपछि घरमै सेल्फ आइसोलेसनमा बसुन् र उनीहरुलाई खाना, भाडा, फोन लगायतका खर्चका लागि सहयोग होस् भन्ने उद्देश्यले यस्तो गर्न लागिएको हो ।
क्यालिफोर्नियाको अलामेडा काउन्टीको सुपरभाइजर बोर्डका अनुसार संक्रमित भएपछि कैयौं व्यक्तिहरु २ हप्तासम्म क्वारेन्टाइन र आइसोलसनमा बस्न सक्ने आर्थिक हैसियत राख्दैनन् । यही कारण उनीहरुलाई सहयोग गर्ने निर्णय गरिएको हो । इस्ट बे टाइम्सका अनुसार काउन्टीको बोर्डले सर्वसम्मतिले पाइलट कार्यक्रम अन्तर्गत कोरोनाको पुष्टि भएमा यो रकम दिने निर्णय गरेको हो ।
बोर्डले आइसोलेट हुनुपर्ने डरले जनता परीक्षण गराउनबाट डराउन लागे वा आइसोलेट हुन सकेनन् भने भाइरस रोक्ने योजना विफल हुने ठहर गरेको छ । यो रकम पाउनको लागि बिरामीले निर्धारित क्लिनिकमा परीक्षण गराउनु पर्नेछ । यो रकम पाउनको लागि व्यक्तिले पेड सिक लीभ (पारिश्रमिक पाउने गरी बिरामी विदा) पाएको हुनु हुँदैन र उसले पहिलेदेखि नै बेरोजगारी भत्ता लिइरहेको हुनु हुँदैन । यसरी रकम दिने निर्णयले नागरिकहरु आइसोलेसनमा बस्न प्रेरित हुने काउन्टीले अपेक्षा गरेको छ ।
Facebook Comment