कोरोना भ्याक्सिन विकास गरिरहेका अक्सफोर्डका २ शीर्ष वैज्ञानिकबीच किन भयो विवाद ?
काठमाडौं। कोरोना भ्याक्सिन विकास गर्ने विषयमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयका २ जना शीर्ष वैज्ञानिकबीच टकरावको स्थिति आएको छ । विश्वविद्यालयका यी दुवै वैज्ञानिक भ्याक्सिन विकास गर्ने प्रक्रियालाई लिएर एक अर्कासँग सहमत छैनन् । अहिले अक्सफोर्डको यो भ्याक्सिनको तेस्रो चरणको क्लिनिकल ट्रायल चलिरहेको छ । डेलीमेलको रिपोर्टअनुसार प्रोफेसर एड्रियन हिल र साराह गिल्बर्टबीच विवाद भएको हो ।
यी दुई वैज्ञानिकबीच भ्याक्सिनको ट्रायलको लागि स्वयंसेवकलाई जानीजानी संक्रमित गर्ने कि नगर्ने भन्ने विषयमा विवाद छ । प्रोफेसर एड्रियन हिल स्वस्थ स्वयंसेवकहरुलाई भ्याक्सिन दिएपछि भाइरसबाट संक्रमित गरिनुपर्ने पक्षमा छन् । तर, प्रोफेसर साराह गिल्बर्ट भने स्वयंसेवकहरुलाई जानीजानी संक्रमित गर्न नहुने बरु उनीहरु आफैं संक्रमित हुँदासम्म पर्खिनुपर्ने पक्षमा छिन् । यसरी जानीजानी संक्रमित गर्दा स्वयंसेवकहरु गम्भीर रुपमा बिरामी हुने खतरा रहेको प्रोफेसर साराहको तर्क छ ।
भ्याक्सिनको ट्रायल त्यतिबेला मात्र पूर्ण रुपमा सफल मानिनेछ जब यो पुष्टि हुनेछ कि भ्याक्सिन लगाएका अधिकांश मानिसहरु भाइरसको सम्पर्कमा आएर पनि भाइरसले उनीहरुलाई बिरामी बनाउन सकेन । बेलायतमा संक्रमणका केसहरु घटिरहेका छन् त्यसैले त्यहाँ स्वयंसेवकहरु आफैं भाइरसको सम्पर्कमा आउने सम्भावना न्यून छ । संक्रमणका केसहरु घटिरहेकोले भ्याक्सिन लगाउने स्वयंसेवकहरुमध्ये ठूलो संख्यामा भाइरसको सम्पर्कमै नआउने सम्भावना पनि छ । यही कारण प्रोफेसर हिलले स्वयंसेवकहरुलाई जानीजानी संक्रमित गर्नुपर्ने तर्क गरेका छन् ।
यदि स्वयंसेवकहरुलाई जानीजानी संक्रमित गर्ने हो भने ट्रायलको नतिजा छिटो आउनेछ तर यसो गर्दा जानीजानी संक्रमित गरिएका स्वयंसेवक गम्भीर रुपमा बिरामी हुने खतरा पनि हुन्छ । यो जोखिम उठाएरै छिटो नतिजा निकाल्नको लागि जानीजानी संक्रमित गर्ने बाटोमा जानको लागि पनि यी दुई वैज्ञानिक सहमत हुनु जरुरी हुन्छ । यद्यपि दुवै वैज्ञानिकले डेलीमेललाई प्रतिक्रिया दिन भने अस्वीकार गरेका छन् ।
Facebook Comment