बेपत्ता पुरुष भेटिए

डिसी नेपाल
२६ साउन २०७७ २३:००

कैलाली । कैलालीमा खोलाले बगाउँदा बेपत्ता भएका पुरुष सोमवार जीवित भेटिएका छन् । मोहन्याल गाउँपालिका–३ पिपलीखेतका ५४ वर्षीय दानबहादुर विष्ट आइतबार सोही ठाउँको गेदान खोला तर्ने क्रममा बेपत्ता भएको र खोजतलास गर्दै जाँदा बगेको ठाउँबाट करिब ५० मिटर पर चोटपटक लागेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक हिक्मतबहादुर थापाले जानकारी दिए ।
विष्टलाई अहिले उनका आफन्त र प्रहरीले उपचारका लागि घोडाघाडी अस्पताल ल्याएको प्रहरी निरीक्षक थापाले बताए । उनको अवस्था अहिले मध्यम रहेको बताइएको छ ।

गए रातिदेखिको अविरल वर्षाका कारण धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र डुबानमा पर्नुका साथै केही बस्तीका घरमा पानी पसेको छ । प्रहरी निरीक्षक थापाले धनगढी आसपासका झण्डै ३०० घरभित्र पानी पसेको जानकारी दिए । “धनगढीको क्याम्पस रोडका पाँच÷सात वटा र वसन्त टोलका चार÷पाँच वटा कच्ची घरभित्र भने पानी पसेर खाद्यान्न लत्ताकपडा लगायतका सामग्री भिजेका छन् ।”

प्रहरी निरीक्षक थापाले भने, “प्रहरीको टोली गएर उनीहरुलाई सुरक्षित स्थानमा राख्ने काम भइसकेको छ ।” अविरल वर्षाका कारण धनगढीको शिवनगर, चटकपुर, विशालनगर, क्याप्पस रोड, वसन्त टोललगायत क्षेत्र बढी डुबानमा परेको बताइएको छ । अहिले भने अवस्था सामान्य भइसकेको जनाइएको छ ।

खोलानाला अतिक्रमणको चपेटामा परेपछि धनगढीमा डुबानको समस्या हरेक वर्ष बढ्दै गएको छ भने सडकको पानी निकासका लागि बनाइएका नाली काम नलाग्ने भएका छन् । नालीले सडकको पानी थेग्न सक्ने अवस्था नभएपछि यहाँका बस्तीहरु डुबानमा पर्ने गरेका छन् । यसअघि पनि झण्डै दुई साताअघि परेको अविरल वर्षाका कारण पनि यहाँका अधिकांश बस्तीहरु जलमग्न हुनुका साथै दर्जनाँै बढी घर तथा पसल डुबानमा परेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *