कोरोनाको डर छैन, घर भित्रै बस्न मन छैन
काठमाडौं। शनिबार भक्तपुरको नगरकोट पुग्दा नगरकोट जाने बाटोदेखि पार्क, होटलमा मानिसहरुको निकै भिडभाड थियो। मानिसहरु कोही बाटोमा फोटो खिच्दै थिए, कोही साथी भाइसँग खाने खोने कुरासहित पार्टी गरिहेका थिए। कोही बीच सडकमा सवारी साधान रोकेर एकआपसमा खुशी साटिरहेका थिए।
कतै पारिवारिक रमाइलो देखिन्थ्यो, कतै साथीको जम्काभेट देखिन्थ्यो। कतै प्रेमीप्रेमिका रमाई रहेका देखिन्थे। शनिबार विदाको दिन। उनीहरु विदा मनाउन काठमाडौंको विभिन्न ठाउँबाट नगरकोट पुगेका थिए। नगरकोट आन्तरित र वाह्य पर्यटनका लागि राम्रो गन्तव्य मानिन्छ। मानिसहरु नगरकोटमा सूर्योदय र सूर्यास्त हेर्न नगरकोट पुग्ने गर्छन्।
तर अहिले मुलुकको अवस्था सामान्य छैन। सरकारले गत चैत ११ गतेदेखि मुलुकमा लडकाउन घोषणा गरेको थियो। साउन सात गतेमात्रै लडकाउन अन्त्यको घोषणा गरेको सरकारले आइतबार (आज) देखि अत्यावश्यक सेवाबाहेक सेवा बन्द गरेको छ। त्यसको कारण हो कोरोना भाइरसको बढ्दो जोखिम।
विश्वलाई नै आफ्नो चपेटामा लिएको कोरोना महामारीको जोखिम नेपालमा पनि बढिरहेको छ। त्यसैले सरकारले अत्यावश्यक कामबाहेक घरबाट बाहिर ननिस्कन, मास्क लगाउन र सामाजिक दूरी कायम गर्न भनेको छ। तर, शनिबार नगरकोटको दृश्य भने फरक थियो। त्यहाँ गएकामा कोरोनाको डर देखिएन। उनीहरु निस्फिक्री घुमिरहेका र रमाइरहेका देखिन्थे।
उनीहरुको मनोरञ्जात्मक दृष्य हेर्दा लाग्थ्यो, विश्वलाई आफ्नो चोपेटामा पारिसकेको कोरोना भाइरस नेपालमा छिरेकै छैन। तर वास्तविकता त्यो होइन। अन्य मुलुकमा जस्तै नेपालमा पनि कोरोना भाइरसको प्रकोप दैनिक बढिरहेको छ।
स्वास्थ मन्त्रालयका अनुसार शनिबार मात्रै नेपालमा ३७८ जनामा कोराना भाइरस पुष्टि भएको छ। यो सँगै नेपालमा कुल कोरोना संक्रमितको कुल संख्या २२ हजार नाघेको छ भने शनिबार सम्ममा कोरोनाबाट मृत्यु हुनेको संख्या ७३ पुगेको छ।
तर विशेष गरी युवापुस्ता कोरोनालाई लिएर सजत भएको पाइएन। ‘कोरोनाबाट मरिन्छ भनेर हरेक पललाई मरेतुल्य बनाउन सकिँदैन,’ नगरकोट जाने बाटोमा फोटो खिच्दै गरेका एक जोडीले भने।
नागरिकले देखाएका यस्ता क्रियाकलापलाई सुधार नगर्ने हो भने नेपालमा कोरोना भाइरस भयावह हुन सक्ने विज्ञहरुले चेतावनी दिएका छन्। नगरकोटको एक होटलमा खाजा खाँदै गरेका ६ जना समूहले रमाइलोकै लागि काठमाडौंको नक्सालबाट नगरकोट पुगेको बतायो।
यस्ता दृष्य नगरकोटमा मात्रै देखिएन। शनिबार काठमाडौंको चोभारमा पनि मानिसको भीडभाड नै देखिन्थ्यो। विशेष अन्य कारण नभइ घर भित्र बस्न मन नभएर सातदोबाटोबाट चोभार पुगेको एक समूहको भनाइ छ।
काठमाडौंका कोरोना अवधि भन्दा अगाडि भीडभाड देखिने स्थान कोरोनाको महामारीमा पनि खाली देखिँदैन। सार्वजानिक यातायातदेखि बजारसम्म मानिसहरको भीड देखिन्छ। काठमाडौंका मुख्य चोक, चिया पसल होटलमा ग्राहकको कमी छैन। सरकारले रोक लगाएका क्षेत्र समेत खुल्ला देखिन्छ।
चिकित्सकले नागरिकले देखाउने प्रतिक्रिया गलत हुने चिन्ता व्यक्त गरेका छन्। दिनानुदिन बढ्दै गएको कोरोना नियन्त्रणको लागि प्रमुख नागरिक नै रहेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्त डाक्टर अनुप बास्तोलोले कोरोना नियन्त्रणको लागि नागरिक आफै सचेत हुनुको विकल्प नभएको बताए।
उनले भने, ‘सकेसम्म बाहिर नसिक्कने यदि बाहिर निस्कने पर्ने भएमा स्वास्थ्य संगठनले भनेका नियम पालना गर्नु पर्दछ। पहिला जति सचेत थियौं। त्यो भन्दा बढी सचेत रहन आवस्यक छ।’
जनस्वास्थ्यविद रविन्द्र समिरले सर्वसाधारणले गर्ने व्यवहार अनुुसार अबको दिनमा सरकार लकडाउन मात्रै नभएर कफ्यैू लगाउनु पर्ने अवस्था आउन सक्ने बताए। देशमा दिनप्रतिदिन बढ्दै गएको कोरोना संक्रमितको अवस्था हेरेर सर्वसाधारण आफैमा चेतना आउनु पर्ने उनको भनाइ छ।
उनले भने, ‘सबैभन्दा प्रमुख बिषय नागरिक बाहिर निस्कनु नै गलत हो। त्यसमाथि स्वास्थ्य संगठनको नियम पालना भएको छैन। अत्यावस्यक भन्दा पनि हेपाहा व्यवहार देखाइन्छ त्यसले ठूलो असर पार्न सक्छ।’
Facebook Comment